Monday, 24th August, 2026
वि.स.

थाहाका बिर्खे अञ्जानको ‘घर’ राष्ट्रिय कविता महोत्सवको दोस्रो चरणमा

birkhe-1624205882.jpg

थाहा नगरका राष्ट्रिय कवि बिर्खे अञ्जानको कविता ‘राष्ट्रिय कविता महोत्सव–२०७८’ को लागि दोस्रो चरणमा छनोट भएको छ । कवि अञ्जानको ‘घर’ शीर्षकको कवितालाई नेपाल प्रज्ञा प्रतिष्ठानले ‘राष्ट्रिय कविता महोत्सव–२०७८’ मा बाचनका लागि पहिलो चरणको मूल्याङ्कनबाट छनोट गरेको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६४ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव–२०७८ आयोजना गर्न लागेको हो । सोका लागि प्रतिष्ठानले आह्वान गरेको सूचनाअनुसार ७६४ वटा कविताहरु प्राप्त भएकोमा सोमध्ये पहिलो चरणमा छनोट गरिएका ४१ कवितामध्ये बिर्खेको कविता परेको हो । प्रतिष्ठानले सार्वजनिक गरेको सूचीमा बिर्खेका कविता छ नम्बरमा छ । 

दोस्रो चरणका लागि छनोटमा परेका ४१ कविता वाचनको कार्यक्रम आगामी ९ असारमा राखिएको छ । सोपछि अन्तिम नतीजा प्रकाशन गर्ने प्रतिष्ठानले जनाएको छ । 

मकवानपुरको साहित्यिक इतिहासमा २२ वर्षपछि मकवानपुरे कविको कविता राष्ट्रिय कविता महोत्सवको लागि छनोटमा परेको हो । यसअघि २०५४ सालमा कवि आर. आर. चाैलागाई राष्ट्रिय कविता प्रतियाेगितामा छनाेट भई द्वितीय हुन सफल भएका थिए । त्यसैगरी २०४७ सालमा थाहा नगरपालिकाकै मधुसूदन कार्कीको कविता छनोटमा परेको थियो । त्यतिबेला कवि कार्कीले तृतीय स्थानमा राष्ट्रिय कविता पुरस्कार प्राप्त गरेका थिए । 

२०७८ सालका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले कविता आह्वान गरेपछि कवि बिर्खेले गत जेठमा ‘घर’ शीर्षकको कविता पठाएका थिए । सो कविता मान्छे–मान्छेबीच बढ्दै गएको घमण्ड , लोभ र चरम महत्वाकाँक्षाको सन्दर्भमा रचना गरिएको उनले बताए । 

२०४० सालमा जन्मिएका कवि बिर्खे अञ्जानको वास्तविक नाम लक्ष्मण बर्तौला हो । विशेषगरी कविता, मुक्तक, कथा र समालोचनामा कलम चलाउने अञ्जानले दर्जनौँ राष्ट्रिय/अन्तरराष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका छन् । 
 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif