nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्वास्थ्य इकाईमा सातामै दुई शिशुको जन्म

16251882_1909555599267841-1485500777.jpg

सरकारले ध्यान नदिएपनि स्थानीयको पहलमा मकवानपुरको विकट राक्सिराङ गाविसमा स्थापित सामुदायिक स्वास्थ्य इकाईको सेवा प्रभावकारी हुँदै गएको छ । इकाईले सेवा दिन थालेपछि विकट राक्सिराङ गाविसका १, २, ३, ४, ५, ६ र ७ नं वडाका बासिन्दा खुसी भएका छन् । 

माघ ५ गते उद्घाटन गरिएको स्वास्थ्य इकाईमा एकसाता नबित्दै दुईजना गर्भवतीले बच्चा जन्माइन् । स्थानीय पातलीमायाँ ब्लाने र धनमायाँ बलले स्वास्थ्य इकाईको रेखदेख र हेरचाहमा शिशुलाई जन्म दिएकी हुन् । ‘सीमित स्रोत साधन र निजी स्रोतको जनशक्तिको प्रयासमा हामीले दिएको सेवा प्रभावकारी बन्यो, अत्यन्तै खुसी छौँ’, स्वास्थ्य इकाई व्यवस्थापन समितिका अध्यक्ष विश्वराज थिङले खुसी ब्यक्त गर्दै भने । 

उनका अनुसार राक्सिराङ गाविसको वडा नं ८ स्थित चैनपुरमा रहेको स्वास्थ्यचौकीमा भन्दा स्वास्थ्य इकाईमा बढी बिरामीहरु जाने गर्दछन् । एकसाताको बीचमा १५० भन्दा बढी बिरामीले स्वास्थ्य इकाईबाट सेवा पाइसकेको अध्यक्ष थिङले जानकारी दिए । ‘स्वास्थ्य चौकी अपायक ठाउँमा रहेकाले बर्षाैंदेखि विकटका जनता स्वास्थ्य सेवा लिनबाट बञ्चित छन्’, अध्यक्ष थिङ भन्छन्–‘स्वास्थ्य इकाईले सेवा दिन थालेपछि यस क्षेत्रका बासिन्दा अत्यन्तै उत्साहित र खुसी छन् ।’
अहिले नितान्त निजी स्रोतमा स्वास्थ्य इकाई चलिरहेको छ । व्यक्तिगत रकम खर्चेर ड्रेसिङसहित मातृशिशु स्याहार र उपचारका सामग्री खरिद गरी स्वास्थ्य इकाईमा अध्यक्ष आफैले व्यवस्था गरिदिएका छन् । गाविसको ब्यवस्थापनमा हुनेगरी हाललाई एकजना अनमीको व्यवस्था गरिएको छ । ‘जनस्वास्थ्य कार्यालयले सञ्चालनको अनुमति मात्र दिएको छ’, अध्यक्ष थिङ भन्छन्–‘हामीले सबै व्यवस्थापन निजी स्रोत जुटाएरै गरिरहेका छौँ ।’ एक सातामा दुईजनाले स्वास्थ्य इकाईमा आएर सेवा लिँदै सुरक्षित रुपमा शिशु जन्माएपछि भएपछि स्थानीयबासिन्दा बढी उत्साहित भएका छन् । तर सरकारी लगानी नहुँदा भने उनीहरु खिन्न भएका छन् । ‘जनता जागेको बेलामा सरकारले थप बल दिएमा अझै सेवा प्रभावकारी बनाउन सकिन्थ्यो’, अध्यक्ष थिङ गुनासो व्यक्त गर्छन् । 

थिङका अनुसार स्वास्थ्य इकाई सञ्चालनका लागि स्थानीय धर्मजीत थिङ र प्रतापसिंह थिङले ५ कट्ठा जग्गा समेत प्रदान गरिसकेका छन् । आगामी दिनमा भवन बनाएरै सेवा दिने योजना स्थानीयको छ । अहिले गाविस कार्यालयको भत्कन लागेको भवनको एउटा कोठामा इकाई स्थापना गरिएको छ । आगामी दिनमा सरकारको पनि सहयोग प्राप्त भएमा हेल्थ असिस्टेन्ट, अहेव, अनमी लगायतका जनशक्ति व्यवस्थापन गरी इकाईलाई थप प्रभावकारी बनाउने सोच स्थानीयले बनाएका छन् । जनस्वास्थ्य कार्यालयसँग सम्पर्क हुँदा आगामी आर्थिक बर्ष (साउन) देखि व्यवस्थापन गर्ने आश्वासन पाएको अध्यक्ष थिङले बताए । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg