Friday, 28th August, 2026
वि.स.

प्रहरीले पक्रन खोजेपछि चोरीका आरोपीले रुखमा चढेर भने- ‘हाम्फाल्छु’

2_Gokarna_._6LiXQ90Bq0-1615767551.jpg

फरार आरोपी पक्राउ गर्न खोज्दा आइतबार प्रहरीले निकै सास्ती भोग्नुपरेको छ ।  महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले मकवानपुर घर भएका सुकलाल वाइवा उर्फ खन्तीलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीबाट पक्राउ गर्न खोज्यो । बसुन्धारा बस्ने खन्ती चोरी मुद्दाका फरार आरोपी हुन् ।

प्रहरीको टिमले आफुलाई पक्रन खोजेपछि खन्ती बागमती नदी करिडोर हुँदै भागे । प्रहरीले उनलाई पच्छ्याइरह्यो । आरोपी अघि–अघि भागे, प्रहरी पछि लाग्यो । गोकर्णको खोँचमा पुगेपछि आरोपी रुखमा चढेर भने–‘पक्राउ गर्ने भए हामफालेर मर्छु ।’

आफ्नै आँखा अगाडि आरोपीले ज्यान फाल्नु प्रहरीका लागी अप्रिय घटना हुने थियो । अनि, महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नविन कार्की नेतृत्वको टोली उनको ज्यान बचाउन तिर लागिपरे । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी नेतृत्वको थप मद्दत र विपद् व्यवस्थापनको उद्धार टोली बोलाएर लामो मेहनतपछि प्रहरीले ३६ वर्षीय सुकलालको उद्दार गरेको छ ।

‘लामो मेहनतपछि आरोपीलाई उद्दार गर्न सफल भएका छौं’ महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नविन कार्कीले रातोपाटीसँग भने– ‘मानसिक रोग विशेषज्ञ बोलाएर लामो समय काउन्सिलिङ गरेपछि आरोपी बल्ल फर्कन मानेका छन् ।’ नेपाल प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ एसपी डा.आशिष दत्तले १ घण्टा  काउन्सिलिङ गरेपछि सुकलालले ‘हामफालेर मर्छु’ भन्ने हठ छाडे । त्यसपछि विपद् व्यवस्थापनको उद्धार टोलीले ३० फिट तल भिरबाट उद्धार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गत माघ १ मा नयाँबाटी स्थित राजकुमार क्षेत्रीको घर फोडेर सुकलालले टिभी, घडी, मोवाइल र नगदसहित करिब ५ लाखको सामान चोरेका थिए । राती मान्छे नभएको मौकामा उनले क्षेत्रीको घर फोडेको मुद्दामा बौद्ध प्रहरीले उनलाई खोजिरहेको थियो । यसअघि पनि जेल बसेर निस्केका सुकलाल महानगरीय प्रहरी वृत्त बौद्धमा दर्ता भएका दुईवटा चोरी मुद्दाका फरार आरोपी हुन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif