Saturday, 16th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव आह्वान

startup-0352024052407-100-1762413706.jpg

सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । स्टार्टअप उद्यम कर्जा लिन चाहने उद्यमीले कार्यविधिको दफा ४ अनुसार योग्यता पूरा गरेको हुनुपर्ने जनाएको छ । 

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ ( पहिलो संसोधन सहित )  बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदन आह्वान गरेको हो ।

उद्यमीहरूले २१ दिनभित्र परियोजना प्रस्ताव पेस गरिसक्नुपर्ने प्रतिष्ठानद्वारा जारी सूचनामा उल्लेख छ । परियोजना प्रस्ताव तोकिएको ढाँचामा तयार अनलाइनमार्फत प्रतिष्ठानमै गएर भौतिक रुपमा बुझाउन सकिनेछ ।

कृषि तथा पशुपन्छी, वन पैदावार, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइ, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रिया सुधार, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधन, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित क्षेत्रमा कर्जा दिइनेछ ।

सरकारले चालु आर्थिक वर्षका लागि स्टार्टअप कर्जा प्रवाह गर्न ७३ करोड बजेट छुट्याएको छ। त्यसमध्ये कर्जा सुरक्षा ( बिमा ) का लागि २५ प्रतिशत निक्षेप तथा कर्जा सुरक्षा कोषमा छुट्याउनु पर्ने भए पनि यसवर्ष १० प्रतिशत छुट्याए पुग्ने समेत उनले बताए ।

पहिला २५ प्रतिशत जान्थ्यो । दुई वर्षमा कर्जा प्रवाह गर्दा केही समस्या नदेखिएको र ब्याज आउन थालिसकेकाले १० प्रतिशत छुट्याइएको छ, उनले भने ।

उक्त बजेटबाट प्रशासनिक खर्चका लागि ३ प्रतिशत कटाएर बाँकी भएको रकम कर्जा प्रवाह गरिने प्रतिष्ठानका कार्यकारी निर्देशक एवं इन्जिनियर उमेश गुप्ताले बताए ।

आर्थिक वर्ष २०८१/८२ मा सरकारले स्टार्टअप कर्जा प्रवाहका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित बजेटबाट ३ प्रतिशतसम्म प्रतिष्ठानको प्रशासनिक खर्च, कर्जा सुरक्षा ( बिमा ) का लागि २५ प्रतिशत निक्षेप तथा कर्जा सुरक्षा कोषमा राखिएको थियो ।

प्रतिष्ठानले २०८१ भदौ ११ मा कर्जा प्रवाहका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो । त्यति बेला अनलाइन र भौतिक रूपमा उपस्थित भई ५ हजार १ सय ५८ उद्यमीले प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये पुस १९ मा १ हजार ३ सय १४ उद्यमी परियोजना प्रस्तुतीकरणका लागि छनोट भएका थिए ।

छनोट भएकामध्ये १ हजार ७३ उद्यमीले पुस अन्तिम सातादेखि चैतको दोस्रो सातासम्म परियोजना प्रस्तुतीकरण गरेका थिए । त्यसपछि ८२ वैशाख २१ मा स्टार्टअप कर्जा पाउन योग्य ६ सय ६१ उद्यमीको नाम प्रतिष्ठानले सार्वजनिक गरेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा ६ सय ६१ उद्यमी छनोट भएकामा ६ सय जनालाई ८८ करोड ६६ लाख २५ हजार रुपैयाँ स्टार्टअप कर्जा प्रवाह गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले स्थलगत निरीक्षणका क्रममा प्रस्तावअनुसार व्यवसाय नभएका, कालोसूचीमा परेका र कागजात पुर्‍याउन नसकेकाले ६१ जना उद्यमीले कर्जा नपाएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले उद्यमीलाई न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा वितरण गरेको बताएको छ । आर्थिक वर्ष २०८०/८१ मा प्रतिष्ठानले १ सय ६५ उद्यमीलाई २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । दुई आर्थिक वर्षमा कर्जा वितरण गरिएकोमा हालसम्म त्यसबाट २ करोड ९० लाख रुपैयाँ फिर्तासमेत आइसकेको प्रतिष्ठानको भनाइ छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०