Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्याब्सन थाहाकाे निर्णय : ६ असारदेखि अनलाइन कक्षा

online-classes-coursifyme-1623415805.jpg

थाहानगरका संस्थागत विद्यालयहरुले आउँदो असार ६ गतेदेखि शैक्षिक सत्र २०७८ को पठनपाठन सुरु गर्ने भएको छ । 

२८ जेठमा भएको निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) थाहानगर कमिटीको अनलाइन बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नगर शिक्षा शाखाले निर्दिष्ट गरेको मापदण्डका आधारमा ३० जेठभित्र शैक्षिक सत्र २०७७ को नतिजा प्रकाशन गरी १ असारदेखि भर्ना सुरु गर्ने निर्णय गरिएको अध्यक्ष सुरेन्द्रमान प्रधानले बताए । 

‘ग्रामीण भेगमा सञ्चार सुविधाको पहुँच छैन भनेर कुर्ने अवस्था छैन, त्यसैले सकेसम्म सबै विद्यार्थीलाई अनलाइनमार्फत् सिकाइ क्रियाकलापमा जोड्ने प्रयत्न गर्नेछौँ ।’ प्रधानद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यसअघि पनि धेरैजसो संस्थागत विद्यालयहरुले नियमित रुपले अनलाइन कक्षाहरु संचालन गर्दै आएका थिए ।

बैठकले गत वर्ष पनि कोरोनाका कारण सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालय आर्थिक रुपले समस्यामा परेको मूल्याङ्कन गर्दै असोजदेखि शुल्क निर्धारण गरिएको स्मरण गर्दैै यो वर्ष जेठ महिनाको बस, वार्षिक परीक्षा र होस्टल शुल्क पूर्ण रुपमा छुट गर्ने निर्णय गरेको छ । साथै, नयाँ विद्यार्थी भर्ना लिँदा शैक्षिक सत्र २०७७ को जेठ महिनासम्मको शुल्कहरु भुक्तानी गरी विद्यालयले दिइने प्रमाणपत्र अनिवार्य लिएर मात्र भर्ना गर्न सबै विद्यालयलाई जानकारी गराउने निर्णय समेत भएको प्याब्सन नगर सचिव संगम काकीले बताए । 

बैठकले निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) केन्द्रले कोभिडबाट बिरामी हुनेहरुको उपचारमा सहयोग गर्ने हेतुले संचालन गरिरहेको सहयोग अभियानमा प्याब्सन थाहानगरबाट ४५ हजार ६ सय ७८ रुपियाँ सहयोग गर्ने निर्णय पनि गरेको छ । प्याब्सन थाहानगरले कोभिडविरुद्द संचालित खोप संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई पनि प्राथमिकताको आधारमा तत्काल उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ । यदि सरकारले नि:शुल्क उपलब्ध गराउन असमर्थ भएमा शिक्षक कर्मचारीहरुलाई तोकिएको शुल्क प्याब्सनले भुक्तानी गर्ने गरी भएपनि खोप लगाउन पाउने व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । आगामी आइतबार थाहा नगरपालिका प्रमुख लवशेर विष्टसमक्ष खोपको मागसहितको ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत तय भएको सचिव कार्कीले बताए ।

थाहानगरमा संस्थागत विद्यालयमा करिब २ सय शिक्षक कर्मचारी कार्यरत छन् । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०