Saturday, 21st May, 2022
वि.स.
ict-nepal-1625344508.gif

क्षेत्रीय कारागार भीमफेदीका कैदीबन्दीहरु औषधि नपाएर समस्यामा

jail-1642923436.jpg

चिसोको कारण रुघाखोकी लागेर बिरामी परेका क्षेत्रीय कारागार भीमफेदीका कैदीबन्दीहरु औषधिको नपाएर समस्यामा परेका छन् । कैदीबन्दीलाई रुघाखोकी लागेको छ भने केहीलाई सामान्य ज्वरोसमेत छ । जेल प्रशासनले उनीहरुलाई औषधि उपलब्ध गराउन सकेको छैन । ‘रुघाखोकी लागेकालाई डिकोल्ड, साइनेक्स दिनुपर्छ,’ जेलर मदन लामाले भने, ‘त्यो एक ट्याब्लेट पनि छैन, के दिनु ।’

जेल प्रशासनसँग ज्वरो आएको अवस्थामा खानका लागि थोरै मात्रामा सिटामोल छ, त्यो पनि सकिन लागेको उनले बताए । कारागारका दुई बल्कमा एक हजारभन्दा बढी कैदीबन्दी बस्छन् । उक्त कारागारका निम्ति औषधि खर्चका लागि सरकारले चालु आवलाई ४ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकम पुस नलाग्दै सकिसकेको जेलर लामाले बताए । ‘चार लाख रुपैयाँको त सिटामोल नै किन्दा सकिन्छ,’ उनले भने ।

अहिले डिकोल्ड साइनेक्सको अभावले कैदीबन्दीलाई समस्या भएको जेल प्रशासनले जनाएको छ । अब केही दिनभित्रमा सिटामोल पनि सकिने एक कर्मचारीले बताए । ‘सरकारले दरबन्दी भएको स्वास्थ्यकर्मी त पठाएन, औषधिका लागि पुग्दो रकम पनि पठाएन,’ ती कर्मचारीले भने । ‘एक हजार कैदीबन्दीलाई वर्ष दिनको औषधि उपचारका लागि ४ लाख रुपैयाँले के गर्नु,’ जेलका नाईके सुयस ढकालले भने, ‘सरकार कैदीबन्दीहरु अकालमै मरून् भन्नेमा छ सायद ।’ भीमफेदी कारागारमा मानसिक बिरामीको संख्या बढी छ ।

कोरोनाका कारण चार दिनयता कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गराएको छ । अधिकांश कैदीबन्दीले कोरोनाविरुद्धको दोस्रो खोप लगाइसकेका छन् । नयाँ आएकालाई खोप लगाउने तयारी भइरहेको छ । बाहिरबाट जेलमा आएकालाई ७ दिनसम्म छुट्टै कोठामा राखेर र एन्टिजेन परीक्षण गरेर मात्र कारगारभित्र पठाउने गरिएको छ ।

कारागारभित्र संक्रमण नहोस् भनेर स्वास्थ्य सुरक्षाको व्यवस्था गरिएको जेलर लामाले बताए । यसैगरी, जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका ६२ जनामध्ये चार जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितहरुलाई छुट्टै कोठामा राखेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताए । संक्रमित चारै जना लागूऔषध मुद्दाका आरोपित हुन् । इकान्तिपुरबाट ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

corona_ad-1626692113.gif






FB_IMG_1642942313261-1642942439.jpg
bemaushami-1643293386.jpg
condom-1646546287.jpg