Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा ७० किलोको काउली, ३५ किलोको आलु(फोटो फिचरसहित)

cauli5-1627878117.jpg

बेमौसमी तरकारी खेतीका लागि नेपालमै चर्चा कमाएको मकवानपुरको पालुङमा कृषि उपजको प्रतीकको रुपमा काउली र आलु स्तम्भ निर्माण गरिएको छ । थाहा नगरपालिका वडा नम्बर ४ स्थित नयाँगाउँमा त्रिभुवन राजपथकै छेउमा काउली स्तम्भ निर्माण गरिएको हो । स्तम्भमा एउटा ७० किलोको कृत्रिम काउलीसँगै ३५/३५ किलोका दुईवटा कृत्रिम आलु राखिएका छन् । 

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा काउली स्तम्भ निर्माण गरिएको हो ।  स्तम्भमा राखिएको कृत्रिम काउली र आलु इटहरीका कालीगढले तयार पारेको निर्माण समितिका अध्यक्ष विनोद केसीले बताए । ‘इटहरीमा निर्माणको ‘अर्डर’ गरेर  करिब रु. छ लाखमा काउली र आलु ल्याइएको हो,’ उनले भने । 

थाहा नगरपालिका आउने पर्यटकहरुलाई नगरपालिकाको मुख्य पेशागत पहिचानबारे जानकारी दिन र पर्यटन प्रर्वधन गर्न काउली स्तम्भ निर्माण गरिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले  बताए । काउली र आलु स्तम्भ निर्माण गर्दा कृषि र पर्यटन दुबैको प्रवर्धनमा सहयोग पुग्ने उनको विश्वास छ । थाहा नगरपालिकाले कृषि, पर्यटन र पूर्वाधारलाई नगर विकासको आधार बनाएको उनको भनाइ रहेको छ । 

समुद्र सतहदेखि करिब १८०० मिटरको उचाइमा त्रिभुवन राजपथको छेउ थुम्कामा स्तम्भ राखिएको छ । स्तम्भसम्म पुग्न सिँढी बनाइएको छ । करिब ९ फिटको स्तम्भमा ५ फिट लामो काउली राखिएको अध्यक्ष केसीले जानकारी दिए । काउली हरियो पातसहित फक्रक्क फुलेको अवस्थामा देख्न सकिन्छ । 

काउली स्तम्भ तयार भएपछि त्रिभुवन राजपथ भएर गुडिरहेका सवारीका यात्रुहरु सवारी रोकेर स्तम्भमा जाने र ‘सेल्फी’समेत खिच्ने गरेको स्तम्भसँगै रहेको स्टार खाजा घरका सञ्चालक राजकुमार पन्थले बताउनुभयो । सो क्षेत्रबाट थाहा नगरपालिकाको पालुङ क्षेत्रका हरिया फाँट तथा बस्तीहरु देख्न सकिन्छ । स्तम्भनजिकै थाहा आन्दोलनका प्रणेता स्वगीय रुपचन्द्र विष्टको स्मृतिमा निर्माण गरिएको थाहा पार्कसमेत रहेको छ । नजिकै रिसोर्ट र होटलहरु समेत रहेका छन् । 

स्तम्भ निर्माण गरिएको थुम्कामा बर्षाका कारण क्षति पुग्न सक्ने र स्तम्भलाई समेत क्षति पुग्न सक्ने भएकोले त्यसतर्फ नगरपालिकाको ध्यान जानुपर्ने  ऋषेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिरेन्द्र रायमाझीले बताए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०