Saturday, 18th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

दशैंको मुखमा थपियो थाहानगरका विद्यालय कर्मचारीको तलब, संघीय बजेटमा नगरपालिकाको ४८ लाख थप

Money-paisa-rakam_NYfiuAl-1633431925.jpg

थाहा नगरपालिकाले सामुदायिक विद्यालयका लेखापाल, बालविकास सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीको मासिक तलबमा संघीय सरकारले पठाएको बजेटमा थप गरी उपलब्ध गराउने भएको छ । 

तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारले विद्यालय कर्मचारीको तलब रु. १५००० पु¥याउने घोषणा गरे पनि चालु आर्थिक वर्षका लागि संघीय सरकारले लेखापालको मासिक रु. १३५००, बाल विकास सहयोगी कार्यकर्ताको ८००० र कार्यालय सहयोगीको ८००० का दरले थाहा नगरपालिकामा बजेट पठाएको थियो । सोही अनुसार निकासा भइसकेको अवस्थामा १९ असोजमा बसेको थाहा नगरपालिका शिक्षा समितिको बैठकले नगरपालिकाले छुट्याएको बजेट बाँडफाड गरी थप रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

‘संघीय सरकारले उपलब्ध गराएको शिक्षक तथा कर्मचारीहरुको तलब निकासा भइसकेको थियो, त्यसमा नगरपालिकाले छुट्याएको बजेट बाडफाँड गरेर  थप रकम भोलि नै निकासा गर्ने निर्णय भएको छ,’ शिक्षा समितिका संयोजक एवम् वडा नम्बर ६ का वडाध्यक्ष शशिधर सुवेदीले थाहा टाइम्ससित भने । उनका अनुसार नगरपालिकाको तर्फबाट लेखापाललाई रु. १५००, बाल विकास सहयोगी कार्यकर्तालाई रु. ४००० र कार्यालय सहयोगीलाई रु. २००० थपिएको छ । यसरी अब थाहा नगरपालिकामा  सामुदायिक विद्यालयको लेखापालको मासिक तलब रु. १५०००, बाल विकास सहयोगी कार्यकर्ताको रु. १२००० र कार्यालय सहयोगीको रु.१०००० पुगेको छ । 

केपी ओली नेतृत्वको सरकारले विद्यालय कर्मचारीको मासिक पारिश्रमिक रु. १५००० पु¥याउने घोषणा गरिसकेकोले सोही अनुसार सम्पूर्ण रकम संघबाटै पठाउनुपर्ने र स्थानीय तहलाई थप व्ययभार थोपर्न नहुने भन्दै नेपाल नगरपालिका संघले ‘लविङ’ गरिरहेको छ । थाहा नगरपालिकामा विद्यालय कर्मचारीलाई मासिक रु.१५००० का दरले पारिश्रमिक उपलब्ध गराउन नगरपालिकाको बजेटबाट रु एक करोड १४ लाख छुट्याउनुपर्ने थियो । ‘सोअनुसार बजेट विनियोजन गर्न नगरपालिकाको श्रोत नभएकोले अन्तिम ‘आवर’मा ४५ लाख बजेटचाहिँ छ्ट्याएका थियौँ, अहिले दशैंको मुखमा बाँडफाँड भएको छ, अब बालविकास सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीलाई पनि रु. १५००० नै पु¥याउन हामी निरन्तर पहल गर्नेछौँ,’ शिक्षा विकास समितिका संयोजक सुवेदीले भने । 

विद्यालय कर्मचारीको तलबका लागि चालु आर्थिक वर्षमा थाहा नगरपालिकाले रु. ४५ लाख बजेट छुट्याएकोमा त्यसमा रु. ३ लाख थपेर एउटा  ‘रेसियो’ मा बाँडफाँड गरिएको शिक्षा समितिले जनाएको छ । थाहा नगरपालिकामा ११ जना विद्यालय लेखापाल, ६२ जना बालविकास सहयोगी कार्यकर्ता र ५३ जना कार्यालय सहयोगी रहेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०