Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पर्यटक बढेपछि थाहानगरमा होटल रिसोर्ट थपिदै

sahara-1609897896.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र दामनमा आन्तरिक एवं बाह्य पर्यटक बढेपछि ठूला लगानीमा रिसोर्ट पनि थपिँदै छन् । मकवानपुरको दामन क्षेत्रमा होटल तथा रिसोर्टहरु कोरोना कहरकाबीच पनि थपिदै गएको थाहा होटल एशोसिएशनका महासचिव उकेशचन्द्र केसीले जानकारी दिए । व्यवशायिक चुनौति भएपनि होटलहरु थपिदै जानू पर्यटन प्रवद्र्धनको राम्रो आधार बनेको महासचिव केसीको भनाइ छ । 

यहि ९ पुसमा मात्र थाहा नगरपालिका वडा नम्बर ४ मा साहारा रिसोर्टको  शुभारम्भ भएको छ । साहारा रिसोर्ट प्रा.लि.ले संचालमा ल्याएको रिसोर्टको संचालक हरेराम कार्कीका बाबु राजाराम कार्की र आमा नानीमैयाँ कार्कीले संयुक्त रुपमा उद्घाटन गरे । अन्य अतिथिहरुको आतिथ्यमा भन्दा आफूले गरेका कार्यमा बाबु आमाबाटै उद्घाटन गराउँदा थप उत्साह मिल्ने भएकोले फरक ढाँचामा होटल उद्घाटन गरिएको कार्कीले बताए । निर्माण थालनीको करिब दुईवर्षमा सम्पन्न भई रिसोर्ट संचालनमा आएको रिसोर्टका प्रबन्ध निर्देशक हरेराम कार्कीले जानकारी दिए । पर्यटन उद्योगलाई थप मजबुद बनाउने र थाहानगरमा पर्यटक भित्र्याउने उद्देश्यले संचालनमा आएको रिसोर्टले पनि अन्य होटल रिसोर्टले झै प्याकेजहरु घोषणा गरेको छ । 

रिसोर्टले झानेको मःमः हाँसको छोइला आफ्नो ‘ब्राण्ड’ बनाएको छ । दामनको नयाँगाउँमा साँढे ३ करोड लगानीमा स्थापना भएको यहाँको यो कान्छो रिसोर्ट हो । डिलक्स तथा सामान्य गरी १५ वटा कोठा रहेको रिसोर्टका सबै कोठा एट्याज रहेका छन् । रिसोर्टमा एसी सहितकाे सुविधा रहेकाे काेठा छन् ।  रिसोर्टमा विभिन्न सभा तथा सेमिनार संचालनका लागि एकसय जना क्षमता रहेको हल रहेको छ । व्यवस्थित पार्किङ तथा दृश्यावलोकनको लागि उचीत यस रिसोर्टको शुभारम्भसंगै थाहानगरमा पर्यटक भित्रनमा वृद्धि हुने निर्देशक कार्कीले आशा व्यक्त गरे । रिसोर्ट साँढे २३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।    रिसोर्ट क्षेत्रमा लगाइएको ताजा तरकारीहरु नै पर्यटकहरुलाई खुवाउने भएको हुँदा पारिवारिक वातावरणको साथै अर्गानिक खानेकुराको उपलब्धता हुने कार्कीले बताए । 

त्यस्तै रिसोर्टले नाफाको ५ प्रतिशत रकम सामाजिक क्षेत्रमा लगाउने घोषणा गरेको छ । साहारा रिसोर्टको वार्षिक लेखा परीक्षणमा भएको नाफाको ५ प्रतिशत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा अभाव खड्केका मानिसहरुलाई ‘साहारा’ स्वरुप खर्च गरिने प्रवन्ध निर्देशक कार्कीले बताए । 

साहारा रिसोर्टको आडैमा होटल पाइनस, होटल सुनगाभा लगायतका होटलहरु यसअघि नै संचालनमा आइसकेका छन् । निकै लोकप्रियता कमाएका यि दुई होटल नजिकै साहारा खुलेको हो । प्राकृतिक दृश्य एवं ऐतिहासिक र सांस्कृतिक सम्पदाले भरिभराउ मकवानपुरको थाहानगरका विभिन्न वडाहरुमा समेत होटल तथा रिसोर्टहरु थपिदै छन् । थाहा नगरपालिका वडा नम्बर १ ओखबर बजारमा होटल फ्रेण्डसिप, बज्रवाराही क्षेत्र तथा चित्लाङ क्षेत्रमा पनि होटल तथा रिसोर्टहरु निर्माणाधिन अवस्थामा रहेको थाहा होटल एशोसिएनले जनाएको छ । 

