Thursday, 2nd July, 2026
वि.स.

अब पुरानो शैलीमा घर बनाए सहुलियत पाइने

Thaha_Kunchhal-Gau-1625728547.jpg

सरकारले मौलिकता झल्किनेगरी पुरानो शैलीमा घर बनाउनेलाई सहुलियत दिन सबै स्थानीय तहलाई आग्रह गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै मौलिकता झल्किनेगरी पुरानो शैलीमा घर बनाउनेलाई विभिन्न शीर्षकमा सहुलियत दिन आग्रह गरेको हो ।

गत चैत ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट स्थानीय तहलाई नक्सा पास गर्नेदेखि अन्य विभिन्न आर्थिक दस्तुर र अन्य सेवामा सहुलियत दिने निर्णय भएको थियो । मन्त्रालयले भूकम्प प्रतिरोधी एवं नेपाली मौलिकता झल्किने खालको भवनको लागि ७ वटा नमुना डिजाइन समेत तयार पारेर स्थानीय तहलाई परिपत्र गरेको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार यस्ता नमुना डिजाइन स्थानीय स्रोत र साधनबाट बनाउन सकिने खालका रहेका छन् । जसमा उपलब्धताको आधारमा ढुंगा र इँटा दुवैको प्रयोग गर्न सकिने उल्लेख गरिएको प्रवक्ता अधिकारीले बताए ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ ले भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकासको लागि नीति कानुन, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन गर्न सक्ने अधिकार तोकेको छ । परिपत्रमा सकेसम्म घरको सबै भाग र नभए पनि अघिल्लो मोहोडा नेपाली वास्तुशैलीसँग मिल्दोजुल्दो बनाउने व्यवस्था गर्न आग्रह गरिएको छ ।

मुख्य ३ विषय समेटिएको परिपत्रको पहिलो बुँदामा नयाँ भवन बनाउने क्रममा नेपाली परम्परागत शैलीलाई प्राथमिकता दिने व्यवस्था गर्न भनिएको छ । भवन निर्माणको लागि नक्सा पास गर्ने बेलैमा कम्तीमा अघिल्लो मोहोडा परम्परागत शैलीसँग मिल्नेगरी मात्रै स्वीकृत गर्न परिपत्रमार्फत् आग्रह गरिएको छ ।

त्यस्तै, स्थानीय नेपाली वास्तुकला झल्कने, प्राचीन सांस्कृतिक कला र संस्कृतिको प्रवर्द्धन हुने गरी नयाँ नक्सा पास गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ । सार्वजनिक भवनको हकमा भने रैथाने वास्तुकला झल्कने स्वरुप दिन मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको जनाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०