Sunday, 16th August, 2026
वि.स.

थाहाका मेयर लवशेर विष्टलाई बालबालिकाले सोधे यस्ता प्रश्न (प्रश्न र उत्तरसहित)

mayor-with-balbalika-1633517171.jpg

थाहा नगरपालिकाका बालबालिकाले नगरका मेयर लवशेर विष्टलाई विभिन्न प्रश्न गरेका छन् । २० असोजमा बालबालिका सहभागी एक कार्यक्रममा प्रमुख अतिथि रहेका मेयर विष्टले बालबालिकाले बालअधिकारसँग सम्बन्धित दर्जन प्रश्न सोधेका हुन् । 
थाहा नगरपालिका महिला बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचय पत्र वितरण शाखाको आयोजनामा बालअधिकार तथा बाल संरक्षणमा क्षमता अभिवृद्धिसम्बन्धी तीन दिने आवाशीय तालिमका समापन समारोहमा मेयर विष्ट प्रमुख अतिथिको रुपमा उपस्थित थिए । 

समापन कार्यक्रमको शुरुवमा  आयोजकले बालबालिकाको तर्फबाट आफ्नो कुरा राख्न समय दिएको थियो । समयको सदुपयोग गर्दै इअन इंगलिश एकेडेमी बज्रवाराहीमा कक्षा १० मा अध्ययनरत अच्युत ज्ञवालीले थाहा नगरपालिकाले खासमा बालबालिकाको लागि के गरिरहेको छ र अब के गर्छ भनी सोधेका थिए । कार्यक्रममा जनकल्याण मावि पालुङकी कक्षा १० मा अध्ययनरत ईश्वरी कार्कीले अहिले पनि थाहा नगरपालिकाका कतिपय बालबालिका विद्यालय जानबाट बञ्चित भइरहेकोमा उनीहरुको अधिकारको लागि नगरपालिकाको योजना केछ भनेर सोधेकी थिइन् । त्यस्तै मत्स्य नारायण मावि पालुङकी कक्षा १० की छात्रा पवित्रा गुरुङले थाहा नगरपालिकाले बालबालिकाको लागि विनियोजन गरेको बजेट बालबालिकालाई किन थाहा हुँदैन भनेर प्रश्न गरेकी थिइन् । इअन इंगलिश एकेडेमी बज्रवाराहीकी एलिसा गोपाली (कक्षा १०) को प्रश्न थियो – हामीले चङ्गा फाउण्डेशनको सहयोगमा सञ्चालित कार्यक्रमार्फत् नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका थियौँ, त्यसको सुनुवाइ किन भएन  ? 

बालबालिकाको प्रश्न र जिज्ञासा सुनेपछि नगरप्रमुख विष्टले सकेसम्म सबै प्रश्नको जवाफ दिने प्रयास गरेका थिए । सबै प्रश्नका जवाफहरुलाई समेटेर मन्तव्य राखेका मेयर विष्टले नगरमा बालअधिकार प्रत्याभुतिका लागि नगरपालिका प्रतिवद्ध रहेको जनाउँदै आगामी दिनमा थप योजनावद्ध ढंगले अघि बढ्ने बताए । उनले आगामी दिनमा बालबालिकाको लागि योजना निर्माण गर्दा बालबालिकालाई नै सहभागी गराउने र थाहामा बालबालिकाको लागि के कार्यक्रमको लागि कति बजेट विनियोजन भएको छ भन्ने प्रश्न नै उत्पन्न नहुने गरी काम गर्ने प्रतिवद्धता जनाए । उनले चालु आर्थिक वर्षमा अपाङ्गता भएका बालबालिकाको लागि छात्रवृत्ति, किशोरीहरुलाई सीपमुलक तालिम, बाल क्लब गठन र परिचालन, अभिभावकविहिन बालबालिकालाई सहयोग, योजना तर्जुमामा बाल सहभागिता जस्ता कार्यक्रमहरु तय  गरेर नगरपालिका अघि बढेको पनि जानकारी गराएका थिए । 

कार्यक्रम थाहा नगरस्तरीय बाल क्लब सञ्जालकी अध्यक्ष खुशी गोपालीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०