Monday, 24th August, 2026
वि.स.

एसईई मूल्यांकन नतीजा विद्यालयले २० असारभित्र बुझाउनुपर्ने, यसरी हुनेछ मूल्यांकन
मूल्यांकनको मुख्य जिम्मा विषय शिक्षकलाई

office-of-the-controller-1623628804.jpg

विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा  २० असारसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन २० असारभित्र जिल्लाको शिक्षा विकास इकाई समन्वय समितिमा पठाउनुपर्ने र इकाइले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको हो ।

भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले यस वर्ष पनि विद्यालयहरुको मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

नयाँ कार्यविधि अनुसार एसईईमा विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई दिएको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए । नयाँ कार्यविधि सोमबार सार्वजनिक गर्ने उनले बताए ।  ‘विषय शिक्षकलाई विद्यार्थीको क्षमता बढी थाहा हुने भएकोले मुख्य अधिकार विषय शिक्षकलाई दिएका हौं,’ उनले भने ।

यसरी हुनेछ मूल्यांकन

एसईईमा विषय शिक्षकले विद्यार्थीलाई निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायत), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मक २५ प्रतिशत अंक दिन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।

प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ । विषय शिक्षकले कार्यविधिले तोके अनुसार गरेको मूल्यांकन गरी विद्यालयको मूल्यांकन समितिमा पेश गर्नुपर्नेछ ।

मूल्यांकन समितिले उक्त मूल्यांकन कार्यविधिले तोके अनुसार भएको/नभएको रुजु गरी प्रमाणित गर्नेछ । यसरी प्राप्त भएको मूल्यांकन नतिजाको हार्डकपी, सफ्टकपी असार २० गतेभित्र शिक्षा विकास इकाई समन्वय समितिलाई बुझाउनेछ । समितिले विद्यालयले बुझाएको मूल्यांकन नतिजा रुजु एवं प्रमाणित गरी असार महिनाभित्र पठाउनुपर्नेछ ।

विद्यालयले गणित, अंग्रेजी, विज्ञान विषयका शिक्षक, प्रधानाध्यापक र एक जना वरिष्ठ शिक्षक समावेश गरी ५ सदस्यीय मूल्यांकन समिति बनाउनुपर्नेछ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif