Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जनगायक जेबी टुहुरेको निधन

JB-tuhure-1629969628.jpg

जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।

१ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्‍याएका थिए । उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्‍याउँदा उनको मस्तिष्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो ।

मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचाप लगायतका दीर्घरोग भएका कारण शल्यक्रिया हुन सकेन । र, उपचारका क्रममा उनको बिहीबार निधन भएको हो ।

जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार दोस्रो संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

को हुन् जेबी टुहुरे ?

१५ कात्तिक २००१ मा धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गीले सानैदेखि गीत गाउन थालेका थिए । २०२१ सालमा पिता कृष्णबहादुर खड्गीको निधन भएपछि आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए । उनी जेबी टुहुरेकै नामबाट चिनिए । २०२० को दशकदेखि कम्युनिष्ट विचारधारासँग नजिक भएका उनले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए । उनको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई ‘’ निकै चर्तित छ ।

राजनीतिक रुपमा उनको आवद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थिए । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद बनेका उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादीका सल्लाहकार हुन् ।

२०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन समेत स्थापना गरिएको छ । फाउण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छिन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

JB-tuhure-1629969629.jpg
JB-tuhure-1629969630.jpg