Friday, 3rd July, 2026
वि.स.

पुल निर्माणबारे निगरानी गर्न मनहरीमा पुल सरोकार समिति गठन

dipendra-adhikari-1605106360.jpg

मनहरीका सचेत नागरिकहरुको छलफलले गाउँपालिका क्षेत्रका विभिन्न नदी र खोलाहरुमा निर्माण हुन लागेको ५ वटा पक्की पुलको गुणस्तरीयताबारे निगरानी राख्न पुल सरोकार समिति गठन गरेको छ । 

ठेक्का प्रक्रियामा गएका ५ वटै पुलको निर्माण प्रक्रियामा पारदर्शिता अपनाउन तथा गुणस्तरीय निर्माण कार्यका लागि दबाब दिन युवा नेता दीपेन्द्र अधिकारीको संयोजकत्वमा पुल सरोकार समिति गठन गरिएको हो । समितिमा मनहरी गाउँपालिका वडा नं १ देखि ५ नं सम्मका नागरिकहरुलाई समेटिएको संयोजक अधिकारीले जानकारी दिए ।  समितिमा भीमसेन अधिकारी, बिमल स्याङ्तान, चन्द्रबहादुर राई, सरोज अर्याल, सुरेन्द्र घलान, होतप्रसाद अधिकारी, रवि उप्रेती, रामहरि बिष्ट, श्रीकृष्ण ढकाल, सुरेन्द्रकुमार तितुङ, नानीबाबु थापा गोदार, कृष्णप्रसाद पौडेल, बालमुकुन्द ढकाल र राजन पाण्डे रहेका छन् ।

समितिले ठेकेदोर कम्पनीले गर्ने कार्यको निगरानी गरी गुणस्तरहीन काम हुनबाट रोक्ने र निगरानी गर्ने जनाइएको छ । यसअघि विभिन्न ठूला विकास निर्माणका काममा ठेकेदारहरुले स्थानीय केही युवाहरुलाई प्रलोभन देखाई कमसल काम गर्ने गरेको पाइएको छ । त्यस्ता गतिविधिहरुलाई रोक्न र आवश्यक परे नियामक निकायहरुसम्म पनि पुग्न सहजीकरण गर्ने उद्देश्यले समिति निर्माण भएको हो । 

मनहरी गाउँपालिकाले ट्वांग्रा खोला, मसिने खोला, हाँडीखोला, च्यापल खोला लगायतका स्थानहरुमा पक्की पुलको ठेक्का सदर गरिसकेको छ । अब छिट्टै नै पुल निर्माण कार्यले गति लिने मनहरी गाउँपालिकाले जनाएको छ । बढीमा २४ महिनाभित्र हस्तान्तरण हुने गरी ५ वटै पुलको ठेकेदारसँग सम्झौता प्रक्रिया अघि बढेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०