Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहाको फेदीगाउँमा पुग्यो भूगर्भविदको टोली, पानी–पहिरो र भूगर्भको अध्ययन गर्दै

bhugarbha-1632025963.jpg

थाहा नगरपालिकाको ‘दुःख’ को रुपमा रहेको वडा नम्बर २ फेदीगाउँको भूगर्भको अध्ययन गर्न भूगर्भविदहरुको टोली पुगेको छ । थाहा नगरपालिकाको व्यवस्थापनमा भूगर्भविदहरु दीपक दाहाल र सुवाष आचार्यको विज्ञ टोली फेदीगाउँ पुगेको हो । 

विगतमा पटकपटक बाढीपहिरो गई धनजनको क्षति भएको र मानव बसोबासको दृष्टिले अति उच्च जोखिम रहेको फेदीगाउँमा हालसम्म भूगर्भको स्थितिबारे वैज्ञानिक अध्ययन हुन सकेको थिएन । फेदीगाउँदेखि फाँट हुँदै त्रिवेणीसम्म वैज्ञानिक तटबन्दध गरी वस्ती जोगाउन नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार पारेको भए पनि सो परियोजनामा भूगर्भको स्थिति विश्लेषणको आधारलाई नसमेटिएको पाइएपछि नगरपालिकाले डीपीआरमा संसोधन गर्नुपवर्ने आवश्यकता औँल्याउँदै भूगर्भविद बोलाएको हो । 

स्वीकृत डीपीआरको आधारमा समपुरक बजेटबाट काम गर्न चालु आर्थिक वर्षमा नगरपालिकाले फेदीगाउँ–त्रिवेणी तटबन्धन कार्यको ‘टेण्डर’ आह्वान गरिसकेको छ । सो टेण्डरको म्याद यही ६ असोजमा सकिँदैछ । चालु आर्थिक वर्षका लागि सो कार्यका लागि रु. दुई करोड बजेट विनियोजन गरिएको छ । 

भूगर्भविदले प्राविधिक जाँच गरी दिएको विवरण अनुसार डीपीआरमा संसोधन गर्नुपर्ने भए यहीबीचमा संसोधन गरिने थाहा नगरपालिकाका इन्जिनियर सन्तोष बोहोराले जानकारी दिए ।
डीपीआरमा समावेश गरिएका योजनाहरुको सम्बनधमा ‘केही सच्याउनुपर्ने’ देखिएकोले वैज्ञानिक अध्ययन गरी संसोधन गर्न राजनीतिक दलको तर्फबाट नगरपालिकालाई यसअघि पटकपटक सुझाव दिँदै आएको नेकपा एमाले थाहानगर अध्यक्ष अच्युत्तमप्रसाद ढकालले बताए । भूगर्भविदले वैज्ञानिक अध्ययनको आधारमा दिएको सुझावको आधार लिनुपर्ने भए पनि नेपालमा भूगर्भविदहरुको सङ्ख्या अत्यन्त न्यून भएकोले ढिलाइ हुन गएको नगर प्रमुख लवशेर विष्टले बताए । यसअघि अध्ययनका लागि आएको भूगर्भविदको एक टोली सम्पर्कमा आएर त्यसपछि नफर्किएको नगरपालिका श्रोतले बताएको छ । 

अहिले आएको भूगर्भविदहरुको टोलीले फेदीगाउँ क्षेत्रको जलश्रोत, पहिरोको ‘सिनारियो’ र भूगर्भको बारेमा बैज्ञानिक अध्ययन गरिरहेको छ । टोलीलाई वडा नम्बर २ का वडा अध्यक्ष गुप्तबहादुर कार्की, नेकपा एमाले थाहानगर अध्यक्ष ढकाल, माओवादी केन्द्रका नगर सचिवालय सदस्य शंकर तामाङ, स्थानीयहरु लगायतले सहजीकरण गरिरहेका छन् । 


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०