Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

भीमफेदी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन

bhimphedi-gaupalika-2-1629114726.jpg

भीमफेदी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । १७ मिटर चौडाई र ३५ मिटरको लम्बाइमा बनेको कुल ४२ कोठाको उक्त भवनको ३२ साउनमा  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

गाउँपालिकाले २०७६ साल साउनमा आरएनसी नेचुरल जेभी काण्ठमाडौंसँग सम्झौता भई निर्माण कार्य सुरु गरेको प्रशासकीय भवन रु ४ करोड १२ लाख लागतमा सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी बद्री सापकोटाले जानकारी दिए ।

उनका अनुसार, जिल्ला समन्वय समिति जिसस मकवानपुरको मौज्दात कोषबाट २ करोड रुपैयाँ, संघीय सरकारबाट एक करोड ४० लाख रुपैयाँ र बाँकी गाउँपालिकाको लगानीमा भवन निर्माण गरिएको हो ।

ठेक्का लिएको २ वर्षको अवधिमा सभाहलसहित सुविधा सम्पन्न भवनको निर्माण भएको सुचना अधिकारी सापकोटाले बताए ।

गाउँपालिकाले आजैबाट आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । कार्यक्रम गाउँपालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।

भवन उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले भीमफेदी गाउँपालिकालाई वल्ड सिटीको रुपमा विकास गरिने बताए । उनले भीमफेदीको इतिहास, पुरातात्विक महत्वलाई बचाउन पुरानो सहरको रुपमा विकास गर्ने बताए ।

यस्तै, कार्यक्रममा जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुरको ८ वटा गाउँपालिकामध्ये आफ्नै व्यवस्थित भवन निर्माण सम्पन्न गर्ने पहिलो गाउँपालिकाको रुपमा भीमफेदी रहेको बताए ।

कार्यक्रममा भूमि सम्बन्धी समस्या आयोग मकवानपुरका अध्यक्ष रामेश्वर राना, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना लगायत राजनीति दलहरुको सहभागिता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०