Monday, 24th August, 2026
वि.स.

घर्तिखोलाको शीतभण्डार अन्तिम चरणमा, मैना र साना किसानको शीतभण्डार सञ्चालनमा

aaaaaaa-1625501587.jpg

प्रदेश सरकारले बजेटमा घोषणा गरेको ‘एक जिल्ला, एक शीतभण्डार’ कार्यक्रमअन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा पनि शीतभण्डार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  प्रदेश सरकारको ७० प्रतिशत र सहकारीको ३० प्रतिशतको लगानीमा निर्माण भइरहेको कोल्ड स्टोर चालु आर्थिक वर्षबाट सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको समन्वयमा थाहा–३ मा १० रोपनी क्षेत्रफलमा निर्माणाधीन शीतभण्डारको सञ्चालन सहकारीले गर्ने नगरप्रमुख लवशेर विष्टले बताए ।

११ करोड ४७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी २०७६ कात्तिक ९ बाट केन्द्रको निर्माण थालिएको थियो । १ हजार ७ सय मेट्रिक टन क्षमताको उक्त शीतभण्डार निर्माणका लागि प्रदेश सरकारले ८ करोड ३ लाख र उत्तरी क्षेत्रका २७ वटा सहकारीले ३ करोड ४४ लाख रुपैयाँ लगानी गरेका छन् । उक्त कोल्डस्टोरबाट तरकारीको पकेट क्षेत्रका रूपमा रहेको थाहा, इन्द्रसरोवर र कैलाश गाउँपालिकाका कृषकहरू लाभान्वित हुनेछन् ।

शीतभण्डार निर्माण भएपछि उत्तरी क्षेत्रका किसानले बढी मूल्य तिरेर अन्यत्र भण्डारण गर्नुपर्ने समस्याको अन्त्य हुने र कृषकको ठूलो रकमसमेत बचत हुने विष्टको भनाइ छ । जिल्लामा तरकारी उत्पादनमा अग्रणी थाहा नगरपालिकामा योसँगै सानाठूला ४ वटा शीतभण्डार हुने भएका छन् । थाहा–६ मा साना किसान कृषि सहकारी संस्थाले ३ वर्षअघिबाट शीतभण्डार सञ्चालन गर्दै आएको छ ।

नेपाल सरकारको २० लाख र सहकारीको करिब ६० लाख रुपैयाँ लागतमा शीतभण्डार सञ्चालनमा ल्याइएको हो । ५५ टन क्षमताको उक्त शीतभण्डारमा मुख्य गरी आलु राख्ने गरिएको छ । थाहा–२ मा निजी क्षेत्रको मैना कृषि सेवा प्रालिले पनि शीतभण्डार सञ्चालन गरेको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०