nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जनमुखी राजनीतिका धरोहर रुदाने
यदवजंग रायमाझी

BBB-1610236296.jpg
  • यदवजंग रायमाझी

विक्रम सम्बत १९९० सालको पुस २६ गतेका दिन आमा चित्रकुमारीको कोखबाट हालको थाहा नगरपालिका ३ घर्तीखोलामा रुपचन्द्र बिष्टको जन्म भएको थियो । धनी बाबू पदमबहादुर बिष्टको घरमा जन्मिएर पनि रुपचन्द्र बिष्ट सानै उमेर देखि बिद्रोही, न्यायप्रेमी थिए । त्यसैले उनी कलिलै उमेरमा कम्युनिस्ट विद्यार्थी राजनीतिमा जोडिन पुगे । २००७ साल देखि २०१० सम्म सक्रिय विद्यार्थी राजनीतिमा रहेका रुपचन्द्र बिष्ट २०१७ सालको राजनैतिक परिवर्तन पछि २०२२ र २०२९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतबाट प्रधानपञ्चमा निर्वाचित बने ।

बि.ए, बि.एल गरेका रुपचन्द्र बिष्ट २०२८ मा स्नातक कोटामा राष्ट्रिय पञ्चायतको सदस्य समेत रहेका थिए । रुदाने, रुपे, स्वरुपे, जसरु, रापसरु जस्ता उपनामले समेत परिचीत रुपचन्द्र बिष्ट जनमुखी राजनीति, बिद्रोही स्वभाव, बिकासप्रेमी स्वभाव, उत्तरी मकवानपुरमा उनले चलाएको शैक्षिक आन्दोलन, थाहा अभियानका कारण जनप्रिय नारीबादी, जनबादी नेताका रुपमा राजनीतिक बृतमा चर्चित र परिचीत छन । राष्ट्रिय पञ्चायतको सदस्य हुँदा समेत प्रजातान्त्रिक सोच, बिचार कारण पक्राउ परेका रुदाने बारे थुप्रै रोचक र प्रेरणादायी घटना र प्रसंग जोडिएका छन् । २०५६ साल असार ७ गतेको दिन यस धर्तीबाट टाढा भएका रुदानेसँग सम्बन्धित थुप्रै मध्य केही रोचक प्रसंगलाई यहाँ प्रस्तुत गर्न गइरहेको छु ।

प्रसंग – १
( ५० पैसाको हिसाव )

जति बेला रुपचन्द्र बिष्ट प्रधानाध्यापक थिए, जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरुले चन्दा संकलन गरी सरस्वती पूजा मनाउने तयारी गरे । विद्याकी देवी सरस्वतीको पूजा गर्न विद्यार्थीहरु पनि उत्साहित थिए । त्यसका निम्ति बिधालयका एउटा चलाख र फुर्तिलो विद्यार्थीलाई चन्दा संकलन गर्ने र सबै पूजाआजा अनि खानपानको समेत व्यवस्था गर्ने जिम्मेवारी दिइयो ।

सबै मिलेर सरस्वती पूजा सम्पन्न गरे। कार्यक्रम एकदमै राम्रो भयो । पछि हिसावकिताव गरियो। सहयोग तथा चन्दा आम्दानी र खर्चको विवरणहरु पेस भए। तर, कार्यक्रमको जिम्मेवारी लिएको चनाखो केटोले ५० पैसाको हिसाव हरायो । उसले यो थोरै पैसाको हिसाव खोजिरहनु हुँदैन, कतै हरायो होला भनेर सामान्य रुपमा लिए । यो कुरा थाहा पाएका रुपचन्द्र विष्टले उनलाई “अरुसँग उठाएको रकम एक पैसा पनि हिनामिना गर्न वा हराउनुहुँदैन । पारदर्शी ढंगले सार्वजनिक गर्नु पर्दछ भने”  रुपचन्द्रले अझै अगाडि थप्दै भने “आज विद्यार्थी हुँदा ५० पैसा हिनामिना गर्नेले भोलि ठुलो ठाउँमा जिम्मेवारी पायो ठूलै हिनामिना गर्ने सम्भावना हुन्छ, त्यसैले यस्तो बानीको बिकास नै गर्नु हुँदैन ।”

…….. र त्यो ५०पैसाको हिसाब हराउने बिद्यार्थी अरु कोहि नभएर अहिलेका प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी थिए ।

प्रसंग – २

(शब्द फिर्ता)

