Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

चन्द्रागिरी सडक : निर्माण कार्य अन्तिम चरणमा, समुदायमा उत्साह थपिँदै 

chandragiri-sadak-1643863571.jpg

ठेक्का लागेको चार वर्षमा बन्न नसकेको चित्लाङ–थानकोट सडक(गणेशमान सिंह मार्ग)को काम सरोकार समितिको सहजीकरणपछि डेढ वर्षमै पूरा हुन लाग्दा समिति थप उत्साहित बनेको छ । ठेक्का प्रक्रियाबाट कार्यान्वयित भए पनि स्थानीय समुदायको सहभागितामा सरोकार समिति गठन गरेर निगरानी गर्दा गुणस्तर र प्रभावकारी काम हुन सक्छ भन्ने उदाहरण नै बनेको छ चित्लाङ–चन्द्रागिरी–थानकोट सडक सरोकार समिति । 

अघिल्लो वर्षको साउनमा गठित सरोकार समितिले निरन्तर र अथक काम गर्दै जाँदा डेढ वर्षको अवधिमा अहिले पहिलो ठेक्काको काम लगभग अन्तिम चरणमा पुगेको सरोकार समितिका सदस्य रामशरण नेपालले थाहाटाइम्सलाई बताए । ‘थानकोटको पानीघाटदेखि चन्द्रागिरी भञ्ज्याङसम्मको चट्टानी पहाड छिचलेर सडक फराकिलो पारिएको छ र सहजै गाडी चल्ने गरी निर्माण गरिएको छ । अहिले राम्चेदेखि खोल्चीको बीचमा नयाँ ट्रयाकमा काम भइरहेको छ’ उनले भने ।

समुदायको तर्फबाट अगुवाइ गरिरहेका संविधान सभा सदस्य सुभाषचन्द्र ठकुरीले अब दुईदेखि तीन साताको बीचमा सडक ‘क्लियर’ हुने बताए । केही ठाउँमा कटिङ गर्ने, रेडियस मिलाउने, ग्रेडिङ गर्ने, ग्राभेल हटाउने जस्ता काम बाँकी रहेको र त्यसपछि पहिलो ठेक्काको काम सकिने उनले जानकारी दिए ।

अब पहिलो चरणको सडक निर्माणको काम सम्पन्न हुने चरणमा पुगेकोले यसबीच व्यापक जनसहभागिता जुटाउने र दोस्रो चरणको ठेक्काको लागि डिभिजन सडक कार्यालयमार्फत् प्रक्रिया अघि बढाउने सरोकार समितिको तयारी छ । यसबीच सरोकार समितिमार्फत् भएका खर्चहरुको व्यवस्थापनका लागि स्थानीय समुदायका व्यक्ति तथा संस्थाहरुबाट आर्थिक सहयोग जुट्ने क्रम पनि चलिरहेको छ । 

पछिल्लो समय चित्लाड.–चन्द्रागिरी– थानकोट सडक निर्माण अभियानमा ओम अध्याय रिट्रीट प्रा.ली.(अध्याय रिसोर्ट )का सञ्चालक  अर्जुन सिंह ठकुरीले रु. १५,०००, थाहा–९ साविक चित्लाड हाल काठमाडौ निवासी  राधाकृष्ण श्रेष्ठले रु. ५०००, थाहा–१० बिसिङ्खेल निवासी गोकुल बस्नेतले रु. २०००, थाहा–९ साविक माझगाउँ निवासी लक्ष्मण बलामीले रु. ५००० र काठमाडौ निवासी धनबहादुर मर्हजनले रु. ५००० सहयोग गरेका छन् । 

त्यसैगरी काठमाडौ निवासी पूर्ण महर्जनले रु. ५०००, काठमाडौ निवासी प्रकाश महर्जनले रु. ५०००, काठमाडौ निवासी श्रीकृष्ण महर्जनले रु. ५०००,  थाहा–२ का वडा अध्यक्ष गुप्तबहादुर कार्कीले रु. १०,००० र थाहा–९ साविक खर्क हाल काठमाडौ  निवासी ८७ वर्षीय श्रीमान्/श्रीमति भरतप्रसाद लामिछाने तथा सत्यवति लामिछानेले रु. १५,००० सहयोग उपलब्ध गराएको सरोकार समितिका रामशरण नेपालले जानकारी दिए ।

यसबीच थाहा–९ साविक कुश्लेचौर निवासी बालकृष्ण कपाली र  थाहा–९ साविक टुपीखेल निवासी मनोजकृष्ण गमालले खाजा व्यवस्थापनमा सहयोग गरेका छन् । थाहा–४ का रामराजा केसी र बासु मगरले पनि खाजा व्यवस्थापनमा सहयोग गर्ने घोषणा गरेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०