Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सीमभञ्ज्याङमा बन्ने भो सात ताल, एमाले थाहानगरको माग सम्बोधन : ढकाल

IMG_20210713_120814-1626163757.jpg

मकवानपुरको सबैभन्दा अग्लो स्थान सीमभञ्ज्याङमा सात ताल निर्माण गरिने भएको छ । बहुवर्षीय योजनाअन्तर्गत निर्माण गरिने सात तालको लागि बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा रु. ३३ लाख बजेट विनियोजन गरेको प्रदेश भौतिक पूवार्धार विकास मन्त्री रामेश्वर फुयाँलले जानकारी दिए ।

त्रिभुवन राजपथ अन्तर्गत सबैभन्दा उच्च क्षेत्रमा अवस्थित थाहा नगरपालिका–४, सीमभञ्ज्याङ क्षेत्रको सौन्दर्यीकरण र सीमसार क्षेत्र संरक्षणसहित सडक किनारामा सात ताल निर्माण गर्न लागिएको मन्त्री फुयाँलले बताए । 

सीमभञ्ज्याङको करिब २५ सय मिटरको उच्च क्षेत्रबाट अटुटरुपमा बगिरहने पानीलाई बाँध बनाएर सातवटा ताल निर्माण गर्नेगरी प्रदेश सरकारले पूर्ण प्रतिवेदन तयार पारिसकेको छ । 

गत २९ कार्तिकमा मन्त्रालयका सचिव सञ्जिव बराल, भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नवीन सिंह, जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजाल, खानेपानी तथा सरसफाइ डिभिजन–१का प्रमुख बालमुकुन्द श्रेष्ठ लगायत प्राविधिकहरुको टोलीसहित सीमभन्ज्याङ पुगेर मन्त्री फुयाँलले स्थलगत अवलोकन गरेका थिए । सोही क्रममा मन्त्री फुयाँलले जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख रिजाललाई सीमभन्ज्याङमा पर्वतीय कृत्रिम ताल निर्माण गर्न बैज्ञानिक अध्ययन गर्न आग्रह गरेका थिए ।
सो क्रममा मन्त्री फुयाँलले स्थानीय बासिन्दालाई ताल निर्माण गरिने क्षेत्र वरपर वृक्षारोपण गरेर स्थानीय जनसहभागिता प्रदर्शन गर्न आग्रह गरेका थिए । सो अनुसार सो क्षेत्रमा स्थानीयले वृक्षारोपण गरिसकेका छन् । 

यसअघि सीमभञ्ज्याङमा वातावरणमैत्री कृत्रिम ताल निर्माणको  प्रयास हुँदै आएको भए पनि पूरा हुन नसकेकोमा अब प्रदेश मन्त्रालय आफैले विस्तृत परियोजना प्रतिवेदन तयारी पारी काम अघि बढाउने भएपछि स्थानीय उत्साहित भएका छन् । 

हालसम्म सीमभञ्ज्याङमा पर्वतीय तालका लागि तत्कालीन स्थानीय विकास मन्त्रालयबाट रु. ७ लाख, सहरी विकास मन्त्रालयबाट रु.३ लाख र थाहा नगरपालिकाबाट रु. ३ लाख गरी रु. १३ लाख खर्च भइसकेको छ । हाल दुईवटा कृत्रिम ताल रहेकोमा सोसमेतलाई पुनर्संरचना गरी सात ताल निर्माण गर्न लागिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजालले जानकारी दिए । 

समुद्र सतहबाट करिब २५ सय मिटरको उचाइमा रहेको सीमभञ्ज्याङमा पर्वतीय सात ताल निर्माणसँगै ‘घुम्न जाऊँ सीमभञ्ज्याङ’ कार्यक्रम सञ्चालन गरिने भौतिक पूर्वाधार विकास मन्त्री फुयाँलले जानकारी दिए । 

सात ताल निर्माणस्थल त्रिभुवन राजपथसँगै नाङ्गेचुली र व्योमकुट पर्वतको खोँचस्थित सीमसार क्षेत्रमा रहेको छ । यस वरपर सयौं वर्षदेखिका पुराना खस्रुका रुखहरु रहेका छन् भने लोक्ता, लौठसल्ला, पाषाणभेद, अलमले झार, रङ्गीविरङ्गी गुराँसका साथै बहुमूल्य जडीबुटीहरु रहेका छन् ।

यसैबीच प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री फुयाँलले नेकपा एमाले थाहा नगरका नेता तथा कार्यकर्ताहरुसँग २८ असारमा छलफल गरेका छन् । सीमभञ्ज्याङ क्षेत्रको अवलोकन गरेर फर्किएपछि मन्त्री फुयाँलले एमाले नेता–कार्यकर्ताहरुसँग छलफल गरेका हुन् । 

छलफलमा बोल्दै मन्त्री फुयाँलले थाहा नगरको पर्यटन प्रवर्धनका लागि एमाले थाहा नगर कमिटीले गरेको सिफारिस अनुसार सकेसम्म बजेट विनियोजन गरिएको बताए । ‘तपाईंहरुले गरेको सिफारिस अनुसार सीमभन्ज्याङमा सात ताल निर्माण, चित्लाङमा महाकवि मार्ग, ढुङ्गेधारा पुनर्निर्माण लगायतका क्षेत्रमा बजेट विनियोजन भएको छ, गुणस्तरीय र प्रभावकारी ढङ्गले काम होस्,’ उनले भने । 

सो कार्यक्रममा नेकपा एमाले थाहा नगर अध्यक्ष अच्युत्तमप्रसाद ढकालले सीमभञ्ज्याङमा पर्वतीय ताल निर्माण लगायत क्षेत्रमा बजेट विनियोजन गरेकोमा मन्त्री फुयाँललाई धन्यवाद दिएका थिए । ‘थाहा नगरलाई पर्यटकीय गन्तव्य बनाउने सन्दर्भमा प्रदेश सरकारसँग हामीले राखेको केही माग सम्बोधन भएको छ, अझ धेरै गर्न बाँकी छ,’ उनले भने । 

कार्यक्रममा एमाले नगर अध्यक्ष ढकाल, जिल्ला सदस्यहरु गणेशमान श्रेष्ठ, विमलकुमार ढकाल, सुरेन्द्रमान प्रधान, वडा अध्यक्ष गुप्तबहादुर कार्की, थाहा नगरसचिब कुमार नेगी लगायत सहभागी थिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०