यो २०३८ सालमा राष्ट्रिय पञ्चायतको बैठक चल्दै गर्दाको कुरा हो । जब रुपचन्द्र बिष्टको बोल्ने पालो आयो उनले भने- “मुखमा राजा, देश र व्यवस्था लेखिएका तर जनताको अधिकार तथा विकासलाई भुक्ने-टोक्ने कुकुरहरु हाम्रा मुख्य राजनीतिक समस्या हुन् ।” उनले यत्ति बोलेर सकेका मात्र के थिए बैठकमा हल्लाखल्ला सुरु भयो । राष्ट्रिय पञ्चायतका सदस्य हिरालाल विश्वकर्मा मञ्चमै गएर उफ्रदै कराए  “अध्यक्ष्यज्यू, रापस सदस्यहरुलाई कुकुर भन्न पाइन्छ ?” रुपचन्द्र बिष्टले रापस सदस्यहरुलाई कुकुर भनेकोमा उनको खास आपत्ति थियो । विश्वकर्माले रुपचन्द्र बिष्टले आफ्नो बोली फिर्ता नलिएसम्म बैठक अघि बढाउन नहुने ….. नदिने अडान लिए । यता रुपचन्द्रले पनि जिकिर गरे- “म आँफै रापस हुँ। आफैंले आफैंलाई किन कुकुर भन्थें !!” तर विश्वकर्मा मान्दै मानेन । उनी लगातार कराई रहे अन्ततः सभापति कमल शाहले रुपचन्द्र बिष्टलाई आफ्ना शब्दहरु फिर्ता लिन आदेश दिए । पञ्चायत सदस्य भएको नाताले रुपचन्द्र पनि सभापतिको आदेश मान्न बाध्य भए । र उनले भने – ” हे मैले बोलेका शब्दहरु हो! तिमीहरुको काम सकियो । ल फिर्ता आओ !” …… हुन पनि रुपचन्द्र बिष्टले जे भन्नुपर्ने त्यो भनिसकिएको थिए, अनि जसले सुन्नुपर्ने हो उसले पनी त्यो सुनिसकेको थियो । रुपचन्द्र बिष्टले भन्नुपर्ने कुरा भनेर यसरी आफ्ना शब्द फिर्ता लिए जुन तरिका देखेर राष्ट्रिय पंञ्चायतको बैठक हाँसोले गुञ्जायमान भयो ।

प्रसंग – ३
(कुरा बुझाउने काईदा)

यो कुरो पनि पञ्चायतकालको नै हो । त्यो बेला सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । एकपटक रुपचन्द्र बिष्ट र सूर्यबहादुर थापाको भेट भएछ । रुपचन्द्र बिष्टले ‘देश कसरी सपार्ने’ भन्नेबारे केही कुरा राखेछन् । कहाँ सूर्यबहादुर थापा एउटा सक्रिय राजतन्त्रको शक्तिशाली प्रधानमन्त्री । कहाँ रुपचन्द्र बिष्ट छाप्रे ब्यूँताउन हिंडेको झुत्रेझाम्रे अनि भएको ब्यवस्था कै बिरोधि । त्यसैले स्वभाविक हो, रुपचन्द्र बिष्टको देश कसरी सपार्ने भन्ने कुरा सूर्यबहादुरलाई रुचिकर भएन । त्यसैले सुर्य बहादुर थापाले भनेछन्, “तपार्इँको कुरा केही पनि बुझिन बिष्टज्यू!” यो बिच रुपचन्द्रले आफ्ना कुरा दोहोर्‍याएर राख्ने र सूर्यबहादुरले पटक पटक बुझिन भन्ने क्रम केहीबेर दोहोरिएछ ।

यो देखेर रुपचन्द्रलाई झोंक चलेछ उनको पालो- गोजीवाट दश रुपैयाँको नोट झिकेर प्रधानमन्त्री सुर्य बहादुर थापा तर्फ देखाउदै भनेछन “यो रुपैयाँ दश लेखेको त देखियो होला नि ? मान्छेहरु आजकल यै मात्र बुझ्छन् । देश सपार्ने कुरा के बुझ्थे! पैसो बुझ्छन् -कुरो बुझ्दैनन् ।” रुपचन्द्र बिष्टको यो रौद्र रुप देखेर सूर्यबहादुर हेरेको-हेर्‍यै भएछन ।

प्रसंग – ४
(जब जनता हाँस्छ अनि रुप्चन नाच्छ)

२०३९ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । खडेरीका कारण देशको विभिन्न स्थानमा अनिकाल फैलिएको थियो । प्रधानमन्त्री थापा जिम्मेवारीबाट बिमुख भएको भन्दै रुपचन्द्र छेडछाड गरिरहन्थे । त्यस्तैमा एक दिन प्रधानमन्त्रीले विधायक सदस्यहरुका लागि रात्रीभोजको आयोजना गरे । उक्त भोज होटल याक एण्ड यतिमा आयोजना गरिएको थियो । भोजमा उच्चकोटीको विदेशी मदिरा र नाचगानको पनि व्यवस्था गरिएको थियो । रुपचन्द्र बिष्ट पनि विधायक सदस्य भएको नाताले कार्यक्रममा सामेल भए ।

