Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा ७ दिन 'लकडाउन' थपियाे

IMG_20210715_183743-1626353586.jpg

मकवापुरमा जारी निषेधाज्ञा साउन ७ गतेसम्म थप गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले ३१ असारमा आदेश जारी गर्दै  साउन ७ गतेसम्मका लागि निषेधाज्ञा थपेका हुन् ।

यो पटक थप गरिएको निषेधज्ञा थप खुकुलो भएको छ । यो पटक खाद्यन्न पसल सञ्चालनमा १ घण्टा थप गरी अब ११ बजेसम्म र अन्य ब्यवसाय सञ्चालनमा २ घण्टा थप गर्दै बिहान ११ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

सूचनामा अत्यावश्यक काम परी घर बाहिर निस्कनुपर्दा अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने, नगराउने, औषधी पसल, कृषि बीउबीजन तथा मल विक्री वितरण गर्ने पसल र भेटनरी, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल, पुस्तक तथा पत्रपत्रिका पसल नियमित सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसलहरू विहान ४ बजेजेदेखि विहान ११ बजेसम्म र अन्य गैर खाद्य पसलहरू विहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र खोल्न पाइने छ । तर, फुटपाथमा पसल राख्न नपाउने सूचनामा उल्लेख छ ।

यसैगरी, रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट टेकअवे र होम डेलिभरी हुने गरी मात्र विहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने, होटल तथा लज सञ्चालन सम्बन्धमा बेड क्षमताको एक तिहाईमा मात्र सञ्चालन गर्ने, होटल, लज, रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलमा काम गर्ने कर्मचारी र कामदारहरूले अनिवार्यरूपमा स्वास्थ्य मापदण्ड पालना गर्ने र कोठाहरू दैनिकरूपमा निसङ्क्रमण गर्ने आदेशमा उल्लेख छ ।

होटल, लज तथा रेष्टुरेन्टहरूमा कुनै पनि प्रकारको भोज भतेर, भेला, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न नपाइने, पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्यरूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड पालना र भिडभाड नहुने सुनिश्चितता सम्बन्धित व्यवसायीले सुनिस्चितता गर्नु पर्ने प्रजिअ पाण्डेले बताउनु भयो ।

यसैगरी, यातायात सञ्चालन सन्दर्भमा सार्वजनिक यातायातका सवारी साधनहरू विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म मात्र सञ्चालन गर्ने, कूल सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरूलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्ने, चालक तथा सहचालकले मास्क र भाइजर लगाउनु पर्ने, सवारी साधनलाई दैनिकरूपमा निसङ्क्रमित गर्नुपर्नेछ ।
 
सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा ५ रुपियाँ लिई मास्क उपलब्ध गराउनु पर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने सूचनाम उल्लेख छ ।

अन्य जिल्लाबाट आएका पूर्व - पश्चिम राजमार्ग भई जाने लामो दूरीका सवारी साधन,मालवाहक सवारी साधनहरू तथा निर्माण सामग्री ढुवानीका साधनहरू मकवानपुरमा नरोकिने गरी आवत जावत गर्न पाइने, औद्योगिक कच्चा पदार्थ, तयारी उत्पादन एवं खाद्यान्न बोक्ने सवारी साधनहरू हेटौंडा बजार क्षेत्रभित्र विहान १० बजेदेखि दिनको ४ बजेसम्म मात्र आवत जावत एवं लोड अनलोड गर्न पाइने, बैंक, इन्स्योरेन्स कम्पनी, मनी ट्रान्सफर तथा वित्तीय सहकारी संस्थाहरूबाट प्रदान गरिने सेवाहरू जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने सुनिश्चितता गरी नियमितरूपमा सञ्चालन गर्ने, वित्तीय तथा सहकारी संस्थाहरूबाट समूह भेला गरी रकम संकलन गर्ने, गराउने कार्य पूर्णरूपमा बन्द हुनुपर्ने उल्लेख छ ।

यसैगरी, शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र), सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थल, पिकनिक स्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, सैलुन तथा ब्युटी पार्लर , स्विमिङ पुल , जिमखाना लगायत हेल्थ क्लब , स्ट्रिट फुड पसल, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, फुटसल पूर्णरूपमा बन्द रहने उल्लेख छ । 

मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गरी अन्य समयमा अनिवार्य बन्द गर्ने, धार्मिक, सांस्कृतिक र सामाजिक लगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालन गर्न नपाइने तर, विवाहका लागि बढीमा २० जनासम्म नजिकको प्रहरी इकाईसँग समन्वय गरी आफ्नै निवासमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्पन्न गर्न सकिने सूचनामा उल्लेख छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०