nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

पारासिटामोल अभाव
बजार मूल्य बढाउन औषधि कम्पनीहरूले कृत्रिम अभाव गरेको हुन सक्ने फार्मेसी सञ्चालकहरूको आशंका

IMG_20210608_082750-1623120223.jpg

कोभिडका बिरामीका लागि अत्यधिक प्रयोगमा आइरहेको पारासिटामोल लामो समयदेखि बजारमा छैन । बजार मूल्य बढाउन औषधि कम्पनीहरूले कृत्रिम अभाव गरेको हुन सक्ने फार्मेसी सञ्चालकहरूको आशंका छ ।  कोटेश्वरमा एटिएम फार्मेसी सञ्चालन गरिरहेका रञ्जितकुमार साहले पछिल्लो तीन सातादेखि औषधि सप्लायर्सलाई पारासिटामोल उपलब्ध गराइदिन अनुरोध गरे पनि पाउन नसकेको बताए ।

मेडिकल पसलमा औषधि वितरणसमेत गरिरहेका साहले भने, ‘अहिले हरेक दिन मेडिकल सञ्चालकहरू औषधि अभावका कारण खाली हात फर्किरहेका छन् । हामीसँग जम्मा २० स्ट्रिप (२०० ट्याबलेट) मात्र सिटामोल बाँकी छ । बिरामी नै किन्न आउने भएकाले मेडिकललाई नदिएर केही बचाएर राखेका छौँ । कम्पनीहरूलाई जति अनुरोध गर्दा पनि उपलब्ध भइरहेको छैन ।’

ठूला औषधि वितरकले औषधिको मूल्य वृद्धिका लागि कृत्रिम अभाव सिर्जना गरिरहेको मेडिकल सञ्चालकहरूको भनाइ छ । कालिमाटीमा राजधानी मेडिकल हल सञ्चालन गरिरहेका अहमद अकबर अलीले भने, ‘मेडिकलमा अहिले एक डब्बा पनि पारासिटामोल छैन ।

सामान्य दुखाइ, ज्वरो आदिका लागि आधारभूत रूपमा प्रयोगमा आउने औषधि एक्कासि अत्यधिक खपत हुन थालेपछि अभाव भएको छ । बजारमा माग बढ्दो छ, तर सप्लायर्सहरूले नियमित दिइरहेको औषधि कटौती गरिदिएका छन् । उनीहरूले औषधि माग गर्दा कम्पनीहरूले नै नदिएकाले अभाव भएको बताउने गरेका छन् ।’ 

चिकित्सकहरूले सामाजिक सञ्जाल, सञ्चारमाध्यम र काउन्सिलिङमा सामान्य रुघाखोकी, दुखाइ र ज्वरोजस्ता लक्षणहरूका लागि पारासिटामोल प्रयोगमा ल्याउन सुझाब दिइएकाले आममानिसले आवश्यकभन्दा बढी औषधि किनेर राख्दा बजारमा अभाव भएको प्रकाश फार्मेसीका व्यवस्थापक किरणकुमार श्रेष्ठको भनाइ छ । ‘बिरामीले चाहिन सक्ने भन्दै औषधिको बट्टा नै किनेर लैजाने गरेका छन्, जसले गर्दा सुरुमा अभाव भएको हो ।’ 

औषधि व्यवस्था विभागको तथ्यांकअनुसार नेपालमा मात्रै ४७ वटा औषधि कम्पनीले पारासिटामोल उत्पादन गर्छन् । अन्य देशबाट निर्यात हुने औषधि गरी एक सय सात औषधि कम्पनी पारासिटामोल उत्पादन तथा वितरणका लागि दर्ता भएको देखाउँछ । तर, बजारमा जम्मा १२ वटा नेपाली कम्पनीका ब्रान्ड मात्रै देखिन्छन् ।

यस्तै, नेपालमा प्रतिवर्ष चार करोड ट्याबलेट औषधि बजारमा खपत हुने गरेको छ । तर, कोभिडको संक्रमण देखिएपछि पारासिटामोलको माग ६ गुणा बढेको औषधि उत्पादक कम्पनीहरू बताउँछन् । नेपालमा कुल वार्षिक खपतमध्ये ४८ प्रतिशत तयारी औषधि भारतबाट आउँछ भने ५२ प्रतिशत नेपाली कम्पनीले उत्पादन गर्छन् । यस्तै, नेपालमा उत्पादन हुने औषधिका लागि ८० प्रतिशत कच्चा पदार्थ भारत र २० प्रतिशत चीनबाट आयात हुन्छ । तर, औषधि उत्पादनका लागि आवश्यक झन्डै ८५ प्रतिशत कच्चा पदार्थ भारतले चीनबाट आयात गर्छ । 

