Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरका काेराेना संक्रमितको उपचार वीर अस्पतालमा

bbbbbbbh-1622797059.jpg

थाहा नगरपालिकामा रहेका कोरोना संक्रमितहरुको काठमाडौंमा उपचार (वीर अस्पताल) कोभिड १९ यूनिफाइड केन्द्रिय अस्पतालमा गर्ने व्यवस्था मिलाइएको छ ।

२१ जेठमा मिडिया अभियन्ता एवं समाजसेवी विष्णुहरी ढकालले केन्द्रिय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा. डा.जागेश्वर गौतमसँग भेट गरी नगरको कोरोना संक्रमित उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । ढकालले थाहा नगरमा संक्रमण बढ्दै जाँदा स्थानीय स्रोत र साधनले धान्न नसक्ने स्थिति आएकाले नगरका संक्रमितलाई काठमाडौंमा उपचारको व्यवस्था गरिदिन प्रा.डा.गौतमलाई आग्रह गरे ।

प्रा.डा.गौतमले काठमाडौं ल्याइएका थाहाका संक्रमितलाई सकेसम्म वीर अस्पताल तथा त्यहाँ बेड खाली नभएको अवस्थामा उपत्यकाका अन्य अस्पतालहरुमा समन्वय गरी उपचारको व्यवस्था मिलाउने वचन दिएका छन् ।

भेटमा ढकालले कोरोनाबाट नगर दिनानुदिन प्रभावित हुँदै गएकाले जनशक्तिका साथै मेडिकल सामग्रीको पनि अभाव रहेको जानकारी गराउँदै आवश्यक मेडिकल सामग्री उपलव्ध गराइदिन पनि अनुरोध गरे । जवाफमा प्रा.डा. गौतमले बिरामीको सहज उपचार व्यवस्थापनकै लागि आफू केन्द्रीय अस्पतालमा लागि परेको जानकारी दिंदै मेडिकल सामग्री उपलव्ध गराउन पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

थाहा नगरबाट संक्रमितलाई काठमाडौं लैजान परे त्यसको व्यवस्थापन गर्ने गरी ढकाललाई नगरपालिकाले फोकल पर्सनको जिम्मेवारी दिएको छ ।

हाल थाहा नगरमा ५ बेडको कोरोना अस्पताल, २० बेड क्षमताको आइसोलेशन, मेडिकल अधिकृत २ जनासहित केही स्वास्थ्यकर्मी रहेका छन् भने अक्सिजनका लागि ५ वटा अक्सिजन कन्सन्ट्रेटर, साना ठूला गरी ३० वटा अक्सिजन सिलिण्डर, ६ वटा एम्बुलेन्स तयारी अवस्थामा छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०