Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा सालका रूखको एक्सरे हुँदै

IMG_20211227_094744-1640577811.jpg

मकवानपुरका विभिन्न सामुदायिक वनहरूमा सालका रूखको धमाधम एक्सरे भइरहेको छ । केही समयअघि मात्र नेपाल भित्रिएको एकमात्र टोमोग्राफ मेसिनबाट अहिले मकवानपुरका विभिन्न वनमा रहेका पुराना सालका रूखको एक्सरे भइरहेको हो ।

डिभिजन वन कार्यालय राप्तीका सहायक वन अधिकृत सुरेशप्रसाद गुप्ताका अनुसार रूखभित्रको धोदको मात्रा पत्ता लगाउन जर्मनबाट भित्रिएको टोमोग्राफ मेसिनले रूखको एक्सरे गर्ने काम भइरहेको बताए । सबडिभिजन वन कार्यालय बसामाडी अन्तर्गतका बसामाडी तथा नेवारपानी क्षेत्रमा रहेका आधा दर्जन सामुदायिक वनमा रहेका पुराना खडा रूखहरूको धोदको मात्रा पत्ता लगाउन टोमोग्राफ मेसिनमार्फत एक्सरे भइरहेको छ ।

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रकी उपसचिव सुनिता उलक र सहायक अनुसन्धान अधिकृत केशव घिमिरेको टोलीले पहिलो चरणमा ४० थान सालका रूखहरूको एक्सरे गर्दै छन् । ‘केही समयअघि मात्रै जर्मनबाट टोमोग्राफ मेसिन खरिद गरिएको हो,’ केन्द्रकी उपसचिव उलकले भनिन्, ‘बिरामीको शरीरमा ईसीजी गर्दा विभिन्न प्वाइन्टहरूमा सेन्सर राखिए झैं रूखका विभिन्न स्थानहरूमा प्वाइन्ट राखी यो मेसिनले भित्री अवस्था पत्ता लगाउँछ ।’

उनका अनुसार टोमोग्राफले दिएको चित्रलाई सफ्टवेयरमा एनालाइसिस गरेपछि रूखभित्र बिग्रिएर धोद भएको मात्राको प्रतिशत, बिग्रँदै जाने क्रममा रहेको मात्र सबै देखाउँछ । जर्मनमा विकास भएको ३५ लाख रुपैयाँ पर्ने यो मेसिन वन अनुसन्धान तथा तालिम केन्द्रले केही समयअघि मात्रै खरिद गरेको हो । इकान्तिपुरबाट