Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

ढिला आएको भन्दै विद्यालयको गेटबाट फर्काइएकी छात्राले गरिन् आत्महत्या

266795721_133682268006445-1640186460.jpg

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ चित्रेकी बिमला बोगटी सोमबार अलि ढिला विद्यालय पुगिन् । उनीजस्तै १२ जना विद्यार्थी विद्यालय पुग्न ढिला भएका थिए ।

चित्रेस्थित बालाज्योति माविमा कक्षा ८ मा अध्ययनरत बिमला विद्यालय पुग्दा साढे १० बजेको थियो । उनीसहित ढिला आउने १२ जना विद्यार्थीलाई गेटमा बसेका कर्मचारीले रोके । ढिला आउनाको कारण सोधियो । सबैले एउटा–एउटा बहाना गरेर फुत्किए । तर, बिमलाले कुनै जवाफ दिन सकिनन् । र, उनलाई गाली गर्दै गेटबाट घर फर्काइयो ।

रुँदै घर फर्किएकी बिमला अब कहिल्यै विद्यालय आउने छैनन् । उनले विष सेवन गरेर आत्महत्या गरेकी छन् ।

आफूलाई मात्रै विद्यालय छिर्न नदिएको भन्दै निकै दु:खी बनेर घर पुगेकी थिइन् बिमला । घरभित्रै उनले विष सेवन गरिन् । परिवारले थाहा पाएर अस्पताल लगे पनि उनको ज्यान बच्न सकेन ।

विद्यालयमा सरले गाली गरेकाले विष खाएको विमलाले आफ्नो बुवालाई बताएकी थिइन् । उनलाई उपचारको लागि सामुदायिक मिसन अस्पताल ओखलढुंगा लगिएको थियो । उपचारको क्रममा बिमलाको मंगलबार मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नवराज केसीले  बताए ।

गाउँपालिका अध्यक्ष केसीका अनुसार समयमै विद्यालय नआउने विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकीले थर्काएका थिए ।

अध्यक्षले ढिला आएको विषयमा अभिभावकलाई बोलाएर कम्प्लेन गर्ने भन्दै विद्यार्थीलाई तर्साएको केसीले बताए । बुढाथोकीले प्रधानध्यापकदेखि शिक्षक–शिक्षिकाहरु कसैलाई पनि राम्रो व्यवहार नगर्ने विद्यालय स्रोतको दावी छ ।

चम्पादेवी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष बलबहादुर तामाङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीले सामुदायिक विद्यालयको पढाइ सुधारको लागि सबैलाई समयमा विद्यालय आउन र पढाइप्रति केन्द्रित हुन भन्दै चेतावनी दिइएको बताए । तामाङका अनुसार अध्यक्ष बुढाथोकी विद्यालय सुधारको लागि २४ सै घण्टा विद्यालयमा नै खटिन्थे ।

अध्यक्ष बुढाथोकीलाई गाउँपालिकाले पनि सोधपुछको लागि बोलाएको थियो । सोधपुछमा उनले बिमलालाई स्कुल किन सँधै ढिला आएको भनेर गाली मात्रै गरेको बताएका छन् ।

१६ वर्षिया विमलाको परिवारमा आमाबुबा, दिदीबहिनी र भाइ छन् । घटनाको अनुसन्धानको लागि प्रहरीले विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगा लगेको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोविन्द्र राज काप्mलेले नेपालप्रेसलाई बताए । उनले भने, ‘अहिले प्रधानाध्यापक र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हामीसँग हुनुहुन्छ । आजबाट अनुसन्धान गर्दैछौ । अनुसन्धानपछि मात्रै घटनाको बारेमा विस्तृत खुल्ला ।’



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०