नेपालमा पाइने पारासिटामोलमा अधिकांश भारतीय उत्पादन छन् । तर, पारासिटामोलको मूल्य नेपाली उत्पादनको तुलनामा झन्डै दोब्बर पर्ने भएकाले नेपाली बजारमा भारतीय उत्पादन त्यति खपत हुँदैन । महामारीको समयमा भारतले पनि हाइड्रोक्लोरोक्विन र पारासिटामोलको निर्यातमा बन्देज लगाउँदै आएको छ । 

आवश्यक पर्ने भन्दै आममानिसले पारासिटामोल औषधि किनेर स्टक राख्दा बजारमा अभाव भएको बताउँछन्, औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ । उनी भन्छन्, ‘बजारमागभन्दा उत्पादन निकै कम भएकाले अभाव भएजस्तो देखिएको हो । संक्रमण बढ्दै गएमा बजारमा औषधि अभाव हुन्छ भन्ने हल्लाका कारण धेरैले किनेर राखे । जसले गर्दा मेडिकलहरूमा औषधि अभाव भएको हो । तर, केही दिनमा सामान्य हुन्छ ।’

सरकारले ०६४ देखि सिटामोलको मूल्य प्रतिट्याब्लेट एक रुपैयाँ तोकेको छ । तर, नेपालका औषधि उत्पादक कम्पनीले यति कम मूल्यमा उत्पादन गर्दा गुणस्तरमा प्रभाव पर्ने भएको भन्दै मूल्य बढाउन माग गरिरहेका छन् । उत्पादक कम्पनीहरूले उस्तै औषधि भारतमा पनि प्रतिट्याब्लेट मूल्य १ रुपैयाँ ६० पैसा पर्ने भन्दै प्रतिट्याब्लेट एक रुपैयाँमा उत्पादन गर्न नसकिने बताउँदै आएका छन् ।

तर, तत्काल बजारमा अभाव हुनुको कारण ‘मूल्य’ नभएको कम्पनीहरू बताउँछन् । औषधि उत्पादन संघका महासचिव विप्लव अधिकारीले बजारमा औषधिको उपलब्धतामा केही असहज भए पनि हाहाकार नै नभएको बताए । ‘कोभिड संक्रमण देखिएपछि दुई महिनाको अवधिमा मात्र लगभग सात करोड ट्याबलेट सिटामोल खपत भएको छ । मूल्य बढी भएका कारण भारतबाट सिटामोल नेपाल आयात धेरै हुँदैन,’ उनले भने, ‘अघिल्लो वर्ष जम्मा १५ लाख ट्याबलेट मात्र आयात भएको छ । धेरै माग हुने औषधिको एक्कासि खपत हुँदा स्थिति सामान्य रहँदैन ।

पारासिटामोलको मूल्यबारे वर्षौँदेखि सरकारसँग लडिरहेका छौँ, अन्य कारण पनि छन् । तर, अहिलेको अभाव बढ्दो मागकै कारण भएको हो ।’बजारमा बढ्दो मागअनुसार समयमा मूल्य वृद्धि नगर्दा मौज्दात वितरण नमिलेका कारण अभाव भएको औषधि व्यवस्था विभागका औषधि व्यवस्थापक सन्तोष केसीले बताए । ‘पारासिटामोल पाउँदै पाउँदैन भन्नेचाहिँ छैन, तर हिजोको जस्तो सहज भने छैन ।

औषधि उत्पादकहरूले समयसापेक्ष मूल्य बढाइदिनुपर्ने हो, तर यो समयमा पनि एउटै मूल्यमा दिँदा घाटा भइराखेको भन्ने आइरहेको छ । मूल्य बढाउने विषयमा छलफल पनि गरिराखेका छौँ,’ उनले भने, ‘तर, लकडाउनको समयमा मूल्य बढाउन नमिल्ने अवस्था छ । हामीले अभाव भएको ठाउँमा निःशुल्क वितरण पनि गरिराखेका छौँ, तर उत्पादक कम्पनीहरूले लागतसमेत नउठेको गुनासो गरिरहेका छन् ।’

औषधि उत्पादक संघले औषधिमा नेपाल ७५ प्रतिशत आत्मनिर्भर रहेको भन्दै औषधि अभाव नहुने बताउँदै आएको छ । तर, बजारमा पारासिटामोलको माग बढी भएको र कच्चा पदार्थ आयात पनि सहज नभएकाले अभाव भइरहेको उत्पादक संघले बताएको छ । बजारमा पारासिटामोल मात्रै नभई दमरोगका लागि प्रयोग गरिने एस्थालिन र कालो ढुसीका लागि प्रयोगमा ल्याइने एन्टी फंगल औषधिको समेत अभाव छ । नयाँपत्रिकाबाट