चित्लाङका देवेन्द्र नेपालले २० रोपनी जग्गामा रिसोर्ट निर्माण गरिरहेका छन्न्। ढुंगा र माटोको जोडाइमा भूकम्पप्रतिरोधी रिसोर्ट भवन निर्माण गरेको नेपालले बताएरु। थाहा गरपालिका–९ चित्लाङमा उनले स्कुलको जग्गा भाडामा लिएर अर्गानिक रिसोर्ट सञ्चालन गर्दै आएका थिएरु। अहिले आफैँले जग्गा खरिद गरेर भवन निर्माण गरेर रिसोर्ट सञ्चालन गरेका छन् । उनले चित्लाङ रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । नेपालले भने, ‘आन्तरिक एवं बाह्य पर्यटकलाई नयाँ स्वाद र बास दिने गरेका छौं, पाहुनाहरु सन्तुष्ट छन् ।’ 

थाहानगरका दुई वटा गाउँलाई नेपाल पर्यटन बोर्डले दुई वटा पर्यटकीय गाउँ घोषणा गरिसकेको छ । नगरको चित्लाङ र कुन्छाललाई पर्यटकीय गाउँको घोषणा गरिसकेको हो । यि घोषणाहरुले पनि पर्यटकलाई आकर्षण गर्नका लागि मद्दत मिलिरहेको स्थानीय पर्यटन व्यवशायिहरु बताउँछन् । थाहानगरमा पर्यटकलाई आकर्षण गर्नका लागि नगरपालिका तथा संघ र प्रदेश सरकारको तर्फबाट पनि विभिन्न संरचनाहरु निर्माण भैरहेको थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । विष्टका अनुसार–‘थाहा–४ मा थाहा पार्क, दामनका भरेङ, कुन्छाल गाउँ, पापुङ, टिष्टुङको नर्वे ढुङ्गा, चित्लाङ चलन्द्रागिरीमा हिल स्टेशन लगायत सबै क्षेत्रमा पर्यटन विकासका पुर्वाधारहरु निर्माण भैरहेको छ । प्रत्येक वडामा पर्यटकीय गन्तव्य घोषणा गरेर नगरेले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको प्रमुख विष्टको भनाइ छ । उनले भने–‘पर्यटन वर्ष शुभारम्भकै दिन हामीले प्रत्येक वडाका ५/५ वटा गन्तव्य घोषणा गरिसकेका छौं, त्यसको प्रवद्र्धन र विकासका लागि नगरपालिका प्रतिवद्ध छ ।’ विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिको संगम जस्तै रहेको थाहानगरमा स्वच्छ र चिसो हावापानी रहेकोले पनि यहाँ बाह्रै महिना आन्तरिक एवं बाह्य पर्यटक आउने गर्छन् ।

‘थाहानगरमा पर्यटकहरु जोडोको तुलनामा गर्मी महिनामा बढि आउछन्’ गुर्जुधारा होमस्टेका सञ्चालक एवं स्थानीय समाजसेवी बुद्धरत्न मानन्धरले भने, ‘जति गर्मी बढ्दै जान्छ, त्यतिकै अनुपातमा चित्लाङमा शितलताका निम्ति पर्यटक आउने गर्छन् ।’ सधैँ चिसो र ठण्डा हुने चित्लाङमा थानकोटबाट केबलकार र पैदलै पुग्न पनि सकिन्छ । काठमाण्डौंबाट चित्लाङ प्रवेश गरेका पर्यटकहरु, मार्खु, बज्रवाराही कुन्छाल टिष्टुङ तथा दामन र आग्रासम्म पुग्छन् । यहाँका अधिकांश होमस्टे र रिसोर्टले पाहुनालाई अर्गानिक वस्तु मात्र खान दिन्छन । 

थाहा होटल एशोसिएशनका अनुसार नगरमा साना ठूला गरी २ सय ५० होटल तथा रिसोर्ट रहेका छन् ।यद्यपि एशोसिएशनमा १ सय ४० मात्र आवद्धता रहेको महासचिव केसीले जानकारी दिए ।  
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०