Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

आज थाहामा निर्देशक समितिको बैठक बस्दै, खुकुलो होला त लकडाउन ?

5f0ff62440d8b_taha-1622605386.png

आज बुधबार एघार बजे थाहा नगरपालिकामा नगरप्रमुख लवशेर विष्टको अध्यक्षतामा कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठक बस्दैछ । नगरप्रमुख विष्टले थाहा नगरमा कोरोना सङ्क्रमणको अवस्था र जनजीवनमा परेको प्रभावबारे समीक्षा र अबको रणनीतिबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिएका छन् । 

थाहानगरमा अब लकडाउनको स्थिति के होला भन्ने सर्वत्र जिज्ञासा उठिरहेको बेला नगरस्तरीय निर्देशक समितिको बैठक बस्न लागेको हो  । नगरमा पछिल्लोपटक जारी निषेधाज्ञाको अवधि सकिनु एकदिन अघि बस्न लागेको बैठकले के निर्णय गर्ला त ? अहिले चासोको बिषय बनेको छ । 

काठमाडौँ उपत्यकामा खाद्य पसल र पूर्वाधार निर्माण खुल्ने तथा सार्वजनिक गाडी नचल्ने गरी निर्णय हुन लागेको समाचार आइरहेको बेला थाहामा पनि उक्त निर्णयको प्रभाव पर्ला कि भन्ने विश्लेषण पनि गरिएको छ । मकवानपुरको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्थितिको विश्लेषण गरी लकडाउन केही खुकुलो बनाउन सकिने बताएका छन् । तर, थाहा नगरमा थाहाकै ठोस स्थितिको ठोस विश्लेषण गरेर मात्र निर्णय लिइने निर्देशक समितिका सदस्यहरुले बताएका छन् । 

निर्देशक समितिका सदस्य सुरेन्द्रमान प्रधानले समितिले अझै पनि कम्तिमा एक साताका लागि अहिलेकै अवस्थामा निषेधाज्ञा थप गर्न सिफारिस गर्न सक्ने सम्भावना रहेको बताए । यसैगरी, परीक्षणको दायरा बढाउँदै नयाँ परीक्षणको मात्रा बढाउने गरी निर्णय हुन सक्ने उनको भनाइ रहेको छ । 

थाहाको कोरोना सङ्क्रमणको स्थिति हेर्दा तत्कालै लकडाउन खुकुलो बनाउन नहुनेमा समितिको जोड रहेको प्रधानले बताए । 

‘नगरमा यसअघि लकडाउन कडा नपारिएको भए स्थिति अहिलेको भन्दा निकै भयावह र नियन्त्रण बाहिर जानसक्ने अवस्था रहन्थ्यो, खासगरी मातातीर्थ औँशी र बज्रवाराही जात्रा लक्षित गरेर लकडाउन कडा बनाउँदा सङ्क्रमण थप फैलिन पाएन,’ थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले भने । 

अहिले समुदायमा कोरोना परीक्षण गर्ने क्रम चलिरहेको, दिनहुँ कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढिरहेको र निको हुनेको तुलनामा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या अत्याधिक रहेकोले थाहामा लकडाउन थप्नुपर्नेमा खत्रीको जोड रहेको छ । 

थाहा नगरमा मङ्गलबार मात्र १९ जनामा कोरोना पोजिटिभ देखिएको छ । ३१ जनामा परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि हुनु समान्य अवस्था होइन । त्यसैगरी निको हुनेभन्दा सङ्क्रमितको सङ्ख्या अधिक छ । अहिलेसम्म थाहा नगरमा ६३ जना कोरोनाका बिरामी निको भएका छन् भने ५०४ जना सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरु पूर्ण रुपमा निको हुन अझै एक–दुई साता लाग्छ । यसबीच परीक्षणको दायरा बढाउँदा कोरोनाको नयाँ सङ्क्रमितहरु थपिनेछन् । यस स्थितिलाई हेर्दा लकडाउन फेरि थपिने गरी निर्णय हुन सक्ने देखिएको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०