Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा विद्यार्थीले छुट्टै परीक्षा दिनु नपर्ने, विद्यालयले नै मूल्याङ्कन गर्ने (सूचना र मापदण्डसहित)
आगामी १ असारबाट शैक्षिक सत्र सञ्चालन गरिने

Thahaa-nagarpalika-1623065940.jpg

कोरोना महामारीबीच थाहा नगरपालिकामा विद्यालय तहअन्तर्गत कक्षा एकदेखि नौसम्मको वार्षिक परीक्षा हुन्छ कि हुँदैन भन्ने अन्यौलता जारी रहेको बेला नगर शिक्षा शाखाले उक्त अन्यौलतालाई २४ जेठमा समाप्त पारिदिएको छ ।

नगर शिक्षा अधिकारी शोभाकर रेग्मीले नगरका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यार्थीहरुलाई २४ जेठमा विद्यार्थी मूल्याङ्कनसम्बन्धी परिपत्र गरेसँगै अन्यौलता हटेको हो । नगर शिक्षा अधिकारी रेग्मीका अनुसार कक्षा ८ बाहेक अन्य कक्षाहरुको विद्यार्थी मूल्याङ्कनको लागि एक मापदण्ड तयार पारिएको छ र सोबमोजिम विद्यालयहरुले  मूल्याङ्कन गरी आगामी १ असारबाट नयाँ शैक्षिक सत्र शुरु गर्नुपर्नेछ । त्यसैगरी कक्षा ८ को हकमा भने विषयगत मूल्याङ्कन फाराम र मार्कलेजर बनाई कक्षा शिक्षक, परीक्षा संयोजक र प्रधानाध्यापकबाट प्रमाणित गरी सोको प्रति नतीजा प्रकाशनअगावै नगरपालिका शिक्षा शाखामा अनिवार्य पेश गर्नुपर्नेछ । 

नगर शिक्षा शाखाले ‘थाहा नगरपालिका अन्तर्गत सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले कक्षा १–७ र कक्षा ९ सम्मको बार्षिक परीक्षा २०७७ का लागि सैद्धान्तिक अङ्कको मूल्याङ्कन गर्ने सम्बन्धमा हालको कोभिड–१९ महामारीको कारण विद्यार्थीहरुको भौतिक उपस्थिति गराई परीक्षा लिने अवस्था नरहेको’ जनाएको छ । 

नगर शिक्षा शाखाले विद्यालयहरुमा परिपत्र गरेको कक्षा ८ को मूल्याङ्कनमा विभिन्न मापदण्डहरु निर्धारण गरिएको छ । जसअन्तर्गत आवधिक मूल्याङ्कनअन्तर्गत त्रैमासिक परीक्षाको १० प्रतिशत र  अर्धवार्षिक परीक्षाको ३० प्रतिशत अङ्कमा मूल्याङ्कन हुनेछ । 

त्यसैगरी निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीअन्तर्गत् परियोजना कार्य १० प्रतिशत, कक्षा सहभागिता र गृहकार्य १० प्रतिशत, हाजिरी ५ प्रतिशत, सिकाइ व्यवहारमा परिवर्तन ५ प्रतिशत, सिकाइसम्बद्ध सिर्जनात्मक कार्यमा १० प्रतिशत गरी ४० प्रतिशत मूल्याङ्कन हुनेछ । 

बाँकी २० प्रतिशत विद्यार्थीको थप बैकल्पिक मूल्याङ्कन गरिनेछ जसमा सह–क्रियाकलाप ५ प्रतिशत, मासिक र एकाइ परीक्षा १० प्रतिशत र अनुशासन ५ प्रतिशत रहनेछ । 

विद्यार्थी मूल्याङ्कनसम्बन्धी परिपत्र र मापदण्ड फाराम यो लिङ्कमा क्लिक गरेर हेर्न सकिन्छ । हेर्नुहोस् परिपत्र :



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०