Sunday, 17th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

दूरबिनको अभाव र जीर्ण संरचनाकै बीच दामन रिसोर्ट र भ्युटावर पुनः सञ्चालनको तयारी, एक वर्षलाई ठेक्का आह्वान

tower-1629725717.jpg

दूरबिनको अभाव र जीर्ण संरचनाकै बीच मकवानपुरको थाहा नगरपालिकाले दामनस्थित भ्युटावर र रिसोर्ट पुनः सञ्चालनको तयारी गरेको छ । यसको लागि नगरपालिकाले एक वर्षका लागि ठेक्का आह्वान गरेको छ । 

स्थानीय तहमा जनप्रतिनिधि आउनेवित्तिकै थाहा नगरपालिकाले स्थानीय तह निर्वाचनको पहिलो वर्ष नै ठेक्का आव्हान गरी हेटौँडाको प्रकाश होटल इन्टरनेशनललाई ५ वर्षका लागि ठेक्का दिएको थियो । तर सम्झौता अवधि पूरा नहुँदै नगरपालिका र प्रकाश इन्टरनेशनलबीचको ठेक्का सम्झौता भङ्ग भएपछि बाँकी एक वर्षका लागि नगरपालिकाले ठेक्का आह्वान गरेको हो । प्रकाश होटलसँग ५ वर्षका लागि ठेक्का सम्झौता भए पनि सो रिसोर्ट र भ्युटावर दुई वर्षदेखि बन्द रहेको छ । 

भ्युटावरमा दूरबिन राखिदिन नगरपालिकालाई पटकपटक आग्रह गरे पनि नगरपालिकाले सोको बेवास्ता गर्दा दामन रिसोर्ट सञ्चालन गर्न समस्या भएको प्रकाश होटल इन्टरनेशनलले जिकिर गर्दै आएको थियो । पछिल्लो दुई वर्ष कोरोना महामारीका कारण लकडाउन हुँदा व्यवसाय नै चौपट भएपछि अन्ततः बक्यौता भाडा बुझाएर प्रकाश होटलले भ्युटावरबाट हात झिक्यो  । अहिले नगरपालिकाले यथावस्थामा नै रिसोर्ट तथा भ्युटावर सञ्चालन गर्नेगरी ठेक्का आह्वान गरेको छ । 

न्यूनतम अङ्क ३ लाख २० हजार रुपियाँ कायम गरी एक वर्षका लागि दामन रिसोर्ट तथा भ्युटावर भाडामा दिन ठेक्का आह्वान गरिएको थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले जानकारी दिए । 

रिसोर्ट र भ्युटावर सञ्चालनको ठेक्का पाउने व्यवसायीले भ्युटावर, किचेन, स्टोर, रेष्टुरेण्ट र भ्युटावर अगाडिको हल मात्र प्रयोग गर्न पाउने नगरपालिकाले जनाएको छ । ‘यसअघि प्रयोगमा रहेका बेड रुम(लज) प्रयोग गर्न नपाउनेगरी निर्णय भएको छ’ उपप्रमुख गोपालीले भने । 

यसअघि नगरपालिकाको कुनै प्रकारको बाँकी वक्यौता रहेको व्यतिm, फर्म वा कम्पनीहरु बोलपत्रमा भाग लिन नपाउने बोल पत्रको सूचनामा जनाइएको छ । रिसोर्ट र भ्युटावर सञ्चालनका क्रममा बिधुत महसुल र पानी महसुल व्यवसायीले नै बुझाउनु पर्ने र रिसोर्ट सुरक्षाको लागि मुलगेटमा पालेको व्यवस्था अनिवार्य रुपमा व्यवसायी स्वयम्ले नै गर्नुपर्ने नगरपालिकाले जनाएको छ । 

वि. सं. २०२१ सालमा निर्माण गरिएको दामन भ्युटावर लामो समय केन्द्रीय सरकारको मातहत रहेकोमा पछिल्लो समय तत्कालीन जिल्ला विकास समिति हुँदै स्थानीय नगरपालिका मातहत आएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०