Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

आयोजना कार्यालय खारेज भएपछि अब चन्द्रागिरी सडक काठमाडौँ डिभिजनले हेर्ने

chandragiri-1643816204.jpg

चित्लाङ–थानकोट सडक(गणेशमान सिंह मार्ग)लाई अब डिभिजन सडक काठमाडौँले हेर्ने भएको छ ।  सरकारले चित्लाङ–थानकोट सडक(गणेशमान सिंह मार्ग) को नियमन र व्यवस्थापन गर्न खडा गरेको चित्लाङ–थानकोट सडक आयोजना कार्यालय खारेज गरेपछि सो सडक सरकारी तवरबाट कसले हेर्छ भन्ने सर्वत्र चासो भइरहेको बेला यस्तो निर्णय बाहिरिएको हो । 

संविधान सभा सदस्य एवम् चन्द्रागिरी–थानकोट सरोकारका अगुवा सुभाषचन्द्र ठकुरीले चित्लाङ–थानकोट सडक(गणेशमान सिंह मार्ग) डिभिजन सडक काठमाडौँ मातहत गएको बताए । सरकारले चित्लाङ–थानकोट सडक आयोजना कार्यालय खारेज गरेपछि अब चित्लाङ–थानकोट सडक नै नबन्ला की भन्ने चिन्ता भइरहेकोमा सो सडक डिभिजन सडक काठमाडौँले हेर्ने भएपछि अब प्राविधिक हिसाबले समस्या नपर्ने ठकुरीको भनाइ रहेको छ । 

सरकारले कलंकीमा रहेको चित्लाङ–थानकोट सडक आयोजना कार्यालय हटाएपछि सो सडक कसले हेर्ने भन्ने विषयमा थुप्रै छलफल भएको थियो । त्यसक्रममा सो सडक डिभिजन सडक काठमाडौँ, कान्ति लोकपथ, नागढुंगा सुरुङ मार्ग, फास्ट ट्रयाक सहित कसले हेर्ने भन्ने विषयमा छलफल भएको थियो । कान्ति लोकपथले हेर्दा टाढा पर्ने निष्कर्ष निकालिएको थियो भने विषय र दातृ निकाय नमिलेको भन्दै सुरुङ आयोजना सो सडक हेर्ने विषयबाट पन्छिएको थियो  । 

गणेशमान सिंह मार्गको ठेक्का डिभिजन सडक काठमाडौँले नै निकालेको र सो सडक काठमाडौँसँगै जोडिएकोले सडक विभागले डिभिजन सडक काठमाडौँलाई हस्तान्तरण गरेको हो । डिभिजनको कार्यालय बानेश्वरमा रहेको छ । 

यसअघि लगाइएको ठेक्काको अन्तिम म्याद आगामी चैत मसान्तमा सकिँदैछ । त्यसपछि संसोधित विस्तृत परियोजना प्रतिवेदन(डीपीआर)सहित नयाँ ठेक्का लगाउने सरकारको तयारी छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०