nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जनगणना २०७८ : यस्तो छ नेपालको जनसङ्ख्या

nepal-map-1643186084.jpg

तथ्याङ्क विभागले १२ माघमा १२औँ जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ । वि.सं. २०७८ सालमा सम्पन्न गणनाको प्रारम्भिक तथ्याङ्क १२ माघमा सार्वजनिक गरेको हो । सार्वजनिक भएको प्रारम्भिक तथ्यांकअनुसार हालको नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

३० भदौदेखि १८असोज  र २५ कात्तिकदेखि ९ मङ्सिरसम्म गरेर दुई चरणमा सम्पन्न भएको जनगणनाले अघिल्लो जनगणना २०६८ को तुलनामा २७ लाखले बढी हो । यस्तै, यो जनगणनाबाट नेपालको जनसङ्ख्या वृद्धिदरमा समेत गिरावट आएको पाइएको छ । पछिल्लो १० वर्षमा नेपालकोे सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर ०।९३ प्रतिशत रहेको देखिन्छ । वि.सं. १९८८ को जनगणना यता पहिलोपटक एक प्रतिशतभन्दा कम कायम भएको पाइएको विभागले जनाएको छ । अघिल्लो जनगणनामा यो १.३५ प्रतिशत रहेको थियो ।

पुरुषभन्दा महिला बढी
राष्ट्रिय जनगणना २०७८ ले नेपालमा पुरुषकोभन्दा महिलाको सङ्ख्या बढिरहेको देखाएको छ । नेपालको हालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये महिलाको सङ्ख्या ५१ प्रतिशत छ ।

यो भनेको महिलाको कुल जनसङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ छ । यस्तै, कुल जनसङ्ख्याको ४८.९६ प्रतिशत हिस्सा ओगटेका पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

१० वर्ष अघि २०६८ सालको जनगणनामा कुल जनसङ्ख्यामा महिलाको सङ्ख्या ५१.५ र पुरुषको सङ्ख्या ४८.५ प्रतिशत नै थियो । यस हिसाबले यो १० वर्षमा महिलाको सङ्ख्या कुल जनसङ्ख्याको ५१ प्रतिशतभन्दा बढी रहेको छ ।

कति छ घर परिवार?

यो जनगणनाले नेपालमा कुल ६७ लाख ६१ हजार ०५९ वटा परिवार रहेको देखाएको छ । र यो परिवार ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेको देखिएको छ । जनगणनाबाट औसत १० वटा घरमा १२ वटा परिवार बसिरहेको पाइएको विभागले जानकारी दिएको छ ।

१० वर्ष अघि २०६८ सालको तुलनामा अहिले परिवारको सङ्ख्या २४.५७ प्रतिशतले बढेर १३ लाख ३३ हजार ७५७ वटा नयाँ परिवार थपिएको छ । यस्तै, अहिले नेपालको सहरी क्षेत्रको एउटा परिवारमा ४.३२ जना सदस्य र ग्रामीण क्षेत्रको परिवारमा ४.५५ जना सदस्य बसोबास गर्न थालेका छन् । १० वर्ष अघिसम्म सहरी क्षेत्रमा एउटै परिवारमा ४.८८ जना र ग्रामीण क्षेत्रमा ५.०२ थियो ।

प्रदेशगत आधारमा परिवारमा औसत सदस्य गण्डकीमा सबैभन्दा कम र मधेसमा सबैभन्दा बढी ५.६६ जना छन् । यस्तै, जिल्लागत आधारमा हेर्दा दोलखामा सबैभन्दा कम ३.५१ जना र सबैभन्दा ठूलो रौतहटमा ५.९२ जना बसोबास गर्ने गरेका छन् ।

बढ्यो प्रतिवर्ग जनघनत्व

१० वर्षको अवधिमा नेपालको प्रतिवर्ग जनघनत्व १८ जना बढेको छ । यो वर्षको जनगणना अनुसार नेपालमा प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा १९८ जना बसोबास गर्छन् । यो १० वर्ष अघि जम्मा १८० प्रतिवर्ग किलोमिटर रहेको थियो । सबैभन्दा बढी जनघनत्व तराइमा प्रतिवर्ग किलोमिटर ४६१ र सबैभन्दा कम हिमाली जिल्लामा प्रतिवर्ग किलोमिटर ३४ जना छन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)