Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा स्वरोजगार बढाउन ‘कासेली घर’ सञ्चालनको तयारी

banner__1622811875-1623131734.jpg

स्थानीय परम्परागत उत्पादनलाई प्रवर्धन गरी स्वरोजगार वृद्धि गर्न मकवानपुरको थाहा नगरपालिकामा ‘कोसेली घर’ सञ्चालनको तयारी गरिएको छ । कोशेली घरको लागि पूर्वाधार निर्माण भइसकेको र अब कोरोना भाइरसको महामारी कम हुनेवित्तिकै थप तयारी गरेर सञ्चालनमा ल्याइने नगर प्रमुख लवशेर बिष्टले बताए ।

थाहा नगरपालिकाले नगरको स्थानीय सीप र उत्पादन प्रवर्धन गर्न आफ्नै पहलमा कोसेली घर निर्माण गरेको हो । थाहा–४ नयाँगाउँमा निर्मित रुपचन्द्र विष्ट स्मृति भवनमा प्रदेश सरकारसमेतको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याउन लागेको नगरपालिकाले जनाएको छ ।

स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले उत्पादन गरेका विभिन्न वस्तुलाई बजारमा उपलब्ध गराउने उद्धेश्यले कोसेली घर सञ्चालनमा ल्याउन लागिएको थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए । प्रमुख प्रशासकीय अधिकृत पुरीका अनुसार कोसेली घरमा थाहा नगरपालिकाका स्थानीय घरेलु तथा साना उद्यमीले उत्पादन गरेका सेरामिक्स सामग्री, बाँसबाट बनेका सामग्री, क्रिष्टलका गहना, हातले बुनेका स्वेटर, झोलालगायत विभिन्न सामग्री, ‘गिफ्ट’का सामग्री र घरेलु उत्पादित बिभिन्न खाद्य सामग्रीहरु राखिने छ । त्यसैगरी कोसेली घरमा नगरको परिचय झल्काउन मौलिक काष्ठकला, नेपाली कागजका हस्तकला, घरबुना कपडाका पुतली, खेलौना, टोपी, टाइचिन चिउरा बिक्रीबितरणका लागि राखिने छन् ।  धातु तथा ढलौटका कलाकृति, चित्रकला, खुकुरी, मुकुन्डो, माटोबाट बनेका क्युरियो सामग्रीसमेत कोसेली घरमा राखिनेछन् । 

नगरपालिकाका साना उद्यमीले घरमै बसेर उत्पादन गरेका वस्तुलाई नगरपालिकाले किनिदिने र कोसेली घरमा राखेर बिक्री गरिने नगर प्रमुख विष्टको भनाइ छ । यसरी स्थानीय उद्यमीहरुबाट सामान किन्दा उनीहरुलाई ५० प्रतिशत रकम किनेकै बखत उपलब्ध गराउने र बाँकी बिक्री भएपछि उपलब्ध गराउने नगरपालिकाको तयारी छ । कोसेली घरमा राखिने वस्तुहरुको उत्पादनका लागि स्थानीय साना उद्यमीहरुलाई आवश्यक तालिम र परामर्श सेवासमेत प्रदान गरिने नगरपालिकाले योजना बनाएको छ । 

थाहानगरका मौलिक एवम् परम्परागत घरेलु उत्पादनको एकीकृत बजार प्रवद्र्धन गर्न कोसेली घरले सघाउ पुग्ने विश्वास नगर प्रमुख विष्टको विश्वास छ । नगरका मौलिक तथा परम्परागत पहिचान दिने सामग्रीहरु एकै ठाउँमा पाइने भएपछि नगर बाहिरबाट आउने पर्यटकहरुलाई ‘कोसेली ’ लैजान सजिले हुने उनले बताए ।

कोसेली घर सञ्चालनमा आएपछि साना उद्यमीहरुका लागि प्रोत्साहन मिल्ने थाहानगर उद्योग वाणिज्य संघका सभापति कविराज खत्रीले बताए । कोसेली घरले स्थानीय उत्पादनको बजारीकरणमा सहज हुने र नयाँ उद्यमीहरु समेत थपिने उनको विश्वास छ ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०