Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

नौ महिनामा ३० गैँडा मरे

gaida1-1618724442.jpg

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैँडा मृतावस्थामा फेला परेको थियो । गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए । तीन महिना बाँकी रहँदा गत वर्षभन्दा बढी गैँडा मरेपछि निकुञ्जले गैँडा मर्नुको कारण पत्ता लगाउन समिति नै बनाएर काम गरिरहेको छ ।

प्राकृतिक कारणले मरेका गैँडा बूढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेरलगायतका कारणले मर्ने गरेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी हुँदा मृत्युदर बढेको अनुमान गरिएको छ । हालै गैँडा गणना भएपछि कुन क्षेत्रमा कति गैँडा छन् भन्ने यकिन तथ्याङ्क आइसकेको छैन ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले तथ्याङ्क निकालेपछि आवश्यक भएमा आन्तरिक स्थानान्तरणसमेत गरिने बताए । 

चोरी शिकारी नियन्त्रणका लागि निकुञ्ज लागिपरेको छ । केही तस्करीमा संलग्न पक्राउ परेपछि थप चोरी शिकार हुन पाएको छैन । गत वर्ष चोरी शिकार शून्य रहेको थियो । 

बरालले प्राकृतिक कारणबाट मर्ने सङ्ख्या पनि घटाउने प्रयास जारी रहेको जानकारी दिनुभयो । सन् २०१५ पछि यस वर्ष गैँडा गणना गरिएको हो । यस वर्षको गणनामा यस निकुञ्जमा ६९४ गैँडा भेटिएका थिए । यसअघिको गणनामा यो सङ्ख्या ६०५ मात्रै रहेको थियो । त्यसपश्चात स्नानान्तरण र चीनलाई उपहार दिइएको भए पनि सङ्ख्या भने वृद्धि भएको छ ।
 
बाढीबाट केही गैँडा बगेर भारत पुगेको अनुमान छ । भारतबाट १० वटा गैँडा फिर्ता ल्याइएको भए पनि अझै केही गैँडा भारतीय भूभागमा रहेको अनुमान गरिएको छ । आशा गरेअनुसार गैँडाको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित छन् ।रासस



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०