Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

देउखेलमा पोषिलो जाउलो प्रदर्शन

मकवानपुरको आग्रा गाविस—२ देउखेलमा ६ महिना माथिका शिशुलाई खुवाउने पोषिलो जाउलो प्रदर्शन गरिएको छ । 
टियरफण्डको आर्थिक सहयोगमा बाल कल्याण समाज मकवानपुरले स्थानीय समुदायका सुत्केरी महिलाहरुलाई सहभागी गराई पोषिलो जाउलो प्रदर्शन गरेको हो । कार्यक्रममा ६ महिनाबढी उमेरका बालबालिकालाई खुवाइने पोषिलो जाउलो बनाउन आवश्यक सामग्री जुटाई पकाउने तरिका र खुवाउने तरिकाबारे समेत जानकारी गराइएको थियो । 
२५ सुत्केरी महिलासहित उनीहरुको परिवारका अन्य सदस्य र स्थानीयले पोषिलो जाउलो प्रदर्शनीमा सहभागिता जनाएका थिए ।
कार्यक्रममा हरियो सागपात, अण्डा, गेडागुडी, घिउ आदि पोषणयुक्त सामग्राी जुटाएर सहभागीहरुकै बीच जाउलो तयार पारिएको थियो । तयार जाउलो स्थानीयले चाखेपछि निकै स्वादिलो भएको बताएका थिए । 
कार्यक्रममा  बच्चालाई खुवाइने सामान्य जाउलो र हरियो सागपात, पहेलो फलफुल, अण्डा, गेडागुडी राखी बनाएको जाउलोको भिन्नता बारेमा पनि जानकारी गराइएको थियो । सहभागीहरुलाई बाल कल्याण समाजका सहजकर्ताहरुले जाउलो बनाउने तरिका र बच्चालाई खुवाउने तरिकाबारे जानकारी गराएका थिए । उनीहरुले पोषणयुक्त जाउलो बनाउन चाहिने आवश्यक सामग्री, बनाउने तरिका र यसबाट हुने फाइदाका विषयमा  जानकारी गराएका थिए । 
सोही अवसरमा गर्भवति तथा सुत्केरी अवस्थामा ध्यान दिनु पर्ने तरिका, स्तनपानको महत्व तथा स्तनपान गराउने तरिका, मातृ तथा शिशु स्याहारसम्बन्धी भिडियो समेत देखाइएको बाल कल्याण समाजकी सुपरभाइजर उमा कार्कीले बताइन् । यस्तै कार्यक्रम बिहीबार आग्रा ८ छापमा आयोजना गरिने बाल कल्याण समाजकी सामाजिक परिचालक ज्ञानु सापकोटाले बताइन् । 
शिशुहरु ५–६ महिना पुगेपछि आमाको दूधको साथ लौहतत्व, भिटामिन ‘सी’, ‘ए’ भएको खानेकुरा दैनिक खानामा समावेश गर्नुपर्ने र यसमा सफा र उपयुक्त तवरले तयार पारेको लिटो, सर्वोत्तम पीठो, नरम पारी बनाएको जाउलो दैनिक खानामा समावेश गर्न सकिने स्वास्थ्यकर्मीहरुको सुझाव छ ।
गाउँघरमा जाउलोको सामग्री सजिलै पाउन सकिने भएकाले यससम्बन्धी जानकारी दिइएको बाल कल्याण समाजले जनाएका छ  । जाउलो बनाउँदा अन्न तथा दालका साथै हरियो सागसब्जी मसिनो गरी काटेर मिलाई बच्चाले खान सक्ने किसिमको नरम हुनुपर्छ । यसरी तयार पारेको जाउलोबाट आवश्यक शक्ति, प्रोटिन पाउनुको साथै भिटामिन र लौहतत्व प्राप्त गर्न सकिन्छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०