Monday, 24th August, 2026
वि.स.

थाहानगरमा ६ असारमा जाँचिएन कोरोना, प्रतिवेदन भन्छ सून्य सून्य सून्य !

corona-test-thahatimes-1624208656.jpg

'केही खुकुलो' गर्दै जिल्ला प्रशासन कार्यालय  मकवानपुरले ७ असारसम्मका लागि जारी गरेको निषेधाज्ञाको अटेर गर्दै थाहा नगरपालिकामा झण्डै 'पूरै खुकुलो' जस्तो देखिँदै आएको थियो । निषेधाज्ञा पालना गराउने र भिडभाड नियन्त्रण गर्ने काम प्रहरीको मात्र कामजस्तो ठानिएको यहाँ पछिल्लो समय 'कसैलाई कोरोना नजाचौँ, निषेधाज्ञा हटाऔँ' भन्ने कोणबाट चियागफ हुन थालेका छन् । नगरपालिकाले सार्वजनिक गरेको ६ असारको प्रतिवेदनले पनि यस्तै देखाएको छ । 

६ असारमा थाहा नगरपालिकाले सार्वजनिक गरेको कोभिड–१९ सँग सम्बन्धित दैनिक प्रतिवेदनमा पछिल्लो २४ घण्टामा नगरपालिकाभित्र कुनै पनि व्यक्तिमा कोरोना जाँच गरिएको छैन । पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर दुबै विधिबाट कोरोना जाँच नगरिएको नगरपालिकाको प्रतिवेदनले देखाएको छ  । आवश्यकता नभएर वा प्राविधिक कारण के हो भन्नेचाहिँ प्रतिवेदनमा खुलाइएको छैन । 

गत १० बैशाखयता थाहा नगरपालिकामा कुनै दिन पनि कोरोना जाँच रोकिएको थिएन, र जाँच गरिएकामध्ये कोरोना सङ्क्रमित नभेटिएको पनि दिन नै थिएन । ६ असारलाई छोडेर गत एक साताको आँकडा हेर्दा नगरमा सङ्क्रमण दर घटेको थिएन । गत ३० जेठमा कोरोना जाँच गरिएकामध्ये ५४ प्रतिशतमा पोजिटिभ देखिएको थियो भने ३१ जेठमा ५० प्रतिशतमा कोरोना देखिएको थियो । 

त्यसैगरी १ असारमा साताकै सबैभन्दा बढी सङ्क्रमण दर रहेको थियो । सोदिन ८६ प्रतिशतमा कोरोना देखिएकोमा २ असारमा २९ प्रतिशत, ३ असारमा ६० प्रतिशत र ४ असारमा ७४ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ५ असारमा ४६ प्रतिशत सङ्क्रमण दर थियो । 

पछिल्लो समय जारी निषेधाज्ञाले भेला बैठक गर्न पूर्ण रोक लगाए पनि वित्तीय संस्थाहरुले समूह बैठक गर्नेसमेत छोडेका थिएनन् । बजार कुनै न कुनै रुपमा खुलेकै थियो । बजार खुकुलो हुँदै जाँदा कोरोना जाँचको औचित्य नहुने देखेर कतै कोरोना परीक्षण नै बन्द त गरिएको होइन भन्ने प्रश्न पनि उब्जिएको छ । 

यसैबीच जिल्ला प्रशासन कार्यालयले एक साता निषेधाज्ञा थपिएको आदेश जारी गरेको छ । थाहामा अब कसरी जाने भन्ने सन्दर्भमा ७ असारमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको बैठक बस्दैछ । अहिले थाहामा ४६० जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif