Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मृतकका परिवारलाई किरिया खर्च

covide-1-1622098292.jpg

कैलालीको टीकापुर नगरपालिकाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई रु १० हजार क्रियाखर्च उपलब्ध गराउने भएको छ । नगरपालिकाले कोरोना महामारीले आफन्त गुमाएका परिवारलाई सान्त्वना दिन क्रियाखर्च उपलब्ध गराउने निर्णय गरेको हो । 

टीकापुरमा कोरोना महामारीको दोस्रो भेरियन्टपछि २९ जनाको मृत्यु भएको छ । महामारीकै कारण मृत्यु भएका परिवारको मनोबल बढाउनुका साथै ‘तपाईंको दुःखमा स्थानीय सरकारसँगै छ’ भन्ने आभाष दिलाउन क्रियाखर्च दिने निर्णय भएको नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताए । “अधिकांश मृतकका परिवार पनि सङ्क्रमित छन्, परिवारका सदस्य गुमाएका उनीहरुलाई एकतिर परिवार नै सङ्क्रमित, अर्कोतर्फ सामाजिक समस्या पनि छन्”, नगर प्रमुख रावलले भने, “यस्तो बेला सरकारको उपस्थिति जनाउन हामीले थोरै रकम भए पनि सहयोग गरौँ, उहाँहरुको घरदैलोमा पुगौँ भनी यो कार्य थाल्ने भएका हौँ ।”

मृतकका परिवारलाई राहत लिएर जनप्रतिनिधि र स्वास्थ्यकर्मी जाने भएका छन् । नगरपालिकाले सङ्क्रमणका कारण मृत्यु भएका, मृत्युपछि सङ्क्रमित भएका परिवारमा अन्य खाले स्वास्थ्य समस्या र मनोसामाजिक समस्या नहोस् भनी स्वास्थ्य परामर्शसमेत दिन थालेको छ । “हामीले सामान्य समस्या भएकालाई परामर्श दिन्छौँ, जटिल समस्या भएकालाई चिकित्सकको सहयोग लिएर पनि उहाँहरुको स्वास्थ्य समस्या थप नबिग्रियोस् भनी काम गर्न थालेका छौँ”, नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले भने, “यस्तो विपत्तिमा सबैभन्दा पहिले नागरिकको आत्मविश्वास बढाउने सहयोगी छन्, सरकार छ भन्ने आभाष दिलाउने कार्य भइरहेको छ ।”

नगरपालिकाले सङ्क्रमित परिवारलाई अन्य स्वास्थ्य समस्या नहोस् भनी घरदैलो कार्यक्रमसमेत थालेको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०