Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बालबालिकामा कोरोनाको डर हटाउन अभिभावकले समय दिनुपर्ने

222-1592639526.jpg

कैलालीको घोडाघोडी नगरपालिका–६ का कक्षा ७ मा अध्ययनरत १४ वर्षीय साजन विक एक महिनादेखि चिन्तित थिए। साजनका मनमा एक किसिमको डर थियो, कोरोनाको।

लामो समय घरमै बसिरहँदा तथा कोरोनासम्बन्धी रेडियोमा आएका विभिन्न समाचार सुनेर मनमा लागेको डरका कारण सबैको जिन्दगी सकिन्छ भन्ने मनोभाव लिएर करीब एक महिना चिन्तामा बसेका उनका अभिभावकले अनेक प्रयासले सम्झाएपछि बल्ल उनी निडर बन्न थालेका हुन्। कोरोना अरू रोग जस्तै सामान्य भएको र मानिस सञ्चो भएको कुरा सुनेर अहिले साजन त्यत्ति चिन्ता लिँदैनन्।

भारतबाट अभिभावकसँगै फर्किएकी घोडाघोडी नगरपालिका–५ की १२ वर्षीया चौधरीले क्वारेन्टिनमा अभिभावकसँगै दुई हप्ता बसेर घर फर्कँदा कैदी थुनिने कारागार बसेर आएझैँ लागेको बताइन्। क्वारेन्टिनमा बस्दा सँगै बसेकाहरूले कोरोनाले सबैलाई सिध्याउँछ के गर्ने होला भनेको सुनेदेखि चौधरीलाई कोरोना एकदमै खतरनाक रहेछ भन्ने लागेको थियो। कोरोना लागेकै कारण आफूहरूलाई क्वारेन्टिनमा राखेको होला भन्ने सोचले पिरोलिने चौधरी अभिभावक र स्वास्थ्यकर्मीले सम्झाएपछि चिन्ता कम बनाएको बताउछिन्।

कोरोनाका कारण बालबालिकाको मानसपटलमा परेको असरबारे यी दुई घटना उदाहरण मात्र हुन्। नेपालमा पछिल्लो समय आक्रामक रूपमा बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणका कारण लामो समय बन्दाबन्दीले विद्यालय बन्द भई घरभित्रको बास तथा क्वारेन्टिनमा बस्नुपर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्ने भएकाले यसतर्फ सचेत रहन सरोकार भएकाहरुले आग्रह गरेका छन्।

कोरोनाको त्रासले बालबालिकामा विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्ने मनोविमर्शकर्ता सीता भण्डारी बताउछिन्। संक्रमण जोखिमका कारण शैक्षिक संस्था अझै केही समय बन्द हुने भएको, लकडाउनका कारण असहज बन्दै गएको जनजीवन आगामी केही महिनासम्म पूर्णरुपमा सहज नहुने भएको, यसबीच बालबालिकाको दैनिक जीवन सामान्यावस्थामा फर्कने अवस्था नदेखिएको तथा ती लामो समय क्वारेन्टिन र आइसोलेसनमा रहँदाको तनावसमेत थपिँदा गम्भीर परिणाम देखिन सक्ने भण्डारीको भनाइ छ।

लामो समय विद्यालय बिदा भई घरमै बसिरहँदा र क्वारेन्टिनको तनावपूर्ण वातावरणले बालबालिकाको व्यावहारिक, भावनात्मक र सामाजिक विकासमा नकारात्मक असर पु¥याउने हुँदा उनीहरूसँग मित्रवत् व्यवहारका साथै अभिभावकले बढी समय दिनुपर्ने मनेविमर्शकर्ता भण्डारीको तर्क छ। बालबालिकामा कोरोनाका कारण सबै बर्वाद हुन्छ, सबै सकियो खत्तमै भयो भन्ने सोच पर्न नदिन अभिभावकको महत्वपूर्ण भूमिका रहने भण्डारी बताछिन्।

विद्यालय बन्द हुनाले सबैभन्दा ठूलो प्रत्यक्ष असर तिनमा परेको एसओएस बालग्राममा बालबालिकामा देखिने मानसिक समस्या सम्बन्धी परामर्श दिइरहनुभएका सहजकर्ता दिनेश भट्टराईको भनाइ छ। ‘बालबालिकाको विद्यालय कहिले खुल्छ, ठेगान छैन, उनीहरूको मनमा विद्यालय नखुलेका कारण अनेक किसिमका भावना खेलिरहेका हुन्छन् र त्यसले मनोविज्ञानमा असर पर्न सक्ने भएकाले उनीहरूलाई बढीभन्दा बढी सिर्जनशील काममा सक्रिय बनाउन अभिभावकले ध्यान दिनुपर्छ’, भट्टराईको सुझाव छ।
 रासस



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०