Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

'सुकुम्बासीको भविष्यमाथि बन्चरो'

sukumbasi-basti-1628011023.jpg

सरकारले आयोग विघटन गरेर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको भविष्यमाथि बन्चरो हान्ने काम भएको अध्यक्ष देवी ज्ञवालीले बताएका छन् ।

शताब्दीऔंदेखि बेवास्तामा रहेका भूमिहीन दलित, सुकुम्बासीहरुलाई आयोगले जग्गाको स्वामित्व पूर्जा दिने व्यवस्थालाई मूर्त रुप दिन खोजिरहेका बेला आयोग विघटन गरेर सुकुम्बासीको भविष्यमाथि गम्भीर अपराध गरेको उनले बताए ।

सुकुम्बासीहरुको भविष्य सुन्दर भएको देख्न नचाहने जमिनदार शासक वर्गले उनीहरुको अधिकार कुण्ठित हुनेगरी आयोग विघटन गरेको उनको भनाइ छ । यसअघि मनमोहन अधिकारी नेतृत्वको सरकार गठन गरेको आयोग पनि पछिल्लो सरकारले विघटन गरेको ज्ञवालीले स्मरण गरे ।

उनले भने, ‘हामीलाई हटाएर सरकारले आफू निकट मानिस ल्याए भइहाल्थ्यो । तर आयोग नै विघटन गरेर सुकुम्बासीहरुको भविष्यमाथि बञ्चरो चलाउने काम राम्रो भएन । आयोग विघटनका लागि आफूलाई भूमिहीन सुकुम्बासीको पक्षधर भन्ने गठवन्धनले उक्साएको देखिन्छ ।’

एक पटकका लागि बनेको आयोग विघटन हुँदा कानुनी रुपमा अर्को आयोग बन्न गाह्रो हुने भन्दै उनले अब सुकुमबासीहरुले जमिन नपाउने अवस्था सिर्जना भएको बताए ।

आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जमिन उपलब्ध गराउन स्थानीय तहहरुसँग मिलेर काम गरेको उनी बताउँछन् ।

७५३ स्थानीय तहमध्ये ७४३ वटा स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर गरी प्रक्रिया अगाडि बढको उनको भनाइ छ । ७४३ स्थानीय तहमध्ये सोमबारसम्म ५१३ वटा पालिकाबाट संकलित लगतको अन्तिम नामावली प्रकाशित गर्ने काम भइसकेको उनले बताए । बुधबारसम्म ५७५ वटा पालिकाको सूचना प्रकाशित गर्ने तयारी थियो ।

असार मसान्तसम्म भूमिहीन दलित र सुकुम्बासीमध्ये २ लाख ४७ हजार ९६० र अव्यवस्थित बसोबासी मध्ये ९ लाख ३२ हजार ८०१ गरी ११ लाख ८० हजार ७६१ परिवारको लगत संकलन भइसकेको अध्यक्ष ज्ञवालीले बताए ।

लगत संकलन भएकामध्ये १ लाख ७१ हजार घरपरिवारको लगत कम्प्युटर सिस्टममा इन्ट्री गरिसकेको उनले बताए । उनकाअनुसार यही बीचमा करिब १७ लाख जति परिवारको फर्म डिस्प्याज गर्ने काम भएको थियो । अध्यक्ष ज्ञवालीले अहिलेसम्म ९ हजार बिघा जमिन नापजाँच गर्ने काम पनि भइसकेको जानकारी दिए ।

आयोगले निरन्तरता पाइरहेको भए केही जिल्लामा एक दुई महिनाभित्र भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण हुने उनको विश्वास थियो । कोभिड–१९ महामारीले समस्या ननिम्त्याएको भए झापा, पाल्पा, सुर्खेत, जाजरकोट लगायत देशका धेरै जिल्लामा पूर्जा वितरणको काम सुरु हुने उनले बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०