Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको चित्लाङमा मदन भण्डारी विश्व विद्यालयको शिलान्यास

Silanyas-1607868858.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङमा मदन  भण्डारी बिज्ञान  तथा प्रविधि विश्व विद्यालयको शिलान्यास गरिएको छ । विश्व विद्यालयको थाहा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष परशुराम श्रेष्ठले एक समारोहकाबीच शिलान्यास गरेका हुन् ।

प्राध्यापक डाक्टर संजयनाथ खनालको सभाध्यक्षतामा भएको विश्वविद्यालय शिलान्यास कार्यक्रममा स्वच्छन्द भैरव मावि व्यवस्थापन समितिका अध्यक्ष संजय बलामी, वडा नम्बर ९ का वडा सदस्यहरु शारदा लामिछाने, रामकृष्ण कपाली, द्वारिका बलामी तथा कल्पना वि.क.को आतिथ्यता रहेको थियो । शिलान्यास कार्यक्रममा स्वच्छन्द भैरव माविका सहायक प्रधानाध्यापक जंग बहादुर लामा, नेकपा वडा कमिटि अध्यक्ष हरिशरण नेपाल, काँग्रेस वडा सभापति सुरेश लामिछाने, स्थानीय समाजसेवी बुद्धरत्न मानन्धर, लक्ष्मण रेग्मी, अशोकसिं ठकुरी लगायतका विभिन्न संघसंस्थाका व्यक्तिहरुको उपस्थिती रहेको थियो । 

विश्व विद्यालय निर्माणका लागि चालु आर्थिक वर्षका लागि सरकारले १ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ । मकवानपुरको चित्लाङ र काभ्रेमा गरी मदनभण्डारी प्राविधिक विश्व विद्यालयका संरचना निर्माण गर्ने सरकारको तयारी छ ।

विश्व विद्यालयका विभिन्न चरणमा गरी कूल ४३ अर्ब लागत लाग्ने अनुमान छ । त्यसका लागि आवश्यक पर्ने पूर्वाधार निर्र्माण गर्न चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सो विश्वविद्यालयमा चार हजारसम्म विद्यार्थी रहने छन् । विधेयक लागू भएपछि आगामी वर्षदेखि विद्यालय सञ्चलनमा आउनेछ । 

मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान् जनशक्ति, वैज्ञानिक तथा विचारकहरुको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्ने उद्देश्यले सो विश्वविद्यालय खुल्न लागेको हो । यसका अतिरिक्त मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पनि खोल्ने सरकारको नीति छ । 

सरकारले सो विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकलाई यसअघिको संघीय संसद्को अधिवेशनमा पेश गरिसकेको छ । विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङमा रहने विधेयकमा उल्लेख छ । हाल सो स्थलमा ७ सय ४० रोगनी जग्गा पहिचान भई प्राप्तिको क्रम शुरु भएको छ ।

विश्वविद्यालय विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र, व्यस्थापन, कानून र न्यायलगायतका विषय र क्षेत्रमा केन्द्रित हुनेछ । विधेयकमा अन्य विश्वविद्यालयको भन्दा पृथकरुपमा सञ्चालनका लागि संरक्षक समिति गठनको प्रबन्ध गरिएको छ । त्यसको मातहतमा कार्यकारी परिषद् हुनेछ । कार्यकारी प्रमुखको हैसियतमा विश्वविद्यालयमा एक अध्यक्ष हुनेछन् । यो विश्वविद्यालयमा कुलपति र उपकुलपति नहुने व्यवस्था छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०