प्रधानमन्त्री सुर्य बहादुर थापाका सहोदर भाई तथा प्रमुख राजनीतिक सल्लाहकार हरेन्द्रबहादुर थापालाई भोजका निम्तालुहरुलाई नचाउदै भोजमा रमाइलो गर्न लागेछन । उनले पशुपतिसमसेर राणा, प्रकासचन्द्र लोहनीलगायतलाई उठाएर गानाबजानामा सामेल गराए । उनीहरु सबै थपडी बजाई-बजाई गीत गाउन र नाच्न थाले । रुपचन्द्र बिष्ट भने एउटा कुनामा बसेर जनता खडेरीका कारण भोकै मर्दै थिए नेताहरु भने यसरी भोजमा नाच्दै रमाई रहेको यो दृश्य बिरक्त मान्दै हेरिरहेका थिए । हरेन्द्रबहादुर रुपचन्द्र भएको ठाँउमा पुगे र उनलाई पनि तान्न थाले …. तर रुपचन्द्र डेग चलेनन्। बरु उनले भने, “जब यो भुइँ-आकास नाच्छ, जब भित्ता नाच्छ, जब साराका सारा नेपाली नाच्छ, अनिमात्र रुपचन्द्र नाच्छ।” आफुहरुलाई अपमानित गरेको भनेर यहि बिषयलाई लिएर भोजमा रुपचन्द्र बिष्ट र जनकपुरबाट मनोनित पञ्चायत सदस्य रुद्र गिरी बिच हात हालाहाल पनि भएको थियो ।

प्रसंग – ५
(अन्तर्वार्ताका लागि धरौटी)

रुपचन्द्र बिष्ट हत्तपत्त पत्रकारहरुलाई अन्तर्वार्ता दिंदैनथे। पत्रिका कसले चलाएको हो, त्यो पत्रिका जनमूखि छ छैन ख्याल राख्दथे। चित्त बुझे कुरा गर्थे, चित्त नबुझे अस्वीकार गर्दथे। २०४८ सालको कुरा हो पत्रकार देवप्रकाश त्रिपाठी साप्ताहिक विमर्शमा काम गर्थे। एक दिन उनी अन्तर्वार्ता लिने उद्देश्यले रुपचन्द्रको कालिमाटीस्थित निवासमा पुगेछन्।
‘किन आईस्-‘ रुपचन्द्रले सोधे। ‘अन्तर्वार्ता लिन।’ त्रिपाठीले भने। तर रुपचन्द्रले साप्ताहिक विमर्शलाई अन्तवार्ता दिन इन्कार गरे। भनेछन्- ‘तँ भाते आइस् भन्दैमा शत्रुदासका पनि दासहरुले चलाएको पत्रिकामा मैले अन्तर्वार्ता दिन मिल्दैन। जुन दिन आफैं सम्पादक हुन्छस्, त्यो दिन आइज।’

त्रिपाठीले जति कोशिस गर्दा पनि रुपचन्द्रलाई अन्तर्वार्ताको लागि मनाउन सकेनन्।
कालान्तरमा तीनै त्रिपाठी जनमञ्च साप्ताहिकको कार्यकारी सम्पादक भए। त्रिपाठीलाई लाग्यो- रुपचन्द्रले अन्तवार्ताको लागि राखेको शर्त अब बाधक रहेन । उनी उत्साहित हुँदै फेरि कालिमाटी पुगे। भने- ‘म जनमञ्चको कार्यकारी सम्पादक भएँ। अब त कुरा गर्न मिल्छ होला नि!’ तर रुपचन्द्रले फेरि त्रिपाठीलाई निरास पारे। भनेछन्, ‘मुलुकको राजश्व छल्ने, मानिसहरुलाई जुवामा भिडाएर आँफू मोज गर्ने विदेशीले चलाएको पत्रिकामा तँ सम्पादक भइस् भन्दैमा मैले अन्तर्वार्ता दिन मिल्दैन।’
जनमञ्च साप्ताहिकमा त्यतिखेर अमेरिकी नागरिक आरडी टटलको संलग्नता थियो जो क्यासिनो नेपालका सञ्चालक थिए। रुपचन्द्रको कुरा सुनेर त्रिपाठीलाई पनि झोंक चलेछ। ´त्यसोभए चोर, डाँका, लुच्चा, फटाहाहरु पनि बास बस्ने गरेको पृथ्वीमा हामी बस्नुभएन नि! सबैले थुक्ने गरेको पृथ्वीमा हामीले टेक्नु पनि भएन।’ त्रिपाठीले बिष्टलाई मनाउने हरसम्भव कोशिस गरेछन्, ‘अखबार सञ्चालनमा जसको पैसा परे पनि तपाईंको नाममा छापिने चिज शुद्ध भए भइहाल्यो नि!’
तर अहँ, रुपचन्द्र टसको मस भएनन्। ‘मलाई तर्कवितर्क गर्नु छैन। भन्ने कुरा भनिसकें। बुझ्ने-नबुझ्ने तेरो कुरा। विदेशी दलालले चलाएको अखबारमा तैंले जतिपटक भने पनि मैले अन्तर्वार्ता दिन मिल्दैन।’
रुपचन्द्र गल्ने भए पो!

