Thursday, 2nd July, 2026
वि.स.

ढलमा खसेकाे कुकुरलाई बचाउँदा त्यही कुकुरले टाेकेपछि लागेकाे रेबिजबाट तीनको मृत्यु

प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा तीन जनाको मृत्यु भएको छ । एक महीनाको अवधिमा जिल्लाको एकै गाउँका आठ वर्षीय बालकसहित तीनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–६ का आठ वर्षीय सुशन पहरी, ४४ वर्षीय सुब्बा लामा र ८० वर्षीय तेजप्रसाद पन्त रहेका छन् । पहरीको गत वैशाख १० गते र अन्य दुईको गत चैत २९ गते उपचारका क्रममा मृत्यु भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

यसैगरी २०७६ साल माघ १७ गते धुलिखेल नगरपालिका–४ का २२ वर्षीय राधाकृष्ण मगरको रेबिज रोगबाट मृत्यु भएको केन्द्रले जनाएको छ । मगरले ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षणमा रेबिज पोजेटिभ देखिएको थियो । मृत्यु भएका चारै जनालाई कुकुरले टोकेका कारण रेबिज रोग लागेको थियो । रेबिजका कारण २०७७ मङ्सिरमा धुलिखेल–४ कै एक गाईकोसमेत मृत्यु भएको थियो । उक्त गाईलाई पनि सङ्क्रमित कुकुरले नै टोकेको थियो ।

दुई महीनाअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ । केन्द्रले चौंरीदेउराली गाउँपालिकामा तीनको मृत्यु भएपछि, बनेपा नगरमा गत साल पुस तथा धुलिखेल नगरमा यही असार ८ गते सामुदायिक तथा छाडा कुकुरमा रेबिजको नमूना परीक्षण गरेको छ । नमूना परीक्षण गरिएका कुकुरमा रेबिजको भाइरस भेटिएपछि चौँरीदेउरालीमा यसविरुद्धको २०० भ्याक्सिन पठाइएको केन्द्रले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०