nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

ओहाे ! १५ वर्षदेखि नुन नखाई शिवको व्रत

IMG_20210726_143613-1627289533.jpg

हामीकहाँ एउटा प्रचलित भनाइ छ– नुनको सोझो गर्नू । अर्थात्, जसको खाएको छ, उसैको हितमा काम गर्नू । मानिसले कुनै काम दबाबमा गर्नुप¥यो भने त्यसको विरोधमा भन्ने गर्छन्– कसैको नुन खाएको छैन ।

हाम्रो समाजमा नुनले धेरै ठूलो महत्व राख्छ । यो भोज–भान्साको अनिवार्य वस्तु हो । हामीकहाँ नुनले केवल तरकारी लगायत खानामा राखेर स्वाद ल्याउने नुनिलो पदार्थलाई मात्रै जनाउँदैन, ऋण–धनसँगै इमान–बेइमानतिर पनि संकेत गर्छ ।

हिन्दीमा प्रचलित भनाइ छ, नमकहराम । यसलाई हिन्दू समाजले बृहत अर्थबोधका रुपमा लिन्छ– जसको अन्न खाएको छ, उसैलाई धोका दिने, कृतघ्न हुने वा कपटीलाई नमकहराम भनेर बुझिन्छ । 

नुन हाम्रो सभ्यतामा निकै अघिदेखि जोडिएको मानिन्छ । नुन बिनाको भोज–भान्सा कल्पनै गर्न सकिँदैन । हिन्दू समाजमा नुन शोक–संस्कारसँग पनि जोडिएको छ । आफन्त वा परिवारजनको निधनमा नुन नखाने वा बार्ने चलन छ । 

तर, ६२ वर्षीया विमला १५ वर्षदेखि नुन नखाइ शिवको व्रत बसिरहेकी छन् । ‘१५ वर्षअगाडि प्रत्यक्ष रूपमा भगवान् शिवको दर्शन पाएँ । आँखैअगाडि आएर शिवले मानवीय जीवनमा दुुःखकष्ट भोग्नुपरे पनि सधैँ रहँदैन टरेर जान्छ भन्नुुभयोे,’ सोमबार बिहान पशुपतिनाथ मन्दिरनजिकै रहेको ‘मदन सन्तराम मूर्ति कला केन्द्र’ भेटिएकी विमलाले भनिन् । उनी त्यहाँ शिवको वाहन साँढे किन्दै थिइन् । 

शंखरापुर नगरपालिका साँखुमा २०१६ माघमा जन्मिएकी हुन्, विमला । उनको विवाह १७ वर्षको उमेरमा भयो, कलंकीका पुुरुषोत्तम थापासँग । उनीहरूका दुुई छोरा र एक छोरी छन् । श्रीमान्को २०५८ सालमा निधन भएपछि विमलालाई छोराछोरीलाई हुुर्काउन मुस्किल प¥यो । त्यही बेला भगवान् शिवले दर्शन दिएको उनको भनाइ छ । 

‘श्रीमान् हुँदा पनि दुःखै थियो, उनको आडभरोसा थिएन,’ केही दुःखी हुँदै विमलाले भनिन्, ‘श्रीमान्ले जाँडरक्सी खान्थे, मलाई कुुटपिट पनि गर्थे ।’ 

विमलाका छोराछोरीको घरबार भइसकेको छ । यतिखेर आफू शिवको भक्त भई एक्लै बसिरहेको उनी बताउँछिन् । ‘घरबाहिर सानो टहरो बनाएर शिवको मूूर्ति स्थापना गरेकी छु । त्यहीँ भजनकीर्तन गर्छु,’ उनले भनिन् । सपना र विपनामा पनि आफूले शिवको चित्र देख्न थालेको र शिवको पूजा गर्न थालेदेखि चित्र देखिन छाडेको उनले बताइन् । 

अहिले उनको दैनिकी बिहान नुहाइधुवाई गरी वा हातमुख धोएर शिवको पूजा गरेपछि सुरु हुन्छ । त्यसपछि शिवको भजन गाउँछिन् । दिउँसोतिर नुन नहाली सागका परिकार उसिनेर खान्छिन् । साँझमा एक गिलास दूध पिउँछिन् । उनले भनिन्, ‘म चामलका परिकार कम खान्छुु, धेरैजसो फलफूल खान्छुु ।’ 

नुन नखाँदा जिउ गल्दैन ? उनी हाँस्दै भन्छिन्, ‘यो सब शिवको कृपा हो । भगवान्ले चाहेमा जे पनि हुन्छ ।’ 

उनी हरेक सोमबार पशुपति आउँछिन् । मन्दिर बन्द छ भने मन्दिर परिसर घुमेर फर्कने गर्छिन् । विमलासँगै आएका २७ वर्षीय संगीत थापा, जो विमलाका जेठाजुु पर्नेका छोरा हुन्, उनी भन्छन्, ‘पहिले आमाले नुन नखाई लामो समय व्रत बसेको थाहा पाउँदा आफन्त र छिमेकीले मजाक गर्थे । तर अहिले आमालाई सम्मान गर्छन् । मलाई पनि नुन नखाई लामो समय बसेको कुरा झूटो लाग्थ्यो । शिवको ध्यानमा बस्दा साँच्चै भोक नलाग्ने रहेछ, नुन पनि नचाहिँदो रहेछ ।’ विमलालाई आमा भनी सम्बोधन गर्ने संगीतले आफू पनि कहिलेकाहीँ शिवको व्रत बस्ने गरेको बताए ।

हिन्दू समाजमा साउन अर्थात् श्रावणलाई भगवान् शिवको महिना मानिन्छ । यस सम्बन्धमा पौराणिक कथा छ– एकपटक सनतकुमारले महादेवलाई श्रावण महिना मनपर्नुको कारण सोध्छन् । महादेवले बताउँछन् कि पार्वतीले आफूलाई पाउनका लागि श्रावण महिनामा निराहार कठोर व्रत बसेकी थिइन् । त्यसैले हिन्दू समाजमा श्रावण महिना र सोमबारका दिन शिवको पूजा आराधना गर्ने गरिन्छ । 

ललितपुरको कुमारी पाटीनजिकै अग्निसाल मन्दिरका पूजारी उमेश्वरराज उपाध्यायका अनुसार, व्रतालुुका आ–आफ्नै अनुभव र धारणा हुन्छन् । धेरैजसो महिला आफ्ना परिवारको स्वास्थ्य अवस्था राम्रो बनाउन व्रत बस्ने गर्छन् । ‘धर्म अनुसार व्रत बस्ने कारण पनि फरक–फरक छन्,’ उनले भने, ‘हिन्दूधर्ममा भने अविवाहितले राम्रो श्रीमान् पाउने र विवाहित महिलाले पारिवारिक जीवन राम्रो होस् भनेर व्रत बस्छन् ।’

पहिले पुरुषले घरबाहिरको काम गर्ने र ऊ काममा सफल वा सक्षम होस् भनी घरमा रहने महिलाले कामना गर्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘घरबाहिरको काम गर्न शारीरिक बल आवश्यक हुन्छ । त्यसैले स्वास्थ्य लाभको कामना गर्दै व्रत बस्ने गरेको पाइन्छ । पाँच हजार वर्ष अगाडिदेखि नै व्रत बस्ने चलन रहेको मानिन्छ ।’  काठमाण्डुप्रेसबाट



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)