पत्रकार त्रिपाठी दोस्रोपटक निरास भई फर्किएछन्।
२०५२ सालमा भने त्रिपाठीले आफ्नै पत्रिका सुरु गरे- घटना र विचार। अब भने उनी फूर्तिसाथ रुपचन्द्रकहाँ जान सक्ने भए। सोही साल जेठको मध्यतिर फेरि उनी रुपचन्द्र कहाँ गएछन्। त्रिपाठी स्वयंले पत्रिका सञ्चालन गरेको थाहा पाएर रुपचन्द्र खुशी भए रे। उनी अन्तर्वार्ताको लागि तयार पनि भए। तर उक्त अन्तर्वार्ताका लागि पत्रकार त्रिपाठीले २ हजार रुपैयाँ धरौटी राख्नुपर्‍यो- तोडमोड गरी अन्तर्वार्ता छापेमा जफत हुने सर्तमा।
उक्त अन्तर्वार्ता २०५२ असार ७ गते प्रकाशित घटना र विचारको पहिलो अंकमा प्रकाशित भयो।
आफ्ना कुरा नबिगारी छापिदिए पछि मात्र रुपचन्द्र बिष्टले अन्तर्वार्ता प्रकाशित भएको केही दिनमै धरौटी रकम फिर्ता गरेछन् ।प्रसंग – ६
(घरभाडा)काठमाण्डौ कालिमाटीमा रुपचन्द्र बिष्टको घर थियो । तर रुपचन्द्र उक्त घरमा बस्दैनथे। घर अगाडि एउटा कटेरो हालेर त्यसैमा बस्ने गरेका थिए। घरको एउटा फ्ल्याट भाडामा दिएका थिए।

 

एकदिन त्यही कटेरोमा गफ गर्दै गर्दा पत्रकार देवप्रकाश त्रिपाठीले सोधे, ‘कति आँउछ भाडा ? रुपचन्द्रले जवाफ दिए – सुरुमा भाडामा दिइएको हो, तर अहिले कुरामा फरक पर्न गयो।’ रुपचन्द्रले कुराको पोयो खोले, ‘कालीमाटीकै एक होटर मजदुरले मसँग फ्ल्याट भाडामा लियो। सुरु-सुरुमा समयमै भाडा बुझायो पनि। तर पछिल्ला महिनाहरुमा भाडा दिने काम निकै अप्ठ्यारो र ढिलोसँग हुन थाल्यो। पछि बुझ्दै जाँदा उसको पारिश्रमिक नै मलाई भाडा बुझाउन ठिक्कजस्तै हुँदोरहेछ। श्रीमती र छोराछोरीलाई खानपिन र पठनपाठनका लागि खर्च जुटाउन निकै मुस्किल पर्ने गरेको देखियो। आफ्नो न्यूनतम खर्च पनि नराखेर भाडा तिर्दोरहेछ। मलाई अलिकति रिस पनि उठ्यो, नसकी-नसकी भाडा तिर्ने भनेर। अनि मैले भन्दिएँ- आइन्दा भाडा नतिर्नू!’
‘कहिलेसम्म भाडा नलिने त? ‘ त्रिपाठीले सोधे।
‘जहिलेसम्म ऊ भाडा तिर्न सक्ने हुँदैन।’ रुपचन्द्र जवाफ दिए ।

प्रसंग – ७
(जन कल्याणको हिसाब रुदानेको छातीमा)

जहिले पनि जहाँ पनि राम्रो र जनहितमा काम गर्नेहरुको बिरोध गर्ने, डाहा र ईष्र्या गर्ने खराब आलोचना गर्नेहरुको एउटा समूह हुन्छ नै रुपचन्द्र बिष्ट प्रधानाध्यापक हुँदा पनि उनका बिरोधिहरुले उनले भ्रष्टाचार गरेको भनेर अञ्चलाधीशसमक्ष उजुरी गरेका रहेछन् । वीरगञ्जमा रहेको अञ्चलाधीश कार्यालयमा स्पष्टिकरणका लागि प्रधानाध्यापक विष्टलाई बोलायो ।

