Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

श्रद्धाञ्जली सभामा स्वर्गीय नापितको योगदानको चर्चा

kkkkkkk-1624961945.jpg

नेकपा एमाले थाहानगर कमिटीले १५ असारमा आयोजना गरेको श्रद्धाञ्जली सभामा स्वर्गीय राजु नापितको योगदानको चर्चा गरिएको छ । नापितको १३ औं दिनको पुण्यतिथिमा एमालेले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् थाहा नगर इन्चार्ज नापितको गत ३ असारमा निधन भएको थियो । 

श्रद्धाञ्जली कार्यक्रममा एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले स्व. नापितप्रति श्रद्धाञ्जली व्यक्त  गर्दै विपन्न र दुःखीहरुको भरोसा बनेका नापितका अधुरा कामहरु पूरा गर्नुपर्नेमा जोड दिए । आरोहणको क्रममा हुने प्रत्येक मृत्युको महत्व हुने बताउँदै उनले नापितको खुल्ला र पारदर्शी चरित्रको चर्चा गरे ।

कार्यक्रममा संविधान सभा सदस्य सुभाषचन्द्र ठकुरीले नापित निष्ठावान र अनुशासित व्यक्तित्व भएको उल्लेख गरे । उनले थाहा नगरपालिकाका कुनाकुनाका पहुँचविहिन परिवारलाई राजु नापितले चिन्ने र त्यस्ता परिवारले पनि नापितलाई चिन्ने गरेको स्मरण गरे । 

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले राजनीतिक दर्शन अलग भए पनि आफू दशैंको टीकामा समेत नापितको घरमा जाने गरेको बताउँदै नगरको विकासका लागि आफ्नो प्रतिकूल स्वास्थ्य अवस्थाका बावजुद पनि नापित सँधै तयार रहने गरेको अनुभव सुनाए । प्रदेश र संघका कतिपय निकायहरुमा नापितको सम्बन्ध र परिचय राम्रो भएकोले आफू नापितसँगै जाने गरेको पनि उनले बताए । 

त्यसैगरी नेकपा एमाले प्रदेश कमिटी सदस्य महेश्वर सुवेदीले नापितसँग आफ्नो द्वन्द्वात्मक भौतिकवादी ढङ्गले बहस हुने गरेको बताउँदै कुराकानीको अन्त्यमा ‘सम्पर्कमा रहिरहूँ’ भन्ने नापितको भनाइ कहिल्यै विर्सन नसकिने उल्लेख गरे । 

नेकपा एमाले जिल्ला कमिटी सदस्य शशिधर सुवेदीले २०४१ सालमा नापितसँग पहिलोपटक पार्टी कामकै शिलशिलामा भेटेको उल्लेख गर्दै नापितमा कुरा, विचार, स्वभाव, शैली, काम र हैसियत सबै क्रान्तिकारी रहेको बताए । 

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुखहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए । सो क्रममा नेपाली काँग्रेसका थाहा नगर उपसभापति भरत गोपालीले नापित पार्टी भन्दा माथि समाजलाई हेरेर काम गर्ने व्यक्तित्व भएको उल्लेख गरे । 

नेकपा माओवादी केन्द्रका थाहा अध्यक्ष अरुण रायमाझीले २०६२/६३ को आन्दोलनको अगुवाइ नापितसँगै आफूल गरेको स्मरण गर्दै नापितको निधनले सिङ्गो मकवानपुरको उत्तरी क्षेत्रलाई ठूलो क्षति पुगेको बताए । 

जनता समाजबादी पार्टी नेपालका प्रदेश सदस्य इन्द्रबहादुर श्रेष्ठले नापित भद्र र शालीन व्यक्तित्व भएको उल्लेख गरे । ‘मान्छेको जीवन अदालतमा चलिरहेको मुद्धाजस्तै भएको र चिहानमा मात्र उसका फैसला हुने’ बताउँदै उनले मृत्युपछि अहिले नापितको सकारात्मक फैसला भइरहेको बताए । 
कार्यक्रममा जङ्गली राजकुमार प्रधान र बुद्धरत्न मानन्धरले नापितको राजनीतिक यात्राको चर्चा गरेका थिए । कार्यक्रम नेकपा एमाले थाहा नगर कमिटी अध्यक्ष अच्युत्तमप्रसाद ढकालको अध्यक्षतामा भएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०