Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कक्षा १२ को परीक्षा स्थगित

Neb-1628332904.png

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

२३ साउनमा बसेको बोर्डको बैठकले आगामी ३१  साउनदेखि  ९ भदौसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।

कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित गरेको उनले बताए । उनले भने ‘अहिलेलाई स्थगित गरेका छौं । बाँकी परीक्षा हुन पन्ध्र दिन अघि सूचना जारी गरेर जानकारी दिने निर्णय भएको छ ।’

यसअघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो ।

विद्यार्थी संगठन र अभिभावकहरुले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिड विरुद्धको खोपको व्यवस्थापन गर्न, व्यवस्थापन गर्न नसक्ने भए स्थगित गर्न माग गर्दै आएका थिए ।

केही दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण बढ्दै गए भौतिक रुपमा परीक्षा नगरी आन्तरिक मूल्याङकनबाट गर्न गर्न सकिने बताएका थिए । तर राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको र परीक्षा हुने बताउँदै आएको थियो ।

परीक्षा आउन एक हप्ता बाँकी हुँदा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सीसीएमसीले परीक्षाको नयाँ मिति तय गर्न अनुरोध गरेपछि बोर्डले पनि त्यही अनुसार तत्काललाई स्थगित गरेको छ ।

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०