अञ्चलाधीशले बोलाए पछी जानै प-यो । उनी अञ्चलाधीश सामु हाजिर भए । उनलाई त्यहाँ सोधियो – “तिमी माथि हिसाब किताब हिनामिना गरेको आरोप छ । खै हिसाब देखाउ ।” उनले आफ्नो शैली अनुसार उहि लामो ठुलो “थाहा” लेखिएको ओभर कोट लगाएर गएका थिए । रुपचन्द्र बिष्टले त्यस ओभर कोटको टाँक खोलेर आफ्नो छात्तीभरी टाँसेर ल्याएको जन कल्याण माबीको आम्दानीको सुची अञ्चलाधीशलाई देखाई दिए । अञ्चलाधीशले हिसाब दंग पर्दै नियालेर केहि बेर सम्म हेरे र फेरि सोधेछन्–”यो त आम्दानी भयो, खर्च विवरण खोइ त ?” रुपचन्द्रले यो पटक पुरै ज्याकेट खोलेर फनक्क घुमेर ढाडमा टाँसिएको खर्च विवरण देखाइदिए । त्यहाँ लेखिएको खर्च विवरणमा पालुङबाट वीरगञ्जसम्म गएको खर्च जम्माजम्मी १ रुपैयाँमात्रै लेखेको देखेपछि अञ्चलाधीशले सोधेछन्–‘१ रुपैयाँ खर्चमा पालुङबाट वीरगञ्ज कसरी आउन सम्भव छ?’ विष्टले सबिस्तार जवाफ दिएछन्–‘एउटा भाते साथी थियो, उसले ट्रक चलाउँदो रहेछ। त्यसैमा म यहाँ सम्म आए, ट्रक चढेको भाडा परेन। उसैले बाटोमा मासुभात खुवायो, त्यो खर्च पनि जोगियो। यो १ रुपैयाँ त यहीँ बिरगंज आईसके पछी हिसाब लेख्नलाई कापी र कलम किन्दा भएको खर्च हो ।” रुपचन्द्र विष्टको यो अनौठो शैली, पार्दर्शिता र ईमान्दारिता देखेर अञ्चलाधीश हेरेको हेर्‍यै भएछन् ।

प्रसंग – ८
(राजा ठेकेदार हो ?)

तत्कालीन राष्ट्रिय पञ्चायतका जनपक्षीय सदस्य रूपचन्द्र विष्टलाई राजाका दूत वीरेन्द्रकेशरी पोखरेललगायत एक दर्जन व्यक्तिले मन्त्री बन्न प्रस्ताव पठाएकाथिए। प्रस्तावको खिल्ली उडाउँदै उनले भने, ‘रापस (राष्ट्रिय पञ्चायत सदस्य) जनताले पठाएको प्रतिनिधि हो?, मन्त्री राजाले बनाउने र व्यवस्था चलाउने ठेकेदार हो, म जनप्रतिनिधि, राजाको भाट हुन र व्यवस्था टिकाउन मन्त्री हुने कुरै छैन।’

परिणामस्वरूप उनलाई जेल हालियो। राजा वीरेन्द्रले प्रधानमन्त्री मरिचमान सिंहसित बारम्बार भन्थे रे, ‘उनको कुरा विचारणीय छ।’ रुपचन्द्र बिष्ट जेलमा हुँदा पनि प्रधानमन्त्री सिंहले  ‘महाराजको इच्छाअनुसार रूपचन्द्रले रोजेकै मन्त्रालय वा सबै मन्त्रालय हेर्ने विनाविभागीय मन्त्री हुनेछौ भन्ने प्रस्ताव पठाए । जबाफमा रुपचन्द्र बिष्टले भने, ‘जनप्रतिनिधि रूपचन्द्रलाई गरिबमारा, मुलुकमारा, बजेटमारा मन्त्रीको हुलमा सामेल हुने जनादेश छैन। श्रम गर्ने किसान, मजदुर, नारीको कमाइ खाने शोसक, सामन्त, पुँजीपतिको यस्तो अपराधी व्यवस्था बदल्ने, अनिमात्र मन्त्री हुने।’

प्रसंग – ९
(अठ्ठा जोकर)

रुपचन्द्र बिष्टको बोल्ने शैली, उनको बिद्रोही स्वभाव, उनको सोच र उनको ब्यवहारको चर्चा राजनीतिक बृतमा निकै चलेको थियो । यो चर्चा दरबारमा पनि पुगिसकेको थियो । त्यति बेला राजा महेन्द्र थिए र रुपचन्द्र बिष्ट भर्खरका युवा । एउटा युवाको राजनीति यो विघ्न चलेको चर्चाले राजा महेन्द्रलाई आकर्षित ग-यो । त्यसैले एकदिन उनलाई दरबारबाट भेट्न बोलए ।

बोलाइएको दिन रुपचन्द्र बिष्ट दरबार पुगे । मुख्य द्वारमा उनलाई सुरक्षाकर्मीले रोक्दै भने -” अहिले महाराज ब्यस्त हुनुहुन्छ तपाईं १५ मिनेट यहीँ बस्नोस भित्रबाट खबर आए पछि जानू होला । ” सुरक्षाकर्मीलाई जे सिकाइएको थियो त्यति भनेर रुपचन्द्र बिष्टलाई राजालाई भेट्न आएका अरुहरु सँगै  कुर्न लगाए । केही बेर पछि भित्रबाट ढोके आएर -” रुपचन्द्र बिष्ट भनेको को हो ? भित्र आउनोस ।” भन्यो ।रुपचन्द्र बिष्ट जुरुक्क उठेर बाहिर निक्सन लागे । यो देखेर सुरक्षाकर्मीले किन भित्र नगएको भनी प्रश्न गरे । उनलाई रुपचन्द्र बिष्टले जवाफ दिए -“अघि राजा ब्यस्त थिए म फुर्सदिलो, अब राजा फुर्सदिलो भए म ब्यस्त ।” यति भनेर उनी बाहिरिए ।

