Thursday, 2nd July, 2026
वि.स.

घर घरबाट फोहोर किन्दै घोराही उपमहानगरपालिका, प्लाष्टिक प्रतिकिलो १०, कागजजन्य २० रुपैयाँसम्म

ghorahi-1625901598.jpg

घोराही उपमहानगरपालिकाले घर घरबाट फोहोर खरिद गर्न थालेको छ। बोतल र गुटखाका खोलमा पैसा आउन थालेपछि नगरबासी दंग छन्।

गल्ने फोहोरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम चरणमा छ भने नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउन थालिएको छ।   केही महिना पहिले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहोर किन्ने बारेमा जानकारी गराएको उपमहानगरपालिकाले गत शुक्रबारदेखि घरमै पुगेर फोहोर खरिद गर्न थालेको हो।

घोराही-१४ नयाँ बसपार्कको जलजला होटलकी सञ्चालक सीता रोकालाई फोहर ब्यवस्थापन निकै समस्या थियो । हरेक बिहान फोहर जम्मा गरेर उपमहानगरको गाडीमा पठाउनपर्ने झञ्झट हुने गर्थ्यो। पहिलो पटक फोहर बेचेकी रोकाले २० केजीको २५० रुपैयाँ पाइन। फोहरले आम्दानी हुने भएपछि उनी खुसी छन्।

यो वर्षदेखि उपमहानगरभित्रको फोहर खरिद गर्ने नीति लिएपछि बिक्री गर्ने प्रतिस्पर्धा नै चलेको छ । चालु आर्थिक वर्षको बजेटमै राखेर उपमहानगरपलिकाले गत वैशाखदेखि फोहर खरिद गर्न शुरु गरेको थियो। अहिलेसम्म झण्डै  २० हजारको फोहर खरिद गरिएको वातावरण तथा सरसफाइ महाशाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए। उपमहानगरलाई प्लाष्टिकमुक्त बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि सारिएको हो।

प्लाष्टिकको बोतलसहित नरम पोलिथिन १०, कपडा ५, सुर्तीजन्य प्लाष्टिक २, कागजजन्य फोहोर वर्गीकरण अनुसार १० देखि २० रुपैयाँसम्म प्रतिकिलो खरिद दर कायम गरिएको छ।

यसरी खरिद गरिएको गल्ने फोहोरलाई बायो ग्यासमा प्रयोग गरिने र नगल्ने फोहोरलाई उद्योगहरुसँग समन्वय गरेर बिक्री गरिने नगर प्रमुख नरुलाल चौधरीले बताए।  रासस



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०