Sunday, 17th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा यसरी मनाइयो हिलेजात्रा (हेर्नुहोस् फोटोहरु)

hile2-1629901021.jpg

थाहा नगरपालिकामा हरेक बर्ष जस्तै यस वर्ष पनि गाई जात्राको पर्सीपल्ट मनाइने हिलेजात्रा मनाइएको छ । कोभिड–१९ को महामारीका कारण अघिल्लो वर्ष रोकिएको हिलेजात्रा यस वर्ष सामान्य ढङ्गले मनाइएको इन्द्रायणी भगवती कालाभैरव संरक्षण गुठीले जनाएको छ । 

भाद्र कृष्णपक्ष तृतीयाका दिन थाहा नगरपालिका–३ घट्टेचौरमा भव्यरूपमा हिलेजात्रा लाग्ने गरेकोमा यस वर्ष विधि मात्र पु¥याएर जात्रा सम्पन्न गरिएको हो । जात्रामा स्थानीय नेवार समुदायले परम्परागत झाँकी, नाच र बाजासहित प्रदर्शन गरेका थिए । 

मल्लकाल देखि शुरु भएको मानिएको यो जात्रामा खेतीपाती, देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको परम्परागत नृत्य, लाखेनाच र धान रोपाइँको अभिनय र प्रहसन गरिन्छ । यसरी जात्रा गर्दा स्थानीयहरुको उल्लेख्य भीड लाग्ने गरेको भए पनि यस वर्ष कोरोना महामारी र निषेधाज्ञाका कारण मानिसहरुको भीड थिएन । यद्यपि केही व्यक्तिहरुले स–साना पसल भने राखेका थिए । 

हिलेजात्रा कहिलेदेखि मनाउने थालियो भन्ने एकीन नभए पनि थाहा नगरमा मनाइने हिलेजात्राको प्रसङ्ग मल्लाकालीन नेवार जातीको खेतीकर्म र पौराणिक कालको देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको स्थानीय शम्भुभक्त नापित बताए । 

धेरै पहिलेदेखि धान खेती गर्दै आएको थाहा नगरको टिष्टुङ–पालुङ क्षेत्रमा धान रोपेर सकेपछि फुर्सदमा रहेका नेवार समुदायले रोपाइको अभिनय गरेर मनोरन्जन गर्ने गरेको उनको भनाइ रहेको छ । जात्रामा गणेश, इन्द्रायाणी, कुमारी र कालाभैरबको रुपमा देउता नचाउने गरिन्छ ।

खासगरी महादेव र देवासुरबीच महासङ्ग्राम भएको र अन्त्यमा देवासुरले भाद्र कृष्ण तृतीयाका दिन घुँडा टेकेकोले सोही दिनलाई आधार मानी जात्रा मनाउन शुरु गरिएको किंवदन्ती रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०