यो खबर राजा कहाँ पुग्यो र फेरि उनलाई अर्को कुनै दिन दरबार बोलाइयो । उनी फेरि निर्धारित समयमा पुगे । यो पटक उनलाई सरासर भित्र जान दिईयो । कुरा हुँदै जादा राजा महेन्द्रले रुपचन्द्र बिष्टलाई सोधे -” तिमी बास्तबमा के गर्न चाहन्छौ ? रुपचन्द्रले जवाफ दिए -” धेरै त केही हैन …….म यो देशमा अठ्ठा जोकर बनाउन चाहन्छु त्यत्ति हो ।” राजाले कुरा बुझेनन र फेरि सोधे -“मतलब !” रुपचन्द्र ढुक्कैले भनी दिए -” तासको नियम त महाराजलाई थाहै होला । अठ्ठा जोकर बनाउन सत्ता पल्टाउन पर्छ । म यो देशको सत्ता पल्टाउन चाहन्छु ।”

प्रसंग – १०
(बाउ तह लगाउन बच्चाको सहारा)

रुपचन्द्र आफ्नो सभा–सम्मेलनमा सकेसम्म धेरै महिलाहरु सहभागि होउन् भन्ने चाहन्थे। उनीहरुले पनि कुरा बुझुन् भन्ने चाहन्थे। चेतना जागृत होस् भन्ने चाहन्थे। ‘मान्छे के हो? म को हुँ? हाम्रो जीवन किन यस्तो भयो?’ उनीहरुको मनमा प्रश्नका केहि थोपाहरु सिंच्न चाहन्थे। तर सभामा त्यस्तो हुँदैनथ्यो, पुरुषहरुकै बाहुल्यता रहन्थ्यो। नगण्य महिलाहरुले मात्र भाग लिन्थे। लोग्नेहरु ठान्दथे– स्वास्नीले राजनितिका कुरा सिकेर के अर्थ! प्रायश: पुरुषहरु महिलामाथि विभेद छ भन्ने स्विकार्दैनथे। चलिआएका चलन भन्थे; महिलाहरु चुलोचौकोमै सिमित हुनुपर्ने तर्क गर्थे।  एकदिन रुपचन्द्रलाई लाग्यो– अब यी लोग्नेहरुलाई पाठ पढाउनुपर्छ । मकवानपुरको कुनै दुर्गम गाँउमा कार्यक्रम थियो। राजनितीक सभा। रुपचन्द्रलाई थाहा थियो आज पनि फेरि पुरुषहरुमात्रै आँउछन्। त्यसैले रुपचन्द्रले एउटा जुक्ति झिकेछन्।

घर–घर गएर महिलाहरुलाई डाकेछन्, पुरुषहरुलाई डाकेछन् र बालबालिकाहरुलाई पनि एकै ठाँउमा भेला पारेछन्। सबै जम्मा भएपछि उनले बालबालिकाका बाआमालाई सोधेछन्, तिम्रो बच्चाले झुटो बोल्छ कि बोल्दैन?’
‘बोल्दैन।’ सबैले एकैसाथ बोले ।
‘ल, त्यसोभए एकछिन् चुप लागेर बस। म यिनीहरुसंग कुरा गर्छु।’ बच्चासंग के कुरा गर्ने होला! सबैजना उत्सुक भएछन्। यता रुपचन्द्र- बच्चाहरुलाई लहरै उभ्याएर प्रश्न सोध्न थालेछन्।
—‘तिम्रो घरमा सबैभन्दा पहिले को उठ्छ?’
— ‘आमा!’ बच्चोले अनकनाँउदै जवाफ दिएछ।
— ‘सबभन्दा पछि को सुत्छ?’
—‘आमा।’ बच्चाहरु कराए ।
—‘सबभन्दा अन्तिममा कसले खाना खान्छ?’
—-‘आमा।‘ फेरि कराए ।
—‘घरको सारा काम कसले गर्छ?’
—-‘आमाले!’ झन ठुलो स्वरले कराउनु लागे बच्चाहरु ।
—–‘घरमा पैसा कोसित हुन्छ?’
— ‘बासित।’ यो पटक अन्कनाउँदै बोले ।
—‘घर–खेत कसको नाममा छ?’
—‘बाको।’ बच्चोले जवाफ दिंदै गर्दा त्यहाँ उपस्थित बाउहरुको मध्यपुषको कठ्याङ्ग्रीने जाडोमा पनि पसिना छुटिसकेको हुन्थ्यो ।प्रसंग – ११
(सिफारिस)राष्ट्रिय पञ्चायतका सदस्य रुपचन्द्र बिष्टलाई एकदिन उनका भतिजा रण संग्राम बिष्ट जो करातेका खेलाडी हुनले भेट्न गए । रुपचन्द्र बिष्टले उनलाई सोधे “किन आईस?”
“काका जापान गएर कराते प्रशिक्षण लिने सरकारी कोटा आएको छ तपाईंले भनीदिनु भयो भने म जान पाउने थिए ।” रण संग्रामले जवाफ दिए । रण संग्राम राम्रा खेलाडी हुन भन्ने त रुपचन्द्रलाई थाहा थियोे । तर जन्म वा जात, साईनो वा सम्बन्ध, चिनजान वा आफन्त भएको आधारमा कसैलाई समर्थन गर्ने सिफारिस गर्ने नियत, ब्यवहार वा सिद्धान्त रुपचन्द्रको थिएन । त्यसैले उनले खल्तीबाट एउटा कागज निकालेर एउटा सिफारिस लेखे । जसमा लेखिएको थियो –

