Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका किसानले बजार नपाएको भन्दै किसानले उखेलेर फाले काउली

cauli-1620539937.jpg

 निषेधाज्ञाका कारण बारीमा भएको उत्पादनले बजार नपाएको भन्दै मकवानपुरका किसानले सयौं किलो काउली उखेलेर फालेका छन् । काठमाडौंको बजारलाई लक्षित गरेर फलाइएको काउली नबिकेपछि उखेलेर अर्को बाली लगाइएको मकवानपुर थाहा नगरपालिकाका किसानले बताए ।

साढे दुई रोपनी खेतमा लगाइएको काउली नबिकेपछि उखेलेर फालिएको थाहा नगरपालिका ६ बज्रबाराहीकी किसान निर्मला बिडारीले बताइन् । काउली उखेलेर फालिएको र खेतमा अकबरे खुर्सानी लगाइएको बिडारीले बताइन् ।

‘साढे तीन रोपनीमा काउली लगाएको थिएँ, एक रोपनीको काउली मात्रै बेच्न सकेँ, बाँकी उखेलेर फ्याल्नु पर्यो’ बिडारीले फोनमा गुनासो सुनाइन् । निषेधाज्ञा शुरु हुने अघिल्लो दिनसम्म प्रतिकिलो ५० रुपैयाँमा बिक्री गरेको काउली त्यसयता व्यापारीले किन्नै नचाहेको उनको भनाइ छ ।

‘एक रोपनीमा दुई टन काउली फल्छ, काउली छिप्पिंदै जाँदा पनि नबिकेपछि मेरो मात्रै पाँच टन जति काउली उखेलेर फ्याल्नु पर्यो’ बिडारीले भनिन् ।जतिमा बिक्छ लैजाऊ भन्दा पनि व्यापारीले नकिनेपछि काउली उखेलेर खेतको डिलमा थन्क्याइएको सोही ठाउँका अर्का किसान शंकर रुम्बाले बताए ।

मकवानपुरको काउलीले मुख्य बजार पाउने समयमै किसान निषेधाज्ञाको मारमा परेको रुम्बाको दुखेसो छ । ‘निषेधाज्ञा अघि किलोमा ५० रुपैयाँ भाउ किसानले यहीँ पाएका थिए, निषेधाज्ञा सुरु भएपछि किलोको ३० रुपैयाँमा झर्यो, त्यसपछि काउली उठाउन व्यापारी आएनन्’, रुम्बाले भने ।

नियमित तरकारी लैजाने व्यापारीहरूले कालीमाटीमा बिक्नै छोडेकाले तरकारी किन्न नसकिने जवाफ दिएपछि काउली उखेल्न बाध्य भएको उनले सुनाए ।

मकवानपुर बज्रबाराहीका मात्रै झण्डै एक दर्जन किसानले खेतमा लगाएको काउली उखेलेर फ्याँकेको स्थानीय तरकारी संकलक व्यापारी राजेन्द्र बिडारी बताउँछन् । तरकारी बजार लैजान कुनै कठिनाइ नभए पनि मुख्य बजारमा तरकारी बिक्नै नसकेको उनले बताए ।

यसअघिको लकडाउनमा किसानको तरकारी बजारसम्म आउनै समस्या हुँदा बिग्रिएको चक्र यसपटक भने उपभोक्ताले खपत नगरिदिंदा प्रभावित भएको कालीमाटीका व्यवसायीहरुले बताएका छन् 

‘स्थानीयसँग तरकारी किन्ने कालीमाटी र बल्खुका व्यापारीहरूले यहाँ फाल्नुभन्दा उतै मल हुन्छ त्यहीँ फाल्नुस् भन्छन्, यस्तो अवस्थामा तरकारी बजार पठाउनै सकिएन’ बिडारीले भने, ‘सामान्य अवस्थामा यहाँको काउली बजार पठाइसकेर अर्को बाली लगाउन खेत खाली हुन्थ्यो तर यसपालि खेतमै तरकारी रह्यो । अर्को बाली लगाउन ढिलो भएपछि किसानले तरकारी फाल्नुको विकल्प देखेनन् ।’

सोही ठाउँका किसान वेदराज सुवेदी र रामबहादुर सुवेदीले पनि काउली नबिकेपछि उखेलेर खेतको आलीमा चाङ लगाएको बताए । यो सिजनको अन्तिम बालीको रुपमा मुला, काउली र मटरकोसा उत्पादन भएकोमा काउली र मुला निषेधाज्ञाको मारमा परेको उनीहरूको भनाइ छ ।

तत्काल नबिग्रिने भएका कारण मुला न्युन मूल्यमा बिक्री भइरहेको रामबहादुर सुवेदीले बताए । निषेधाज्ञा अघि ४० रुपैयाँ किलोमा बिक्ने मुला अहिले ७ रुपैयाँ किलोमा झरेको तर काउली नबिकेको उनको भनाइ छ ।

निषेधाज्ञा र असिनाको मारमा यस क्षेत्रका किसान परेको बज्रबाराहीका वडाध्यक्ष शशिधर सुवेदीले बताए । बेमौसमी तरकारीको हबको रुपमा रहेको बज्रबाराहीका किसान यसपालि धेरै नै मर्कामा परेको उनले बताए । ‘काउली त कुरै नगरौं सखापै भइहाल्यो, मुला र बन्दा समेत नबिक्ने र बिके पनि मूल्य नपाउने अवस्था किसानहरुले झेलिरहेका छन्’ वडाध्यक्ष सुवेदीले भने ।

किसानले पाँच रुपैयाँ किलोमा लैजाऊ भन्दा पनि काउली नबिकेको सोही वडाका वडा सदस्य सुनिल लामिछानेले बताए ।
अनलाइनखबरबाट



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०