Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा कोरोनाबाट हालसम्म १३९ जनाको मृत्यु

1617769617_Nepal-corona-d-1627209473.jpg

मकवानपुरमा कोरोना संक्रमणबाट हालसम्म १३९ जनाको मृत्यु भएको छ ।  जिल्लामा कोरोना संक्रमणको पहिलो लहरदेखि हालसम्म संक्रमणका कारण १३९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मृतकमध्ये सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका छन् । उपमहानगरभित्रका ९९ जना व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, मनहरी गाउँपालिकाका १० जना, थाहा नगरपालिकाका ९ जना, मकवानपुरगढी गाउँपालिका र भीमफेदी गाउँपालिकाका ५/५ जना, बागमती गाउँपालिका र बकैया गाउँपालिकाका ४/४ जना, राक्सिराङ गाउँपालिकाका २ जना र कैलाश गाउँपालिकाका एक जनाको पनि संक्रमणबाट मृत्यु भएको छ ।

सक्रिय संक्रमितको संख्या ५ सय बढी

मकवानपुरमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी राख्दासमेत जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय ४७ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये धेरैजसो होम आइसोलेशनमा बसिरहेका छन् । कुल सक्रिय संक्रमितमध्ये ४७७ जना होम आइसोलेशनमा छन् भने अन्य संक्रमितहरु संस्थागत आइसोलेशन र हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत छन् ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ४५ जना संक्रमितहरु स्थानीय तहहरुले संचालन गरेको संस्थागत आइसोलेशनमा बसेका छन् ।

हेटौंडा उपमहानगरपालिकाले संचालन गरेको गोरीटार आइसोलेशनमा हाल २५ जना कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार, थाहा नगरपालिकाको आइसोलेशनमा ७ जना, भीमफेदी गाउँपालिकाको आइसोलेशनमा ४ जना, कैलाश गाउँपालिकाको आइसोलेशनमा ३ जना, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बागमती गाउँपालिकाको आइसोलेशनमा २÷२ जना संक्रमित छन् ।

हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा हाल २५ जना संक्रमित उपचाररत छन् ।

हालसम्म मकवानपुरका १२ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी घिमिरेले बताए ।

उनका अनुसार, पछिल्लो २४ घण्टामा मात्रै मकवानपुरका ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर विधिबाट ४३४ जनाको कारोना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो ।

करिब साढे १४ हजार जनाले लगाए खोप

मकवानपुरमा हालसम्म करिव साढे १४ हजार जनाले कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका छन् ।

गत माघदेखि सुरु भएको कोरोना विरुद्धको खोप कार्यक्रममा १४ हजार ३ सय ६३ जनाले खोपको दुवै मात्रा लगाएका हुन् ।

मकवानपुरमा कोरोना विरुद्धको कोभिसिल्ड खोपको दुवै मात्रा लगाउनेको संख्या ८ हजार ३७५ जना छन् । त्यस्तै ५ हजार ९८८ जनाले भेरोसेल खोपको दुवै मात्रा लगाइसकेका छन् ।

मकवानपुरमा हालसम्म कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउनेको जम्मा संख्या ३० हजार ९३९ छ । मकवानपुरमा भेरोसेल खोप लगाउने कार्यक्रम जारी छ ।

१३ हजारभन्दा बढी व्यक्ति कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा

मकवानपुरमा १३ हजारभन्दा बढी व्यक्ति कोरोनाविरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्राको पर्खाइमा छन् ।

विभिन्न चरणमा कोभिसिल्डको पहिलो मात्रा लगाएको कुल २१ हजार ८५५ जनामध्ये हालसम्म ८ हजार ३७५ जनाले मात्र कोभिसिल्डको दोस्रो मात्रा लगाएका छन् ।

बाँकी १३ हजार ४८० जनाले अझैसम्म पनि कोभिसिल्डको दोस्रोमात्रा लगाउन पाएका छैनन् । उनीहरुमध्ये कतिपयको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएको समय १६ हप्ताभन्दा बढी भइसकेको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०