 

“यो चिट्ठी बोकेर आउनेलाई म सिफारिस गर्दछु तर यो भन्दा योग्य कोही भए त्यसलाई छाडेर यसलाई नदिनु फेरि यसलाई छाडेर यो भन्दा अयोग्यलाई पनि नदिनु, दिनु छैन र ठाउँ छैन भने दिदै नदिनु ।”

               रापस
           रुपचन्द्र बिष्ट

प्रसंग-१२
(रुदानेलाई ३ प्रश्न)

अहिलेको नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठ (प्रकास) र गिरिराजमणी पोख्रेलले २०५४ सालतिर गर्जन नामक साप्ताहिक पत्रिका प्रकाशन गर्ने गर्थे। वामपन्थी विचार र विश्लेषणको लागि उक्त पत्रिका प्रसिद्ध थियो।
अन्तर्वार्ता गर्ने उद्देश्यसहित पत्रकारद्वय श्रेष्ठ र पोख्रेल एकदिन रुपचन्द्रको घर पुगेछन्।

— ‘संगठन किन बनाउनुहुन्न- बलियो जनशक्ति तयार पार्न संगठन आवश्यक छ जस्तो लाग्दैन ?’ पत्रकारद्वयले सोधे।
‘संगठन! संगठन गर्न खोज्यो भने जहिले पनि चोर, डाँका लुच्चा-लाच्चीहरुको फेला परिन्छ। कुनै न कुनै चोरका हातमा साङ्लोको एउटा टुप्पो र तेरो घाँटीमा त्यो साङ्लोको अर्को टुप्पो पर्छ। कोशिस नगर्नु संगठनलाई। संगठन- हुने कुरा हो, हुन दिनू। आवश्यक परेमा जनता आँफै संगठित हुन्छन्।’ राजनीतिक संगठनबारे रुपचन्द्रको विचार यस्तो थियो।

—‘थाहाको परिभाषा मार्क्सको भौतिकवादसँग सम्बन्धित छ कि-‘ श्रेष्ठ र पोख्रेलले सोधे।
‘जति सत्यहरु परिचित छन्, त्यो परिचित सत्य थाहा हो। तर सत्य परिचित छैन भने पनि त्यो सत्य भइरहन्छ, तर हामीलाई थाहा हुँदैन। अब योभित्र के के परे के के परेनन्- आँफै विचार गरे थाहा पाइन्छ। थाहाभित्र जम्मै पर्छन्। मार्क्सवादमात्र होइन मार्क्सवादको विरोधीवाद पनि थाहाभित्रै पर्छ।’

—‘त्यसोभए मार्क्सवादबारे तपार्इँको धारणा के त ?’ श्रेष्ठ र पोख्रेलको जिज्ञासा अझै शान्त भएको थिएन।
‘सबैभन्दा विकसित वाद, सबैभन्दा शान्तिपूर्णवाद र सबैभन्दा व्यापक वाद हो- गान्धीवाद।’ रुपचन्द्रले भने, ‘तर बल प्रयोग गर्ने सरकार र व्यवस्था भएको तथा शान्तिमा सीमित नरहने ठाउँ र स्थितिमा उपयुक्त हुन्छ- मार्क्सवाद।’

प्रसंग-१३
(विद्यार्थीलाई थोत्रा टायर)

जति बेला रुपचन्द्र बिष्ट प्रधानाध्यापक थिए उनी आफ्ना बिद्यार्थीहरुलाई “जहाँ तिमी जान्छौ, त्यही तिमी हौ” भन्ने गर्दथे । यो बाहेक उनले कक्षामा बारम्बार एउटै कुरा भन्थे, ‘पढ्न मन लाग्छ पढ, खेल्न मन लागे बाहिर जाऊ ।’ तर बिधालय भने १० बजे भित्रमा आईसक्नु पर्दथ्यो । जुन बिद्यार्थी ढिलो गरेर बिधालय पुग्दथे उनिहरुले सजाय पाउथे । सजाय थियोे नजिकैको खोलाबाट ढुङ्गा बोक्ने । यसरी बिद्यार्थीले बोकेको ढुङ्गाको ठूलो चाङ नै बनिसकेको थियो जन कल्याणमा त्यो बेला ।

