Wednesday, 1st July, 2026
वि.स.

थाहानगरस्तरीय बालअधिकार समिति गठन

crc-1629988465.jpg

थाहा नगरपालिकामा नगरस्तरीय बाल अधिकार समिति गठन गरिएको छ । १० भदौमा थाहानगरको थानाबजारस्थित गंगा होटलमा भएको सरोकारवालाहरु सहभागी कार्यक्रमबाट नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीको संयोजकत्वमा नगरस्तरीय बाल अधिकार समिति गठन गरिएको हो । 

बागमती प्रदेश बालबालिकासम्बन्धी ऐन, २०७६ अनुसार गठन गरिएको बालअधिकार समितिमा  स्वास्थ्य, सुरक्षा, महिला, बालबालिका, सामाजिक क्षेत्र लगायतको प्रतिनिधित्व रहेको छ । समितिमा इलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्रीराम तिमल्सिना, प्राथमिक स्वास्थ्य केन्द्र पालुङका प्रमुख डा. शक्ति चौरासिया, नगरपालिका महिला, बालबालिका, ज्येष्ठ नागरिक शाखा प्रमुख प्रतिमा मोक्तान, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, मनोविमर्शकर्ता तुलसा विष्ट, सहकारीकर्मी सुमित्रा बिडारी, दामन चेली समाजकी अध्यक्ष जयन्ती रायमाझी, बालअधिकारकर्मी सुदन विश्वकर्मा, बाल क्लबकर्मी कृति थापा सदस्य रहेका छन् । सदस्य सचिब थाहा नगरपालिका सामाजिक विकास शाखा अनिल लामिछाने रहेका छन् ।


नवगठित बाल अधिकार समितिका पदाधिकारीलाई १० भदौमै क्षमता अभिवृद्धि तालिमसमेत प्रदान गरिएको छ । प्रदेश बालअधिकार समिति सदस्य झविन्द्र ज्ञवालीले पदाधिकारीहरुलाई तालिम प्रदान गरेका हुन् । प्लान इन्टरनेशनलको सहयोग, थाहा नगरपालिकाको समन्वय र राडो नेपालको आयोजनामा भएको तालिमको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख खड्गबहादुर गोपाली, नेकपा एमालेका सुरेन्द्रमान प्रधान, नेपाली काँग्रेसका नवराज लामा, नेकपा माओवादी केन्द्रका संग्राम विष्ट, जनता समाजवादी पाटीका इन्द्रबहादुर श्रेष्ठ, राडो नेपालका राजेन्द्र लामा लगायतको सहभागिता रहेको थियो । 

यसैबीच थाहा नगरपालिका बालअधिकार समितिको पहिलो बैठक १० भदौमै बसेको छ । बैठकले नगरका सबै  भूगोललाई समेटेर बालअधिकार समिति विस्तार गर्ने, वडास्तरीय बालअधिकार समिति गठन गर्ने, समितिको बैठक सञ्चालन कार्यविधि निर्माण गर्ने लगायतको निर्णय गरिएको समितिका सदस्य सचिब अनिल लामिछानेले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०