Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

दामन–सीमभञ्ज्याङ : कुहिरोमुनि हिउँ खेल्नेको धुइरो

Hiu-ma-1640772913.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र दामन–सीमभञ्ज्याङमा बिहानैदेखि परेको हिमपात, वर्षा र कुहिरोको लुकामारी चलिरहेको छ । आकाश कुहिरोले ढाकेको छ । त्यही कुहिरोमुनि सेताम्मे हिउँमा रमाउन सौन्दर्यप्रेमीहरुको भने धुइरो लाग्न थालेको छ ।

दिनमा हिउँ परेकोले सौन्दर्यप्रेमीहरुले ताजाताजा हिउँ खेल्ने अवसर पाएका छन् । ‘दामन–सीमभञ्ज्याङको मनमोहक दृश्यसँगै हिउँ खेल्नुको मजा नै बेग्लै’ भन्दै स्थानीय युवाहरु वर्षाको परवाह नगरी दामनतर्फ हुइँकिरहेका छन् । थाहानगरको बेँसीभागमा वर्षामात्र भएको र वरपरका डाँडामा हिउँ परेर सेताम्मे भएको देखेपछि स्थानीयहरुको मन लोभिएको छ । अन्य डाँडाहरुमा पनि हिउँ परेको भए पनि दामन–सीमभञ्जयाङ क्षेत्रमा पुग्न तथा खाजानास्ताको लागि समेत सहज हुने भएकोले स्थानीयहरु पनि दामन–सीमभञ्ज्याङतर्फ नै जाने गर्दछन् ।

अघिल्ला वर्षहरुमा दामन क्षेत्रमा हिमपात हुँदा काठमाण्डौँ क्षेत्रका पर्यटकहरु धेरै आउने गरेको भए पनि यस वर्ष काठमाण्डौँ वरपरकै डाँडामा र विशेषगरी चन्द्रागिरीमा हिउँ परेकोले दुरीका हिसाबले उनीहरु दामन आइपुग्ने सम्भावना कम छ । तर हेटौँडा र तराई क्षेत्रका पर्यटकहरु भने सीमभञ्ज्याङसम्म आउन थालिसकेको स्थानीय जीतबहादुर थोकरले थाहाटाइम्सलाई जानकारी दिए । 

१४ पुसमा बिहानैदेखि परेको हिमपातका कारण त्रिभुवन राजपथको सुनगाभा होटल क्षेत्रदेखि अघोरसम्मको झण्डै १५ किलोमिटर खण्ड हिउँले छोपिएको छ । सडकमा जमेको हिउँमाथि सवारी चलाउनु जोखिमपूर्ण हुने भएकोले पर्यटकहरु हिउँ क्षेत्रको सीमामा सवारी राखेर पैदल हिँड्दै हिउँ खेल्ने गरेका छन् ।

हिउँपारखी पर्यटकहरुको  खाने–बस्ने ‘प्लान’ बनेमा दामन–सीमभञ्ज्याङ क्षेत्रमा झण्डै दुई दर्जन सानाठूला सुविधायुक्त होटलहरु रहेका छन् । हिउँ खेल्न आएका पर्यटकहरुलाई ‘आतिथ्यता’ महशुस हुनेगरी सेवा प्रदान गर्न थाहा होटल एशोसियसनका अध्यक्ष शिवकुमार खत्रीले थाहाटाइम्समार्फत् आह्वान गरेका छन् ।  होटलहरु पहिले नै ‘बूक’ हुन सक्ने भएकोले बस्नुपर्ने भएमा अग्रिम सक्पर्क गर्न पनि उनको आग्रह छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०