एक पटक रुपचन्द्र बिष्टले काठमाडौंबाट थुप्रै साइकलका थोत्रा टायरहरु ल्याए । त्यो थोत्रो साइकलको टायरहरु लाईनमा राखेर सबै बिद्यार्थीहरुलाई एकएक थान टायर बाँडे । बाँडी सकेपछि उनले भने “भोलि देखि बिधालय आउँदा यो टायर गुडाउदै आउनु सबैले ।” भोलिपल्ट देखि बिद्यार्थीहरु समयमै बिधालय पुग्न थाले । कोहि पनि ढिला हुदैन थिए ।  बिद्यार्थीहरु तँछाडमछाड गर्दै को पहिलो हुने भनेर टायर गुडाउदै दगुर्दै बिधालय आईपुग्न थाले ।

प्रसंग-१४
(मितव्ययी रुदाने)

चुनाबको बेला कोणसभा, आमसभा हुने नै भयो । सबै दलले सभा कहाँ र कहिले हुने को को वक्ता हुने माईकिङ गर्दै हिड्ने चलन थियो। अझै पनि छ । अरु दलका कार्यकर्ताले दुई तीन दिन अघि देखि समूह बनाई यसरी माईकिङ्ग गर्दै हिड्थे । तर रुदानेको आमसभा हुने कोणसभा हुने हल्ला त भएको हुन्थ्यो तर अघिबाटै लगातार माईकिङ गर्ने चलन थिएन । जुन दिन सभा हुने हो त्यही दिन त्यहाँको कुनै अग्लो ढिस्को वा डाँडामा गएर चारैतिर माईक फर्काएर जानकारी मात्र दिइन्थ्यो । जानकारी मात्र भन्नाले अरु दलको माईकिङ हुँदा जनतालाई आउन अनुरोध गरिन्थ्यो । तर रुदानेले फलानो ठाउँमा आज यति समयमा कोणसभा हुदैछ मात्र भन्थे अनि त्यस्तै भन्न लगाउथे । सुन्न आउ कहिले भन्दैन थिए । हाते माईकमा लाग्ने ब्याट्री छिटो सकिन्छ भनेर फेरि त्यही जानकारी पुन माईकबाट फुक्दा ” अघि भनीएको सभा भनिएकै बेलामा सुरु हुदैछ ।” मात्र भन्न लगाउथे । लामो र धेरै बोल्न दिदैन थिए ।

गाउँमा घरका भित्ताहरुमा दल बिशेषको प्रभावको आधारमा ठुला-ठुला र सिङ्गारिएको कहि हलो, कहि सुर्य र कहि रुख बनाईएको हुन्थ्यो । जनमुखी सहकर्मीहरु पनि त्यस्तै हँसिया हथौड़ा र तारा बनाउन खोज्थे । तर रुदानेले देख्ने बित्तिकै “यो भातेले त्यो गेरु छिटो सक्ने भयो । खै ले यता ।” भनेर बुझ्ने सम्मको मात्र हँसिया हथौड़ा र ताराको आकार आफै कोर्थे ।

रुदानेको चुनाव प्रसार सामाग्री निकै कम मात्र हुन्थ्यो । त्यसैले ठूलो गाउँ वा धेरै मानिसले देख्ने ठाउँमा मात्र ती सामाग्री टाँसिन्थ्यो । टाँस्नका लागि मैदा त बोकिएको हुन्थ्यो तर प्रचार सामाग्री टाँस्ने ठाउँमा गोबर भेटियो भने त्यसलाई प्रयोग गर्न अह्राउथे ।

प्रसंग-१५
(सिसाको पर्खाल)
सिंह दरबार बाहिर हिडिरहेका रुपचन्द्र बिष्टलाई चिनेर कुनै बटुवाले प्रश्न गरे “तपाईं रुप्चन हैन?”
“हो” रुपचन्द्रले जवाफ दिए । ” तपाई भित्ता भित्तामा थाहा लेख्दै हिड्नु हुन्छ । थाहा पाउनु पर्छ भन्नुहुन्छ । यसको अर्थ के हो?” बटुवा फेरि सोधे ।

“यो सिंह दरबारको अग्लो पर्खाल सिसाको पारदर्शी हुनुपर्छ भनेको ” रुपचन्द्रले भने ।
सिंह दरबारको सेतो अग्लो पर्खाल तिर हेर्दै जिल्ल परेर बटुवाले फेरि सोध्यो “मतलब!!”
” भाते यो भित्र बन्ने नियम, कानुन र हुने सबै निर्णयहरु सबै जनताले सुन्ने, बुझ्ने थिति हुनुपर्छ । सबै जनतालाई सुसूचित गर्नु पर्छ भनेको ।” रुपचन्द्रले ठूलो स्वरमा कराएर भने ।