Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थानाबजारमै मालपोत कार्यालय भएर के गर्नु, थाहाकै दुई सय परिवार अझै हेटौँडा धाउन बाध्य !

Malpot-Makawanpur-1584880-1627021340.jpg

नेपालमा संघीय शासन व्यवस्था लागु भएपछि अरु सेवाजस्तै मालपोत सेवा पनि घर दैलोमै आउँछ भन्ने धेरैलाई लागेको थियो । गाउँपालिकालाई छोडेर सरकारले नगरपालिकाहरुमा मालपोत कार्यालय पनि स्थापना ग¥यो । तर बिडम्बना, थाहा नगरपालिकाका केही भेगका बासिन्दा नगरमै मालपोत कार्यालय भएर पनि सेवा लिन हेटौँडा जानु पर्ने बाध्यता रहको छ । थाहामा मालपोत कार्यालय स्थापना भएको पाँच वर्ष भैसक्दा पनि केही स्थानीयले नजिकबाट सुविधा पाउन सकेका छैनन् ।

थाहा नगरपालिकाको वडा नम्बर ४ का सीमभन्ज्याङ, जकरघारी, जुरेथुम, फापरवारी लगायत टोलका बासिन्दा अहिले पनि मालपोत सेवाको लागि हेटौँडा धाइरहनु परेको वडा नम्बर ४ का वडा अध्यक्ष दीपक सिं लामाले बताए । वडा अध्यक्ष लामाका अनुसार स्थानीय क्षेत्रबाटै मालपोत सेवा लिनबाट बञ्चित परिवारहरुको सङ्ख्या करिब दुई सय रहेको छ । 

सो स्थानहरु भीमफेदी गाउँपालिकामा नापी भएको र भीमफेदी गाउँपालिकालाई हेटौंडास्थित मालपोत कार्यालयले हेर्ने हुँदा स्थानीयहरु हेटौँडा नै धाउनु परेको हो । साविक दामन गाविस हुनुअघि ती स्थानहरु भीमफेदी गाउँपञ्चायतअन्तर्गत नापी भएको थियो । थाहा नगरपालिका साविक दामन, पालुङ, आग्रा, बज्रवाराही, टिस्टुङ र चित्लाङ गाविसहरु मिलेर बनेको हो । 

जग्गाको कारोबार गर्न हेटौँडा नै धाउनुपर्दा नगरबासी भएर पनि अन्याय भएको महशुस गरेका छौँ

नगरपालिका घोषणा भई नगरमै मालपोत कार्यालय स्थापना भएको यतिका वर्षसम्म पनि मालपोत सेवाका लागि हेटौँडा धाउनु पर्दा निकै समस्या भएको स्थानीय रामकुमार बलले बताए । सामान्य जग्गा रोक्का गर्नसमेत हेटौँडा धाउनुपर्दा एकातिर झन्झट र अर्कातिर बढी खर्च लाग्ने गरेको उनले बताए । ‘जग्गाको कारोबार गर्न हेटौँडा नै धाउनुपर्दा नगरबासी भएर पनि अन्याय भएको महशुस गरेका छौँ; उनले भने ।
वडा नम्बर ४ का वडा अध्यक्ष दीपक सिं लामाले आफू वडा अध्यक्ष निर्वाचित भएर आएपछि वडाका बासिन्दालाई नगरमै मालपोत सेवा दिनेगरी पटकपटक पहल गरे पनि सफल नभएको बताए । ‘धेरैपटक हेटौँडा मालपोत कार्यालय पुगेर प्रमुखसँग पनि कुरा गरेँ तर केन्द्रबाटै श्रेस्ता नछुट्याई हामीले केही गर्न सक्दैैनौँ’ मालपोत अधिकृतको भनाइ उद्धृत गर्दै वडा अध्यक्ष लामाले भने ।

थाहा नगरपालिकाको वडा नम्बर ६, ९ र १० का केही स्थानमा पनि यस्तै समस्या रहेकोमा ती समस्या भने समाधान भइसकेको मालपोत कार्यालय शिखरकोटका कर्मचारी रामकुमार कार्कीले जानकारी दिए । ‘वडा नम्बर ६ र १० केही स्थानका नागरिकहरुको जग्गा धादिङ जिल्लामा नापी भएकोमा अहिले समस्या समाधान भइसेकेको छ, उहाँहरु नगरकै मालपोत कार्यालयबाट सेवा लिइरहनुभएको छ,’ उनले भने । यसअघि सो भेगका बासिन्दालाई मालपोत सेवा लिन धादिङबेसी पुग्नुपर्ने बाध्यता रहेको थियो ।

मकवानपुरमा श्रेस्ता कायम गर्न बाँकी रहेको थाहा नगरपालिकाअन्तर्गत् साविक टिस्टुङ–६ र भण्डारखर्कका केही नागरिकहरु अहिले पनि मालपोत सेवाको लागि धादिङ सदरमुकाम धादिङबेसी धाउन बाध्य भइरहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०