Thursday, 2nd July, 2026
वि.स.

थाहानगरका दशरथ बीस वर्षदेखि कटेरोमा बन्धक

मानसिक रोगले च्यापेपछि २० वर्षअघि पशुसरह बाँधिएका ४५ वर्षीय दशरथ कार्कीको हालत अहिले पनि उस्तै छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ आग्रा चल्तीमा फलामे साङ्लोले बाँधिएका उनलाई राख्न बेग्लै जस्तापाताले छाएको  कटेरो बनाइएको छ। देब्रे खुट्टामा बाँधिएको साङ्लो छाप्रोभित्र गाडिएको काठमा बाँधिएको छ । कार्की चाहेर पनि साङ्लो खोलेर यताउता हिँड्न सक्तैनन् । २४ सै घण्टा उनी त्यहीँ पशुझैं बाँधिएर बस्छन् । त्यही छाप्रो नै उनको संसार हो । भुइँमा काठका फ्ल्याक ओछ्याइएको छ। उनी रातमा त्यसैमा सुत्छन्, दिनमा बस्छन् । आङ छोप्ने लुगा मयलले काती परेको छ । खुट्टाहात उस्तै ।  दशरथ दिसापिसाब पनि छाप्रोभित्रै गर्छन् । त्यसका लागि प्लास्टिकको बाटा राखिएको छ । छाप्रोनजिक उनको घर छ । घरमा  बा–आमा छैनन् । दुवैको मृत्यु भइसक्यो। आमाको मृत्यु गत वर्ष मात्र भएको हो। जीवित हुँदा आमाले नै उनको स्याहारसुसार गर्थिन्। अहिले साहिँला दाजु सहदेवले त्यो जिम्मेवारी लिएका छन्। बिहान–बेलुका भात ल्याइदिने, दिसापिसाब फालिदिने काम सहदेवकै हो। ‘बा आमा बितेपछि मैले स्याहार गर्दै आएको छु’ सहदेवले भने।

दशरथ बेलाबेला सुरको कुरा गर्छन्। कहिले साङ्लो चुँडालेर दौडन खोज्छन्। दशरथका ३ दाजुभाइ २०४८ सालतिर कामको खोजीमा भारत गएका थिए। दुई वर्ष भारतमा काम गरेर दुई जना फर्के तर उनी फर्केनन्। दशरथ २०५१ सालमा घर आए। त्यतिबेलै उनमा मानसिक समस्या देखिइसकेको रहेछ। एकहोरो टोलाएर बस्ने, एक्लै कुरा गर्ने गर्थे। एक वर्ष  घर बसेर फेरि उनी हेटौंडाका सडकतिर भौंतारिए। आमाले थाहा पाएर अर्को छोरालाई लिन पठाइन्। २०५३ सालको सुरुमा घर आएका थिए। कसैले भनेको नमान्ने, छरछिमेक देखेपछि पिट्न खोज्ने, ढुंगामुढा गर्ने, भीरपाखामा दौडने र राति पनि नसुत्ने भएपछि २०५४ सालदेखि उनलाई घरकै पेटीमा डोरीले बाँधेर राखिएको थियो। डोरी पनि चुँडालेर भाग्ने, घरपरिवारका मानिस देखेपछि मनपरी बोल्ने गरेपछि उनलाई घरछेउकै बारीको पाटामा सानो जस्तापाताको टहरो बनाएर राखियो। त्यही बेलादेखि बाँधेर राखिएको स्थानीय स्वास्थ्यकर्मी चिनियाँ लामाले बताए।

घरपरिवारले उपचार नगराएका पनि होइनन्। ५ वर्षअघि उपचारका लागि राजधानीस्थित पाटन अस्पताल लगिएको थियो। डाक्टरले मानसिक रोगको औषधि दिए। नियमित रूपमा औषधि सेवन गर्दा ठिकैजस्तो देखिन्थ्यो तर औषधि नै नखाने भएकाले रोग निको हुन सकेन। ‘अस्पतालमै राखेर उपचार गर्न सक्ने हैसियत परिवारको छैन,’ स्थानीय शिक्षक नारायण कार्कीले भने, ‘साङ्लाको बन्धनमै उनको जवानी बित्यो।’ दशरथको पुरानो घर पनि भूकम्पले भत्किएको छ। परिवार पनि टहरामा छन्। ‘लामो समय भएकाले उपचार हुन्छ कि हुँदैन भन्न सकिन्न,’ स्वास्थ्यकर्मी लामाले भने, ‘गाउँ घुम्ने क्रममा दशरथको दयनीय अवस्था देखियो।’



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०